News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले पार्टी नेतृत्वले देशभरका नेता–कार्यकर्ताको आवाज सुन्नुपर्ने बताए।
- श्रेष्ठले नीति अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा बदलिन सक्ने चेतावनी दिए।
- उनले महाधिवेशनबाट आउने निर्णयले २१ फागुनको निर्वाचनमा कांग्रेसको स्थिति निर्धारण गर्ने बताए।
२७ पुुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले देशभरबाट आएका नेता–कार्यकर्ताको आवाज पार्टी नेतृत्वले सुन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले नजरअन्दाज गरे नीति अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा बदलिन सक्ने चेतावनी दिए ।
‘पार्टी फुटाउन होइन, एकताबद्ध बनाएर जान हामीले यो विशेष अधिवेशन आह्वान गरेका छौं । टिके ६ भाइको मात्र कुरा नसुन्नुस्, सभापतिज्यू, हाम्रा पनि कुरा सुन्नुहोला,’ पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै उनले भने, ‘यत्रो जनमानस, ७७ जिल्लाबाट आएका महासमिति, महाधिवेशन प्रतिनिधिलाई नजरअन्दाज गर्नुभयो भने नीति अधिवेशन नेतृत्व परिवर्तनको अधिवेशनमा बदलिन सक्छ, हेक्का राख्नुहोला ।’
उनले देशभरका जनताले कांग्रेसको विशेष महाधिवेशनलाई हेरिरहेको भन्दै यसबाट आउने निर्णयले २१ फागुनको निर्वाचनमा कांग्रेस कुन अवस्थामा हुने भन्ने निर्क्यौल गर्ने बताए ।
‘कांग्रेस जनताको ढुकढुकी हो भनेर सबैले नियालेर हेरिरहेका छन् । आजको निर्णय हेरेर मतदाताले २१ फागुनको निर्वाचनमा मत हाल्नेछन्,’ उनले भने, ‘गोजीबाट निकालेर टिकट दिनुभयो भने कसैले चुनाव जित्नेवाला छैनन् ।’
प्रतिक्रिया 4