+
+
Shares

बालुवाटारमा प्रधानमन्त्री कार्की-ओली शान्त वार्ता

एमालेले चुनावका सबै गतिविधि सक्रियतापूर्वक अघि बढाइरहे पनि सरकार आफैं चाहिं चुनावका लागि कति कन्फिडेन्ट छ भन्ने मनस्थिति बुझ्न पनि ओली बिहीबार बालुवाटार पुगेको निकटस्थहरूको बुझाइ छ । उनले प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य मात्र बुझेनन्, प्रधानमन्त्रीको चुनावी दृढताको नाडी पनि छामे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते २२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच बालुवाटारमा करिब तीन घण्टा शान्त वार्ता भएको छ।
  • प्रधानमन्त्री कार्कीले चुनावमा दलहरूको सघन सहयोग आवश्यक रहेको र एमालेको प्रतिबद्धता प्रशंसा गरेकी छन्।
  • ओलीले संसद् पुनर्स्थापनाको माग राख्दै चुनावको पक्षमा रहेको तर आफ्नो सार्वजनिक पोजिसन नबदलेको बताएका छन्।

२४ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिंदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओलीप्रति चर्को धारणा राख्थिन् । त्यसैले उनले ओली लगायतका शीर्ष नेतालाई भेट्न सुरुमा चासो दिइनन् ।

तर, केही साता यता चुनाव र राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री कार्की र ओलीबीच संवाद सहज हुन थालेको छ । त्यसैको पछिल्लो कडी थियो- बिहीबार बालुवाटारमा भएको प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको शान्त, एकान्त वार्ता ।

बिहीबार बिहान करिब ११ बजेतिर एमाले अध्यक्ष ओली दलका कुनै नेताहरू नलिई बालुवाटार पुगेका थिए । साथमा उनका स्वकीय सचिव राजेश बज्राचार्य मात्रै थिए ।

प्रधानमन्त्री कार्कीले पनि नेताहरूसँग भेटवार्ता गर्ने सन्देश प्रवाह गरेकी थिइन् । तर प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदी यो बीचमा विरामी परे । उनको दिल्लीमा उपचार भइरहेको छ । यो खबर थाहा पाएका ओली सुवेदीको स्वास्थ्य अवस्था पनि बुझ्ने र प्रधानमन्त्रीसँग कुराकानी पनि गर्ने मेसो मिलाएर बालुवाटार पुगेका हुन् ।

ओलीले बालुवाटारमा सुवेदीको अवस्थाबारे चासो प्रकट गरे । केहीबेर पारिवारिक छलफल भएपछि उनीहरुबीच एक्लाएक्लै करिब तीन घण्टा कुराकानी भयो । यो कुराकानीमा प्रधानमन्त्री कार्कीले चुनाव हुने दिशामा सबै काम भइरहेको र यसमा दलहरुले अझै सघन सहयोग आवश्यक रहेको पुरानै कुरा आग्रह गरिन् ।

उनले ओलीले पार्टीको तर्फबाट बाहिर संसद् पुनर्स्थापना लगायतका विषयमा जे जस्ता धारणा र अभिव्यक्तिहरू सार्वजनिक गरेपनि चुनावको पक्षमा एमालेले देखाउँदै आएको प्रतिबद्धता राम्रो रहेको भन्दै ओलीको प्रशंसा नै गरेकी थिइन् ।

समानुपातिक चुनावका लागि दल दर्ता गर्ने दिन सकिन भन्दा अगाडि नै एमाले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको थियो । त्यस्तै समानुपातिकको सूची बुझाउने क्रममा पनि कांग्रेस लगायतका दलको भन्दा अगाडि नै व्यवस्थित रुपमा सूची बुझाएकाले चुनाव प्रति सकारात्मक नै भूमिका खेलेको उल्लेख गरेकी थिइन् ।

यसअघिको तीन दलका नेताहरूसँगको भेटमा बरु कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिक सूचीको नाम पेश गर्ने समय अलिक नपुग्ने हो कि भनेर समय बढाउनुपर्ने आशय व्यक्त गरेका थिए । त्यो बेला ओली बालुवाटार बैठकमा एमालेलाई नाम बुझाउन समस्या नहुने भन्दै तोकिएकै मितिमा जान सकिने धारणा राखेका थिए ।

विगतका दुईटा भेटमा भएका कुराकानीको प्रसंग समेत जोडेर प्रधानमन्त्रीले ओलीलाई चुनाव हुने विषयमा थप स्पष्ट भएर जान पुन: ध्यानकर्षण गराएकी थिइन् ।

स्रोतका अनुसार ओलीले आफ्नो पार्टीले राख्दै आएको सार्वजनिक पोजिसन भने बिहीबारको कुराकानीमा पनि बदलेनन् । उनले संसद् पुनर्स्थापनाको बाटोबाट सही ट्रयाकमा पुग्ने धारणा चाहिँ बिहीबारको बैठकमा पनि राखेका थिए । तर ओलीको यो कुरालाई सरकारले उनले चुनाव भएको अवस्थामा राख्ने आफ्नो चुनावी एजेण्डाको रूपमा मात्र बुझेको छ ।

एमालेले यो बीचमा पार्टीको महाधिवेशन गरिसकेको छ । महाधिवेशनबाट अब चुनावका लागि भटाभट उम्मेदवार सिफारिस गरिरहेको छ । यो सबै घटनाक्रममा एमाले अघि बढिरहेका बेला सरकार आफैं चाहिँ चुनावका लागि कति कन्फिडेन्ट छ भन्ने मनस्थिति बुझ्न पनि ओली बालुवाटार पुगेका बुझाई प्रधानमन्त्री निकटस्थहरूको छ ।

एमालेले संसद् पुनर्स्थापनाको माग राखेकाले कथंकदाचित चुनाव नहुने दिशामा गयो भने आफ्नै एजेण्डा हाबी अपेक्षा पनि राखेको छ । तर चुनावको मिति तलमाथि हुने बित्तिकै आफूको औचित्यतामा प्रश्न उठ्ने भएकाले प्रधानमन्त्री कार्की कुनै हालतमा फागुन २१ बाट तलमाथि गर्न नहुनेमा स्पष्ट छन् ।

त्यसैले उनले सरकारमा सहभागी भएर राजनीतिक महात्वाकांक्षा राख्ने मन्त्रीहरूलाई बाहिरनका लागि संकेत गरिसकेकी छन् । कुलमान घिसिङ बाहिरिइसकेका छन् ।

चुनावका लागि सानो समूहले पनि अवरोध नगरोस् भन्ने उद्देश्यले सबै समूहसँग राजनीतिक संवाद पनि जारी छ । त्यही सिलसिलामा केही दिनभित्र सरकारले दुर्गा प्रसाईं समूहसँग थप औपचारिक सहमति गर्ने तयारी गरेको छ ।

यता चुनावका लागि निर्वाचन प्रहरी भर्ना खुलिसकेको छ । त्यस्तै मतपत्र छपाईको अन्तिम तयारी पनि पूरा भएको छ ।

एमालेका एक पदाधिकारीले भने प्रधानमन्त्री र ओलीबीच बिहीबार भएको तीन घण्टा लामो छलफललाई र अर्थपूर्ण व्याख्या गरे । ‘प्रधानमन्त्रीलाई दलहरू नै चाहिने रहेछ भन्ने महसुस भएको छ । त्यसैले संवाद बढाउन चाहनुभएको छ । हाम्रो अध्यक्ष पनि सुशीला कार्कीको विकल्प अब अर्कै आउनुपर्छ भन्ने पोजिसनमा अब हुनुहुन्न’ ती पदाधिकारीले भने,’अझै पनि हाम्रो कुरा चाहिँ संसद् पुनर्स्थापनाकै बाटोबाट जाँदा सहज हुन्छ भन्ने हो ।’

अहिले राजनीतिक बृत्तमा चुनाव सर्न सक्ने, मौसम कारण पनि एकै चरणमा चुनाव हुन नसक्ने, कांग्रेसभित्रको आन्तरिक विवादले प्रभावित पार्ने हो कि भन्ने प्रश्न पनि उठिरहेका छन् । तर सरकार कुनै हालतमा आफ्नो पोजिसनबाट पछि नहट्ने अवस्थामा छ ।

काठमाडौंका मेयर बालेन शाह लगायत अन्य नयाँ दलहरू पनि समानुपातिकको बन्दसूची बुझाउने समय सार्न माग गर्दै एक दिन पनि तलमाथि गर्न प्रधानमन्त्री भइनन् । निर्वाचन आयोगले पनि एक दिन तलमाथि गरेको अवस्थामा अरु धेरै कुरा बिग्रिने भन्दै पोजिसन लिएको थियो ।

प्रधानमन्त्री कार्की र ओलीबीच एक्लै भेट भएपनि यो राजनीतिक विषय केन्द्रित र चुनाव सफल बनाउने दिशामा रहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए । ‘भेटपछि बाहिरिँदै गर्दा अध्यक्षज्यूले एमाले पार्टी चुनावको बाधा विरोध गर्ने पार्टी होइन । सक्रिय रूपमा भाग लिन्छ सहभागी हुन्छ भन्नुभएको छ’ रावलले भने ।

प्रधानमन्त्री कार्कीसँग दलका शीर्ष नेताहरूको संवाद नै नभएपछि गत पुस ८ गते शीतल निवासमा राष्ट्रपतिले पहिलो संवाद गराइदिएका थिए । त्यसबेला चुनावबारे कुरा भएको थियो । राष्ट्रपतिले चुनावमा जान दलहरूलाई आग्रह गर्दा दलहरूले सरकारमाथि सुरक्षाको वातावरणलाई जोडेर प्रश्न राखेका थिए ।

त्यसपछि पुस १२ मा बालुवाटारमा नै कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यो बीचमा सरकारी राजनीतिक संवाद समितिले तीन दलका शीर्ष नेताहरूलाई नै भेटर कुराकानी गर्दै वातावरण सहजीकरण गरेको थियो । यो बीचमा जाँचबुझ आयोगलाई ओलीले आफ्नो बयान दिएर सहज बनाइदिएका थिए । त्यसपछि ओलीमाथि लागेको स्थानहद फुकुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?