२७ पुस, काठमाडौं । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनमा बिहानैदेखि चासो थियो– सभापति शेरबहादुर देउवा के गर्लान् ? प्रतिनिधि र नेताहरू धेरैजसो देउवा र संस्थापन पक्षीय नेताहरूको लेखाजोखामै व्यस्त देखिन्थे ।
दिउँसो करिब ११ बजेतिर मञ्चमा बस्ने ठाउँको व्यवस्थापन भयो । नेताहरूलाई बस्नका लागि कुर्सी होइन, कुसन थियो ।
देउवामात्रै होइन, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई समेत कुसनको व्यवस्था गरिएको थियो । तर, न देउवा पुगे, न त खड्का नै झुल्किए ।
भृकुटीमण्डपमा दिनभर संस्थापनको खोजी भइरहँदा देउवा भने महाराजगञ्जस्थित निवासमा आफू निकट नेताहरूसँगै छलफलमा रहे ।
यता कुसन र प्रतिनिधि दिनभर देउवालाई पर्खिरहे । तर उनी आएनन् । मञ्चबाट नै केन्द्रीय सदस्य मधु आचार्यले भनिरहेका थिए, ‘यो विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको सिट पनि खाली छ ।’
नियमित हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत हस्ताक्षरको बलमा महाधिवेशन आह्वान गरेका थिए । त्यही भएरै पनि देउवा लगायतका संस्थापनहरू त्यहाँ नपुग्ने निश्चितै थियो ।

किनभने हिजोमात्रै निम्तो लिएर गएकालाई देउवाको सचिवालयले नै फर्काइदिएको थियो ।
विशेष महाधिवेशन गगन–विश्वले नै गरे । सभापतित्व कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले गरे ।
तर, आफूहरू उद्घाटनमा सक्रिय हुन पर्दा दु:ख लागेको गगनको गुनासो छ ।
‘…तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्यौं । हामीलाई खुसी लागेको होइन,’ उद्घाटन सत्रमा बोल्दै गगनले भनेका छन्, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’
छोटो समयमा महाधिवेशनको आयोजना गरिएकाले बिहान ११ बजेसम्म पनि मञ्च बनाउने काम भइरहेको थियो । कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्वीर मञ्चमा राखिएको थियो ।
झाँकी बाजागाजासहित उद्घाटन
चोक-चोकबाट झाँकी बाजागाजासहित प्रतनिधिहरू भृकुटीमण्डपमा भेला भए । यतिसम्म कि, उद्घाटन सत्र सुरु हुनुअघि स्टेजबाट घन्किएका गीतमा पनि गगन–विश्व गुञ्जिए । सबैभन्दा धेरै गुञ्जिएको गीत थियो– बिग कांग्रेस, बिग नेपाल…वि वि वि वि…विश्व–गगन… । नवयुवालाई मनपर्ने आधुनिक शैलीमा गुञ्जिएको यो गीत नै आयोजकको प्रमुख छनोटमा परेको थियो ।
यो दृश्यलाई लिएर कतिपयले भनिरहेका थिए, ‘गीत पनि जेनजी स्टाइलकै बजाउन थालेछन् ।’
विशेष महाधिवेशनस्थलमा टाँगिएका पोस्टरमा तस्वीर खिचाउनेहरू पनि कम थिएनन् । तर, रोचक कुरा के भने– उक्त पोस्टरमा सबै पार्टी सभापति हुँदा वर्तमान सभापति शेरबहादुर देउवाको पोस्टर कतै देखिएन । नत्र भर्खरै सकिएको एमाले महाधिवेशन सम्झौँ, त्यहाँ पुराना नेताको भन्दा अध्यक्ष केपी ओलीका तस्वीर यत्रतत्र भेटिएका थिए ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच युवादेखि ज्येष्ठ नागरिकहरू जिल्ला-जिल्लाबाट आएका थिए ।
पार्टीहरूको महाधिवेशनमा अन्य दललाई पनि बोलाउने चलन थियो । तर यसपकट अरु पार्टीका कोही पनि नेता देखिएनन् । कांग्रेसमा शुभेच्छुकहरू मात्र देखिए ।
विशेष महाधिवेशन केन्द्रीय कमिटीले आयोजना गर्नुपर्ने हो । नियमति महाधिवेशन नभएपछि विशेष महाधिवेशनको आयोजक स्वयं प्रतनिधिहरू थिए ।
मञ्चमा कुसन र दर्शकदीर्घामा कुर्सी
अधिकांश औपचारिक कार्यक्रम र महाधिवेशनभन्दा फरक दृश्य स्टेजबाटै देखियो । प्रमुख नेता बस्ने स्टेजमा सामान्य कुशन राखिएको थियो, तल महाधिवेशन प्रतिनिधि बस्नलाई कुर्सीको व्यवस्था थियो । प्रमुख नेताहरू कुशनमा बस्दा आमकार्यकर्ता कुर्सीमा थिए ।
कांग्रेसको यो व्यवस्थालाई सबैले ‘युनिक’ भनिरहेका थिए । महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई कुर्सीमा राखेर उद्घाटन गरियो ।

अन्तिमसम्म पर्खिरहे कार्यकर्ता
बोल्ने सदस्यको संख्या धेरै थियो । तर अन्तिमसम्म गगन–विश्वको भाषण सुन्न कार्यकर्ताहरू पर्खिरहे ।
सम्भवत: राजनीतिक कार्यक्रममा अन्तिम समयसम्म कार्यकर्ताले कार्यक्रमस्थल नछोडेको दृश्य आइतबार भृकुटीमण्डपमा देखियो । अझ जब भाषण गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा आए, छेउछाउका चिया पसलबाट सहभागीहरू बाहिर निस्किए । उभिएरै चिया चुस्की लाउँदै गगन–विश्वको भाषण सुनिरहे ।
यतिसम्म कि, बसेका कुर्सीमा टेकेर सहभागी उभिन थाले । जसरी हुन्छ, मान्छेलाई स्टेजमा गगन–विश्व हेर्दै भाषण सुन्नु थियो । केही त रुखका बुट्यानमा चढेरसमेत हेरिरहेको दृश्य देखियो । विश्वप्रकाशले मोबाइलको फ्ल्यास लाइट बाल्न आह्वान गर्दा होस् या गगनले ‘जय नेपाल’ भनेर ‘मास अपिलिङ’ गर्दा, प्रतिनिधिले उनीहरूको कुरा अनुमोदन गरिदिए ।
तर, उनीहरूको यो उल्लास सामान्य थिएन । कार्यकर्ता अन्यौलमा रहेर पनि नेतृत्वलाई अघि बढ्न ढाडस दिइरहेको देखियो । विशेष महाधिवेशनलाई विशेष महत्त्व दिएर कार्यकर्ताहरू धैर्यताका साथ रातिको ७ बजेसम्म चिसोमा बसिरहे ।

विश्वप्रकाशले बोल्ने समयमा माहोल यस्तो बन्यो कि, कुनै कन्सर्टभन्दा कम थिएन । सम्बोधनको क्रममा विश्वप्रकाशले मोबाइलको बत्ति बालेर उज्याले बनाउन कार्याकर्तालाई मञ्चबाट आग्रह गरे । यसबेलाको माहोल पूरै उत्साहित देखिन्थ्यो । गगन–विश्वको पक्षमा भृकुटीमण्डप गुञ्जायस बनेको थियो । ‘गगन–विश्व अघि बढ, हामी साथमा छौँ,’ प्रतिनिधिहरू भनिरहेका थिए ।
प्रतिनिधिको हिसाबकिताब
के युवा, के ज्येठ नागरिक सबै खुलेरै नीति र नेतृत्व परिवर्तनको पक्षमा देखिए । बीपीको समयको जस्तो कांग्रेस प्रतिनिधिहरूले खोजिरहेका थिए ।
बिहानबाटै भृकुटीमण्डपमा देखिएका कार्यकर्तालाई यो विशेष महाधिवेशनको समर्थनमा कति हस्ताक्षर पुग्छ थाहा थिएन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा भएपनि पुन: महाधिवेशनस्थलमा संकलन गरिएको हस्ताक्षरमा कति प्रतिशत पुग्ने हो टुंगो थिएन ।
बहुमत हस्ताक्षर संकलन भएपनि यसले नीति मात्र बदल्छ या नेतृत्व नै परिवर्तन हुन्छ भन्ने अनिश्चित थियो, जुन अनिश्चिता अहिले ५६ प्रतिशतबाट हस्ताक्षर नाघ्दा पनि कायम नै छ ।
यही अन्यौलाताकाबीच गाउँघरका कामधाम छाडेर आएका कार्यकर्ता भनिरहेका थिए, ‘अब गगन–विश्व पछाडि हट्न पाउने छैनन् । हामी यहाँ टाइमपास गर्न आएका हैनौँ, जे भनेर हस्ताक्षर संकलन गरियो, त्यही नगर्ने हो भने यत्रो नाटक के को लागि ?’
यसरी महाधिवशेन प्रतिनिधि र सहभागी आमकार्यकर्ताले गगन–विश्वलाई दबाब दिँदै थिए । कार्यकर्ताको यही मनोभाव बुझेका गगननिकट नेता भनिरहेका थिए, ‘अब गगन दाइले अलमल गर्नुभयो भने महाधिवेशन हलले उहाँहरूलाई नछाड्ने देखियो । अपेक्षा गरेभन्दा साँच्चै राम्रो माहोल बनेको छ ।’

कतिपय अन्य धारका महाधिवेशन प्रतिनिधिहरू पनि हेर्नका लागि भन्दै भृकुटीमण्डपमा देखिएका थिए । विशेषगरी शेखर पक्षका महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर गर्ने वा नगर्ने भन्नेमा अन्यौल थिए । उनीहरू माहोल बुझेर निर्णय लिने मनस्थितीमा देखिन्थे । ‘आज हस्ताक्षर गरौँला, भोलि नेतृत्व छान्नेतिर नजाला । त्यसो भयो भने चेपुवामा परिन्छ । त्यसैले बन्दसत्रमा के हुन्छ भन्ने टुंगो लागेपनि हस्ताक्षर गर्ने योजना छ,’ शेखरनिकट एक महाधिवेशन प्रतिनिधिले भनिन् ।
कतिपय त सिधै गगन थापा र विश्वप्रकाशकै फोन आए मात्र हस्ताक्षर गर्न जाने योजनामा थिए । सुरुवाती रुझान धुमधाम देखेका ‘मध्यधार’मा उभिएका कार्यकर्ता पनि विशेष महाधिवेशन पक्षधरले गर्ने हस्ताक्षरको संख्या गन्दै थिए । खासमा उनीहरू जोखिम मोल्न भन्दा पनि ‘कालान्तरमा नफस्नेगरी’ अवसर पर्खिरहेका थिए ।
महामन्त्रीद्वय गगन–विश्व विशेष महाधिवेशनको नेताका रुपमा देखा पर्दा शेखर कोइराला पक्ष स्पष्ट खुलेका थिएनन् । तर, जब आइतबार दिउँसोतिर शेखरको अभिव्यक्ति समाजिक सञ्जालमा आयो, भृकुटीमण्डपमा प्रतिनिधिका अनुहार झन उज्यालो देखिए । अझ शेखर निकट मानिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री विशेष महाधिवेशनस्थलमा देखिएपछि अधिकांशको प्रतिक्रिया थियो, ‘अब यताको महोल देखेपछि मध्यधारमा देखिएका सबै यतै आउन थाल्छन् । अनि झन माहोल बन्छ ।’
कांग्रेस फुट्ने–नफुट्ने चिन्ता भन्दा पनि यो विशेष महाधिवेशनले निर्णायक पहल लिएर नेतृत्व बदल्छ बदल्दैन भन्ने जिज्ञासा अधिकांशमा थियो । यद्यपि, उनीहरू निराश हुने अवस्थामा थिएनन् । जसरी पनि दबाब दिएर नेतृत्व बदलिछाड्ने मनस्थितीमा छन् ।
त्यसैले त भृकुटीमण्डपबाट कार्यक्रम सकेर निस्कँदै गर्दा गेटमा भेटिएका कार्यकर्ता भन्दै थिए, ‘५६ प्रतिशतले हस्ताक्षर गर्दा पनि नेतृत्व बदल्ने कुरामा साहस लिएनन् भने, कि त गगन–विश्वले राजनीतिबाट सन्यास लिनुपर्छ । या हामीले उनीहरूको साथ छोड्नुपर्छ ।’
तर, नेतृत्वको फैसला सोमबार महाधिवेशनको हलले नै गर्ने छ ।
प्रतिक्रिया 4