News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको २०१४ सालको पहिलो विशेष महाधिवेशनमा आन्तरिक व्यवधान नभए पनि ६८ वर्षपछि सुरु भएको विशेष महाधिवेशनमा आन्तरिक विवाद देखिएको छ।
- सभापति शेरबहादुर देउवाको इच्छाविपरीत ६२ प्रतिशत प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन भएको छ र कार्यसम्पादन समिति र संस्थापन पक्षले विरोध गरेका छन्।
- महामन्त्री गगन थापाले कार्यकर्ता तहको बलले विशेष महाधिवेशन सम्भव भएको र 'विशेष महाधिवेशन मात्रै हुँदैछैन, विशेष बनाएर टुंगाउनु पर्दछ' भनेका छन्।
नेपाली कांग्रेसले २०१४ सालमा गरेको पहिलो विशेष महाधिवेशनमा आन्तरिक व्यवधान बेहोर्नु परेन । सभापति सुवर्णशमशेर स्वयंले विशेष महाधिवेशन आह्वान गरेको हुँदा आन्तरिक किचलो नभई सभापतिमा बीपी कोइराला चयन भए ।
६८ वर्षपछि आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन सहजै आह्वान हुन सकेन । तत्कालीन समयमा संस्थापन पक्षले विशेष महाधिवेशन गर्ने तदरुकता लिएको थियो ।
आन्तरिक बेमेल नभई विशेष महाधिवेशन सफल भएको थियो । यसपटक ठीकविपरीत छ । कार्यकर्ता तहको बलमा विशेष महाधिवेशन सम्भव भएको छ ।
तल्लो पङ्तिका कार्यकर्ताको बलमा विशेष महाधिवेशन सम्भव भएको उल्लेख गर्दै महामन्त्री गगन थापाले उनीहरुको प्रशंसा गरे । ‘विशेष महाधिवेशन मात्रै हुँदैछैन । विशेष बनाएर टुंगाउनु पर्दछ,’ प्रतिनिधिलाई महामन्त्री थापाले भने,‘नीति पनि बदल्ने र नेता पनि बदल्ने माग गर्नुभएको छ । हाउसले जे निर्णय गर्छ, त्यसलाई मान्छु ।’
कांग्रेस दास र लासको पार्टी हुन नदिन जिउँदो राख्न कार्यकताले सम्भव भएको उनले बताए ।

सभापति शेरबहादुर देउवाको इच्छाविपरीत विशेष महाधिवेशन भएको छ । केन्द्रीय समितिमा ८२ प्रतिशतको शक्ति रहेका देउवाले चाहे अनुसार कार्यससम्पादन समितिबाट निर्णय गराए ।
कार्यसम्पादन समिति, बहुमत जिल्ला सभापति, पाँच प्रदेश सभापति विशेष विरुद्दमा उभिँदा पनि असफल बनाउन सकेनन् । विशेष महाधिवेशनको विरुद्ध संस्थापनइतरका नेता डा. शेखर कोइराला सभापति देउवाका सारथी बने । तथापी, आइतबार साँझसम्म ६२ प्रतिशत प्रतिनिधि विशेषको पक्षमा उभिएका छन् ।
२३ र २४ भदौको जेनजी विद्रोहसँगै पार्टी रुपान्तरण नभई चुनावमा जान नहुने मतसहित विशेष महाधिवेशनको विषय उठान भएको थियो ।
पार्टी विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर लिखित माग गरेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । विधानको त्यही व्यवस्थालाई टेकेर ६ असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन सुरु गरिएको थियो । नेताहरु गुरुराज घिमिरे, मधु आचार्य, देवराज घिमिरे लगायतले विशेष महाधिवेशनको हस्ताक्षरका लागि पहलकदमी लिए ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवशेनको हस्ताक्षरमा पछाडि रहेर भूमिका खेले । तर, विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गर्न ‘ग्रिन सिंग्नल’ दिएका संस्थापनइतरका नेता पछि फर्के ।
आफू निकटका प्रतिनिधिलाई हस्ताक्षर गराउन पहल गर्नु भन्दा हस्ताक्षर नगर्न उनको सचिवालय मार्फत दबाब दिन थालियो । यद्यपी, उनी निकटकै प्रनिनिधिले हस्ताक्षर गरे ।
गत महाधिवेशनमा सभापतिमा देउवा र कोइरालालाई मत दिएका कतिपय प्रतिनिधि विशेषको पक्षमा उभिँदा २४८८ (५४ प्रतिशत) हस्ताक्षर संकलन भयो ।
२९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग गर्दै लिखित प्रस्ताव पेश गरियो । केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले विधानमा व्यवस्था भएअनुसार विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर प्राप्त भएको जानकारी गराएका थिए ।
तत्कालीन समयमा खड्काले बैठकमा भनेका थिए,‘दर्ता भएको पत्रमा विधानबमोजिम आवश्यक अध्ययन गरेर प्रक्रिया अगाडि बढाइने छ ।’
२८ असोजबाट सुरु भएको केन्द्रीय समिति चुनावअघि वा पछि महाधिवेशन हुने विषयमा केन्द्रित रह्यो । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई छलफलको एजेण्डा बनाएनन् । अन्ततः पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका मंसिर १५ पारित गरियो ।
कार्यतालिका कार्यान्वयन हुन सकेन । १६ पुसमा वडा अधिवेशन सुरु हुन नसकेसँगै विशेष महाधिवेशनको मुद्दा फेरि चर्कियो । विशेष महाधिवेशनको मागलाई खारेज गरिदियो ।
‘विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको’ कार्यसम्पादन समितिबाट निर्णय गरियो ।
कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन पक्षधरलाई थप रुष्ट बनाउने काम गर्यो । विशेष महाधिवेशनको एजेण्डा एउटा मात्रै शर्तमा निष्क्रिय हुने मागकर्ताको प्रस्ताव थियो । त्यो शर्त थियो–विशेष महाधिवशेनको समयसीमा भित्र नियमित महाधिवेशन हुनुपर्ने ।
तर, महाधिवेशन गर्न तर्फ लागिएन । विशेष महाधिवेशन औचित्यता सकिएको निष्कर्ष सहित चुनावपछि १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका कार्यसम्पादन समितिबाट गरियो ।
संस्थापन पक्षले विशेष महाधिवेशनको मागलाई लत्याएपछि दुई महामन्त्री गगन–विश्वप्रकाशले गर्ने गरी अडान सहित अघि बढे । विधानमा भएको व्यवस्था अनुसार गरिएको मागको कार्यान्वयन गर्ने प्रविवद्दता व्यक्त गरे ।
‘केन्द्रीय कार्यसमितिले नै विशेष महाविधेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौं । तर, केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन,’ विशेष महाधिवेशन आह्वान गर्दै गगन–विश्वप्रकाशले भने,‘ ‘नेपाली कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाऔँ, विशेष महाधिवेशनमा सहभागी हौँ ।’
संस्थापन पक्षले विशेष महाधिवेशनको मागलाई पूर्णत बेवास्ता गर्दा त्यही पक्षका ३० जना केन्द्रीय सदस्य भने विशेषको मागलाई नजर अन्दाज गरेनन् । विशेष महाधिवेशनमा सहभागी भए ।
संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्य सहभागी भएको उल्लेख गर्दै केन्द्रीय सदस्यले पुष्पा भुसालले भनिन्,‘नेताहरुको घरमा गयौं । विधानको व्यवस्था देखायौं । तर, निराशा भएर फर्केर आयौं । ५४ प्रतिशतको सम्मान गर्न उपस्थित भएका हौं ।’ विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान नसक्ने उल्लेख गर्दै भुसालले भनिन्, ‘हामी कांग्रेस विधि विधानअनुसार अघि बढोस् भन्ने चाहन्छौं ।’

विशेष महाधिवेशनको माहोल बढ्दै गएपछि संस्थापन पक्षका नेताहरु क्रमशः खुल्दै गए । पूर्व पदाधिकारीको एक समूह ‘सात भाइ’ बाट गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुले । कांग्रेस विभाजित हुँदा श्रेष्ठले सभापति देउवालाई साथ दिएका थिए । देउवालाई निरन्तर साथ दिँदै आएका केन्द्रीय सदस्य ध्रुव वाग्लेले विधान अनुसार माग गरिएको हुँदा विशेष महाधिवेशन हुनैपर्ने अडान राखे ।
विशेष महाधिवेशन आह्वान भई भृकुटीमण्डपमा नेता कार्यकर्ता ओइरिएपछि नेता डा. शेखर कोइरालाले प्रतिनिधिको पक्षमा रहेको भिडियो सन्देश जारी गरे । ‘मलाई थाहा छ, कांग्रेसको विधानमा के छ र के हुनुपर्छ । यो गरिरहँदा कांग्रेसमा कुनै पनि प्रकारको विभाजनको प्राविधिक वा भावनात्मक सन्देश नजाओस् भन्नेमा म अत्यन्त सतर्क थिएँ,’ कोइरालाले भनेका छन् ।
विशेष महाधिवेशनको पक्षमा कोइराला नखुलेपनि उनी निकटका नेताहरु भने सम्बोधन गर्न पुगेका छन् । कोइराला निकटका नेताहरु चन्द्र भण्डारी, सुनिल शर्मा, केदार कार्की लगायत विशेष महाधिवेशनमा पुगे । कोइराला निकट कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले भने,‘नियमित हुन्न् भने विशेष महाधिवेशन हुन्छ शेखर दाइले भन्नुभएको थियो । शेखर दाइको बोली साकार पार्न यहाँ आएको छु ।’
संस्थापनले विशेष महाधिवेशन हुन नदिन अनेक प्रयत्न गरेको थियो । विशेष महाधिवेशन आव्हान अवैध भएको भन्दै उपस्थित नहुन उर्दी जारी गरिएको थियो ।

कार्यसम्पादन समिति, ४७ जिल्ला सभापति, पाँच प्रदेशका सभापतिले विशेष महाधिवेशन उपस्थित नहुन निर्देशन दिए । अर्कोतर्फ, नेता शेखर कोइराला पक्षका जिल्ला सभापतिले पनि विशेष महाधिवेशनमा सहभागी नहुन विज्ञप्ति निकाले । पार्टीको सिंगो संरचना विशेषको विपक्षमा रहँदा पनि वृहत रुपमा कार्यकर्ता उतारेर विशेष महाधिवेशन आइतबारबाट सुरु भएको छ । संस्थापन पक्षबाट बहुमत पुर्याउन दबाब सिर्जना गर्दा केही हस्ताक्षर फिर्ता भएपनि त्यसको तुलनामा थपिनेको संख्या बढी भएको विशेष पक्षधरको दाबी छ ।
नेता महेश आचार्य विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि रहेको हुँदा पार्टी पनि त्यहीं रहने बताए । ‘जहाँ बहुमत प्रतिनिधि हुन्छन् । पार्टी त्यहीं हुन्छ,’ सभापति देउवालाई आग्रह गर्दै भने,‘पुल एकातिर र खोला अर्कोतिर हुन सक्दैन । पूल बनाएर यही ठाउँमा उभिनुस् ।’
प्रतिक्रिया 4