२१ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा प्रमुख राजनीतिक तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार मात्रै यो विषयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका थिए । एमाले महासचिव शंकर पोखरेल, कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकबीच आइतबारै कुराकानी भएको थियो ।
सोमबार एमाले अध्यक्ष ओलीसँग कांग्रेस कार्यवाहक सभापति खड्कासहितले भेट्दै छन् । ‘आजको भेटपछि करिब राष्ट्रिय सभामा हुने तालमेलको कुरा टुंगिन्छ होला,’ एमालेका एक पदाधिकारीले भने, ‘कांग्रेस र एमालेबीच त करिब तालमेलको कुरा टुंगिए जस्तै हो । नेकपालाई पनि जोड्ने विषयमा कांग्रेसले जोड दिएकाले त्यसबारे पनि अब टुंगोमा पुग्नुपर्ने छ ।’
सोमबार रातिसम्म सहमति टुंग्याएर भोलि बिहान एमालेको सचिवालयबाट निर्णय गर्ने तयारी छ । बुधबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला अंकगणितका कारण रणनीतिक सहकार्य आवश्यक रहेको बताउँछन् ।
‘राष्ट्रिय सभामा अंकगणितको कारणले मिल्नुपर्ने बाध्यात्मक अवस्था छ । यसकारण राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ’ सोमबार पत्रकारहरूसँगको भेटमा नेता सिटौलाले भने ।
स्रोतका अनुसार १८ जना मध्ये आधा आधा कांग्रेस र एमालेले भाग लगाउने कुरा भएको थियो । तर नेकपा पनि गठबन्धनमा मिसिए ३ देखि ४ जनासम्म नेकपालाई दिनसक्ने कुरा भएको एक नेताले बताए ।
तीन दलबीच गठबन्धनका लागि आइतबार ललितपुरस्थित एक निकटस्थको घरमा ओली र प्रचण्डबीच आधा घण्टा छलफल भएको थियो । ओलीसँगको भेटपछि प्रचण्ड नयाँदिल्ली गए । उनी आज साँझ नेपाल फर्किने कार्यक्रम छ ।
तर, ओलीलाई भेट्न जानु अगाडि प्रचण्डले पार्टीभित्र राय लिएका थिए ।
प्रचण्ड निकट एक नेताका अनुसार ‘ओली वा शेरबहादुर देउवा जोसँग कुरा भए पनि प्रमुख शक्ति मिलेर जाने भए राष्ट्रिय सभाको निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँट गरौं र सबैतिर सर्वसम्मत निर्वाचित हुने वातावरण बनाऔं भन्ने प्रस्ताव राख्ने र र यसआधारमा सहकार्य हुन सके पहल लिने तय भएको छ ।’
उनका अनुसार कांग्रेस र एमाले मिलेर चुनाव लडेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले सबैतिर उम्मेदवार उठाउने छ ।
यदि प्रमुख दल मिलेर चुनाव लड्ने भन्ने भयो भने मधेश प्रदेशमा मधेश केन्द्रित दललाई समेत समेटेर सबैतिर सर्वसम्मत बनाउने प्रयास पनि हुने छ ।

‘एक्ला एक्लै वा कांग्रेस र एमाले मिलेर लड्छन् भने ठिकै छ हामी भाग्ने कुरा छैन सबैतिर उम्मेदवार उठाउँछौं । होइन मिलेर जाऔं भन्ने हो भने सबैतिर सर्वसम्मत गरौं’ नेपाली कम्युनिस्ट पार्टीको प्रस्ताव छ ।
प्रचण्डसँगको भेटपछि एमाले अध्यक्ष ओलीले कांग्रेसका नेताहरूसँग अनौपचारिक संवाद गरेका थिए ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । रिक्त हुने स्थानका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । रिक्त हुन लागेका १९ मध्ये एक जना मनोनीत हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।
कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
कोशी प्रदेशमा एमाले पहिलो दल हो । यहाँ एमालेको ४ हजार २१० मतभार छ । दोस्रोमा रहेको कांग्रेसको ३ हजार ७२२ मतभार छ । नेकपाको १ हजार ६२३ मतभार छ ।
मधेश प्रदेशमा कांग्रेस ३ हजार १०४ मतभारसहित अगाडि छ । दोस्रोमा एमालेको २ हजार ४०८ मतभार छ । तेस्रोमा रहेको जसपाको मतभार १ हजार ९२३ छ । चौथोमा नेकपाको १ हजार ३४६ मतभार छ ।
बागमती प्रदेशको मतभारमा पनि कांग्रेस अगाडि छ । यो प्रदेशमा कांग्रेसको मतभार ४ हजार १३, दोस्रोमा रहेको नेकपाको २ हजार ७३८ र तेस्रोमा रहेको एमालेको मतभार २ हजार ५७१ छ ।
गण्डकी प्रदेशमा कांग्रेसको मतभार २ हजार ७०४ छ । दोस्रोमा एमालेको २ हजार ४५८ र तेस्रोमा नेकपाको १ हजार १३ मतभार छ ।
लुम्बिनीमा कांग्रेसको ३ हजार १७९ मतभार छ । एमालेको २ हजार ८१०, नेकपाको १ हजार ३९६ मतभार छ ।
कर्णालीमा कांग्रेसको १ हजार ८६३ मतभार छ । दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १ हजार ८४४ मतभार छ । तेस्रोमा रहेको एमालेको १ हजार १९५ मतभार छ ।
सुदूरपश्चिममा कांग्रेस अगाडि छ । कांग्रेसको २ हजार ५५८, एमालेको १ हजार ५३३, नेपाली कम्युनिस्ट पार्टीको १ हजार ३६५ मतभार छ ।
यहाँ नाउपाको पनि उपस्थिति छ । यहाँ नाउपाको ५०४ मतभार छ । नाउपाकी रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । श्रेष्ठको तर्फबाट प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी नेपाली कम्युनिस्ट पार्टी जोडिएमा यो पार्टीको मतभार वृद्धि हुनेछ ।
नेताहरूका अनुसार प्रमुख तीन दल मिल्दा कुन दलले कति सिटमा उम्मेदवार रहने भनेर समेत अनौपचारिक छलफल चलेको छ । कांग्रेस र एमालेलाई ७/७ र नेपाली कम्युनिस्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल भएको छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव प्रस्ताव राखेका छन् । ताकि कतै निर्वाचन नहोस् र सर्वसम्मत गराउन सकियोस् ।
प्रतिक्रिया 4