+
+
Shares

गगन-विश्वको निर्णायक दायित्व

तर, जब शेरबहादुर देउवामा जसरी पनि सत्तामा पुग्ने अभिलाषा पलायो, तब कांग्रेसभित्र विग्रह प्रारम्भ हुन पुग्यो । अझ, आजका मितिमा देउवाको उक्त चाहनाका सारथिको रूपमा डा. शेखर कोइराला देखा परे, तब कांग्रेस एउटै र सग्लै रहनेमा आशंका देखिन थाल्यो ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८२ पुष २७ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको कमजोर बनाउने खेल २००७ सालको जनक्रान्ति पश्चात् सुरु भई आजसम्म जारी छ।
  • विशेष महाधिवेशनमा ५४ प्रतिशत प्रतिनिधिले नेतृत्व परिवर्तन गरी कांग्रेसलाई पहिलो पार्टी बनाउने योजना बनाएका छन्।
  • पार्टीभित्रको विवाद र निर्वाचन आयोगको पक्षधरताले कांग्रेसको आगामी निर्वाचनमा असर पर्ने सम्भावना देखिन्छ।

नेपालको लोकतान्त्रिक आन्दोलनको मियो शक्ति भनेर चिनिएको नेपाली कांग्रेसको नियति पनि बडो बुझिनसक्नुको छ । २००७ सालको जनक्रान्ति सम्पन्न पश्चात्देखि कांग्रेसलाई कमजोर बनाइने खेल प्रारम्भ भएको, आजपर्यन्त उक्त खेल जारी छ । कांग्रेस कमजोर बनाउने खेलमा हिजो तथाकथित ‘दरबार’ उपयोग भएथ्यो, आज कांग्रेसलाई कमजोर बनाउने शक्तिकेन्द्र परिवर्तन भएका छन् । तर, भन्नै पर्ने हुन्छ– ‘कांग्रेसलाई कमजोर बनाउन उपयोग हुने पात्र भने कांग्रेस भित्रै छन् ।’

सत्ता स्वार्थका लागि हरकदम जायज ठान्ने पात्र कांग्रेसभित्रै भएकैले इतिहासमै कांग्रेसले चैनको सास फेर्न पाएन । पञ्चायतकालीन कालखण्डलाई छाडिदिऊँ, २०४८ सालको आमनिर्वाचनमा किशुनजी (कृष्णप्रसाद भट्टराई)को हारपश्चात् गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री चयन भए । तत्पश्चात् सन्त नेता किशुनजीलाई उपनिर्वाचन लडाइयो र हराइयो पनि ! किशुनजीलाई हराउने काममा गिरिजाप्रसाद निकट केही संदिग्ध व्यक्ति पूरै शक्ति खर्चेर लागेकै थिए । कांग्रेस कमजोर बनाउने यात्रा पछिल्लो समय यहींबाट प्रारम्भ भयो ।

प्रधानमन्त्री बन्न पुगेका गिरिजाप्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम त पेश गरे, उक्त कार्यक्रमलाई पार्टीभित्रको बेमेलकै कारण असफल गराइयो । लगत्तै पार्टी फुटाउने तयारीमा कोइराला लागिहाले । अनौठो नै मान्नुपर्दछ, तिनै पराजय भोग्न पुगेका किशुनजीले कांग्रेसलाई आफूले विष पिएर फुटबाट जोगाए । आज त्यही विष पिएर भए पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछौं भन्दैछन्– महामन्त्रीद्वय ‘गगन थापा र विश्वप्रकाश शर्मा ।’

हुन पनि, किशुनजी र गिरिजाप्रसादको त्यो राजनीतिक युद्ध तथा बेमेल पश्चात् शक्तिको केन्द्र भागमा पुगेका शेरबहादुर देउवाले सत्ता सम्हाले यता ‘संकटकाल, संसद् विघटन, निर्वाचनको घोषणासँगै पार्टी विभाजनसम्म’ के मात्रै गरेनन् !

विभाजित पार्टी स्वयम् लिएर राजाको कदमको विरुद्धमा वृद्ध गिरिजाप्रसाद सडकमा जाँदै गर्दा प्रजातान्त्रिक कांग्रेस नामको ‘दोकान’ खोल्न पुगेका देउवाले ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै सरकार बनाउन पुगे भने त्यही सरकारमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै नेकपा एमाले समेत देउवा सरकारमा सामेल हुनपुग्यो ।

अन्ततः पुनः राजाद्वारा सत्ताच्यूत गरिन पुगेका ‘देउवा–एमाले’ लगायत दल सडकमै पुगे । उता, कांग्रेस आन्दोलनको मोर्चाबाट फिर्ता भएकै थिएन । कालान्तरमा दिल्लीमा सम्पन्न बाह्रबुँदे पश्चात् प्रतिनिधिसभा पुनर्स्थापना भयो, सत्ता साझेदारी हुँदै दुई पटक संविधानसभाको निर्वाचन सम्पन्न पश्चात् मुलुकले अर्कै कोर्स लियो ।

यहाँसम्म आइपुग्दा पनि देउवाको भूमिका लोकतन्त्रका लागि सुखद् देखिएन । कर्णलाई युद्धको मैदानमा रथको पांग्रा भासियोस् भनेर श्राप दिइए जस्तै देउवाले जहाँ–जहाँ जति हात हाले, त्यहीं विग्रह बाहेक कांग्रेसका लागि उपलब्धि हासिल हुने काम नै हुन सकेन । राणाकालीन समयमा सर्वस्वहरणमा परेका, पञ्चायतमा परिवारसँग घरमै बस्न नपाएका, माओवादी द्वन्द्वकालमा फरक विचार बोकेकै कारण गाउँबाट उठिबास नै लाग्दा पनि कोही कांग्रेस पार्टी फुटाउन र पार्टीबाट बाहिरिन तयार थिएनन् ।

तर, जब शेरबहादुर देउवामा जसरी पनि सत्तामा पुग्ने अभिलाषा पलायो, तब कांग्रेसभित्र विग्रह प्रारम्भ हुन पुग्यो । अझ, आजका मितिमा देउवाको उक्त चाहनाका सारथिको रूपमा डा. शेखर कोइराला देखा परे, तब कांग्रेस एउटै र सग्लै रहनेमा आशंका देखिन थाल्यो ।

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा मुछिएका, पार्टीको पदाधिकारीमा रहेर अकुत सम्पत्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन धाइरहेका, सुडान प्रकरणमा पूरक अभियोजन तयार हुँदा केस लाग्ने निश्चित रहेका, भ्रष्टाचारकै मुद्दामा विशेष अदालत धाइरहेका र कार्यकर्ता तथा जनताबाट पटक–पटक अनुमोदित हुन नसकेको एउटा ठूलो पंक्ति देउवासँग छ । र, भन्दैछ– पार्टी विधानमा उल्लेख भएको भए तापनि ‘विशेष महाधिवेशन’ अवैध हो ।

विशेष महाधिवेशनलाई अवैध ठह¥याउँदै गर्दा एकातिर सुशासनका पक्षधर ‘गगन–विश्व’लाई पार्टीबाटै हटाउन सकिने र अर्कातिर कांग्रेसभित्रै बसेर भ्रष्टलाई कारबाही गर्नै पर्ने ‘गगन–विश्व’को आवाज पनि मत्थर हुने बुझाइ पार्टी संस्थापन पक्षको देखिन्छ । त्यसका निम्ति ५४ प्रतिशत महाधिवेशनका प्रतिनिधि र गगन–विश्वहरू माथि कारबाहीको मनोवैज्ञानिक त्रास सिर्जना गरेर आजबाट भृकुटीमण्डपमा प्रारम्भ ‘विशेष महाधिवेशन’को औचित्य माथि पार्टी संस्थापन पक्षबाट प्रश्न उठाइएको छ । सँगै, पार्टी कार्यालयमा उदेकलाग्दो तरिकाले ‘काउन्टर भेला’ समेत आयोजना गरिएको छ !

पार्टी फुटाउन बानी परेका देउवा र फुटाउन साथ दिने विमलेन्द्र निधि, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठहरूका लागि कांग्रेसभित्र विकसित घटनाक्रम सामान्य लाग्न सक्दछ । तर, कांग्रेस भएबापत जीवनभर एउटा क्रियाशील सदस्यता बाहेक लाभको पद नपाएका ती महाधिवेशन प्रतिनिधि लगायत र तिनकै बलमा राजनीतिमा टिक्न सफल ‘गगन–विश्व’बाट कांग्रेस फुटाइने वा विशेष महाधिवेशनको हलले कांग्रेस फटाउने कल्पनासम्म पनि गर्न सकिन्न ।

सँगै, एमाले अध्यक्ष केपी ओलीको चाहना र डिजाइनमा ‘गठबन्धन विरोधी’ छवि बनाएका ‘गगन–विश्व’लाई पार्टीबाटै निष्काशन गरेर ओलीकै डिजाइनमा गठबन्धन गरेर आसन्न निर्वाचनमा ‘लाज ढाक्ने’ प्रयत्नमा ‘ओली–देउवा’ छन् भन्ने कुरा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र ती प्रतिनिधिले भरोसा राखेका नेताद्वय ‘गगन–विश्व’ले नबुझ्ने कुरै भएन । ‘देउवा–ओली’ गठबन्धन बेगर जनतामा जानै सकिन्न भन्ने निष्कर्षमा छन् भन्ने विषय त राष्ट्रिय सभा उम्मेदवारको उम्मेदवारी र गठबन्धनबाटै प्रष्टिन्छ । ं

भारत भ्रमणअघि राष्ट्रिय सभामा साझेदारी गर्न तयार पूर्व माओवादी अध्यक्ष प्रचण्डले चाहिं कुरा बुझेरै हुनुपर्दछ, एमालेकै पछाडि लागिरहँदा थप क्षति व्यहोर्नुपर्ने आकलन सहित उनले नेतृत्व गर्ने पार्टी नेकपा भने गठबन्धनबाट व्याक हुन पुग्यो ।

कांग्रेसभित्रको राजनीतिमा आवेगमा नआई विवेक पु¥याउने पालो अब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हो । ५४ प्रतिशतको आँकडा बढेर ६५ प्रतिशत भन्दा माथि पुग्ने निश्चितप्रायः छ । पार्टीका ५० प्रतिशत भन्दा माथि महाधिवेशन प्रतिनिधिले लिने निर्णयले वैधता पाउने पनि कानूनतः निश्चित छ । बहुमत महाधिवेशन प्रतिनिधिले ‘गगन–विश्व–प्रदीप’ लगायत लोकप्रिय नेतालाई पार्टी सभापति, उपसभापति र महामन्त्रीको माला लगाएर सानेपा लैजाने वैधानिक हैसियत राख्दछन् पनि । त्यसरी परिवर्तन हुने नेतृत्वले नयाँ नीति सहित आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने निश्चित पनि छ ।

तर, यहींनिर प्रश्न उठ्छ– निर्वाचन आयोग संवैधानिक निकाय भने पनि कांग्रेसभित्रको यो विवादको छिनोफानोमा ‘गुण्डु’ हावी हुने निश्चित छ । हिजो माधवकुमार नेपालकै र आज विशेष महाधिवेशन पक्षधरको निवेदनमा आयोगले देखाएको पक्षधरताबाट बुझ्न सकिन्छ– निर्वाचन आयोगले पक्षधरता नलिई काम गर्नै सक्दैन ।

अर्कातिर, महामन्त्रीद्वयलाई झुक्याउने मामिलामा संस्थापनका सात भाइ सहित कार्यवाहक सभापति समेत सामेल भएर झुक्याउन ‘आठभाइ’ तयारै थिए । ती आठभाइ बाहेक हिजो संस्थापनइतर भनिएका ‘डा. शेखर’समेत सामेल भएर पार्टीभित्रको परिवर्तनकारी शक्तिलाई कमजोर बनाउने एउटा मोर्चा नै निर्माण भएको छ । तसर्थ, यतिबेला अत्यन्त विवेक पु¥याउँदै निर्णय लिने पालो ‘विशेष महाधिवेशन’ पक्षधरको हो । जो निकै ठूलो उत्साहका साथ भृकुटीमण्डपमा जम्मा भएका छन् ।

विशेष महाधिवेशनका प्रतिनिधिले ‘जोखिम’ मोलेकै हो । ‘साम, दाम, दण्ड, भेद’ महाधिवेशन प्रतिनिधिमाथि प्रयोग गरिएकै हो । तर, संस्थापन पक्षको राप र ताप तथा बीचमै भावी सभापति र प्रधानमन्त्रीको संस्थापन पक्षले देखाएको लोभमा फस्न पुगी कांग्रेस रूपान्तरण सहित पुस्तान्तरणको मुद्दा नै छाडेर संस्थापन बन्न पुगेका डा. शेखर समेतको दबाबका बीच पनि ५४ प्रतिशतबाट बढेर विशेष महाधिवेशन पक्षधरको संख्या ६० भन्दा माथि पुग्नुलाई सामान्य मान्न सकिन्न ।

अब सिंगै नेपाली कांग्रेस नामको ‘घर’ प्राप्तिका निम्ति अर्थात् आसन्न नेपाली कांग्रेसको सिंगो केन्द्रीय नेतृत्व प्राप्त गर्नका निम्ति आजबाट प्रारम्भ ‘विशेष महाधिवेशन’लाई ‘नीति महाधिवेशन’मा रूपान्तरण गरी भोलिको सिंगै कांग्रेस आफ्नो बनाउने महान् अभियानमा भृकुटीमण्डपमा उपस्थित सम्पूर्ण प्रतिनिधि लाग्न जरूरी छ ।

हो, थाहा छ– गगन, विश्व, प्रदीपहरूलाई सभापति, उपसभापति, महामन्त्री बनाएर बाजागाजा सहित सानेपा भित्र्याउने भृकुटीमण्डपमा उपस्थित प्रतिनिधिहरूको चाहना छ । तर, त्यो चाहनाको विषय निर्वाचन आयोग र न्यायालयसम्म कथं पुग्यो भने पार्टीको पन्ध्रौं र आसन्न प्रतिनिधिसभाको निर्वाचनअगाडि त्यो मुद्दाले निराकरण पाउने सम्भावना नै छैन ।

तसर्थ, कांग्रेस रूपान्तरण सहित पुस्तान्तरणको ‘एक दशकको यात्रा’को रोडम्याप तयार सँगै; गगन, विश्वलाई पार्टीबाटै निष्काशन गर्ने पार्टी संस्थापनको चाहनालाई विशेष महाधिवेशनका प्रतिनिधिले निष्प्रभावी बनाउन जरूरी छ । यसको अलावा ‘देउवा–कोइराला’ डिजाइनमा महाधिवेशन हलभित्र जबर्जस्त रूपमा नयाँ नेतृत्व चयन भएको बताएर होहल्लाका बीच नेतृत्वलाई माला लगाइदिएर नियोजित रूपमा नौटंकी गर्ने र पछि सानेपा बैठकबाट ‘गगन–विश्व’लाई पार्टीबाटै हटाइने खतरा पनि उत्तिकै छ । यो नौटंकी बारे विशेष महाधिवेशनका पक्षधर सचेत रहन जरूरी छ ।

घरझगडामा रुमल्लिएको कांग्रेस लिएर गठबन्धन निर्माण गर्दै आफ्नो पार्टीलाई ठूलो बनाउने ओली चाहना, पार्टीबाटै गगन–विश्वलाई निष्काशन गरिछाड्ने शेखर सहितको संस्थापनको चाहना, कांग्रेसमा देखाउन लायक ‘फेस भ्यालू’ भएका गगन–विश्व निष्काशनमा परे भने आफ्नो पार्टी ठूलो बनाउन सकिने नयाँ दलको चाहनाको ‘हतियार’ विशेष महाधिवेशनका प्रतिनिधि बन्न हुन्न ।

यी सम्पूर्ण योजनालाई पानी फोका झैं निस्तेज बनाउनका निम्ति दुई वा तीन दिन भृकुटीमण्डपमा पार्टीले भावी दिनमा लिने नीतिका उपर विहंगम बहस गरी आज हारेको जस्तो देखिए पनि दुई कदम अगाडि बढ्न भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधि एक कदम पछाडि हट्नै पर्दछ । यसै त; कांग्रेस, एमाले, नेकपा आदिको ‘छवि’ खर झैं सुकेको छ । यहीबेला उनीहरूको सुकेको ‘खरबारी’मा सलाई कोरेर लगाउने शक्ति मजबूत भएकै बेला विवेकसम्मत निर्णयका निम्ति भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधि एक कदम पछाडि हट्नु परेको हो ।

यो पनि थाहा छ, यतिबेला संस्थापन पक्ष सहित डा. शेखर समेतले ‘गगन–विश्व’ले चिसै पानीले नुहाए भन्ने भाष्य समेत निर्माण गर्नेछ । वास्तविकता त्यो होइन, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि मात्र नभई आसन्न पन्ध्रौं महाधिवेशनमा प्रतिनिधि भएर आउने प्रतिनिधिकै बलमा ‘गगन–विश्व’लाई सिंगै कांग्रेस प्राप्त हुँदैछ ।

यतिबेला आवेगमा आएर एउटा वैधानिक प्रावधानको हाँगो समाएर संवैधानिक निकायदेखि प्रतिस्पर्धी दलसम्मलाई खेल्ने मौका नदिनु नै सिंगै कांग्रेसका लागि श्रेयस्कर छ । संस्थापन पक्षको विवेक त कति छ भन्ने कुरा आजका मितिसम्मको हर्कतले देखाइसकेको छ । तसर्थ, यतिबेला ती किशुनजीले जस्तो विष पिएर पार्टीलाई जोगाउने नैतिकताको आशा देउवाबाट राख्नु आफैंमा मूर्खता हो ।

सँगै; अर्काे पनि कुरा निश्चित छ, देउवासँगै भृकुटीमण्डप पुगेर विशेष महाधिवेशनका प्रतिनिधिसामु शेरबहादुरजी र म कांग्रेसको आगामी सभापतिमा लड्दैनौं, भोलिको कांग्रेस तपार्इंहरूकै हो, वैचारिक कांग्रेस निर्माण गर्नुस् भनेर डा. शेखरले समेत नैतिक साहस देखाउने छैनन् । तसर्थ, देशकै राजनीतिक अभिभावकको भूमिका खेल्न सक्ने कांग्रेस निर्माणका लागि ‘विष’ पिउने पालो ‘गगन–विश्व’को हो ।

र, परिपक्व निर्णय लिने पालो भृकुटीमण्डपमा उपस्थित विशेष महाधिवेशनका प्रतिनिधिको हो ।संकटको कांग्रेसलाई पार लगाएर जेनजी विद्रोह पश्चात् बाटो बिराएको राजनीतिलाई समेत आसन्न निर्वाचन मार्फत ‘ट्रयाक’मा ल्याउन प्रेरणादायी भूमिका विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधिको हुन सक्दछ ।

जुन भूमिकाले ‘गगन–विश्व’को आत्मबल त बढ्छ नै, कांग्रेसबाट ‘गगन–विश्व’लाई हटाउने संस्थापन पक्षको चाहनामा बार लगाउन सक्दा बलियो बन्ने कांग्रेसका माध्यमबाट लोकतन्त्र समेतलाई लयमा ल्याउन सम्भव छ । यसको अलावा स्वतःस्फूर्त हस्ताक्षर गर्न पुगेका ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिलाई पार्टी भित्रको, बाह्य र अन्य राजनीतिक चित्रसँगै संस्थापन पक्षको ‘डरलाग्दो गेम’ बुझाउँदै संगठित कांग्रेस निर्माणमा एकताबद्ध हुन आह्वान गर्ने दायित्व भने ‘गगन–विश्व’को हो । यसैमा कांग्रेससँगै लोकतन्त्रको समेत भविष्य सुनिश्चित देखिन्छ ।

कांग्रेस महाधिवेशन विवाद
लेखक
सुदर्शन आचार्य

(आचार्य, नेपाली कांग्रेसकाे महासमितिका पूर्व सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?