२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्र स्थलमा पुगेका छन् ।
बन्द सत्रमा सहभागी हुन शर्मा केहीबेर अघि मात्रै बन्द सत्र स्थल भृकुटीमण्डप पुगेका हुन् ।
बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरू पनि धामधम पुग्न थालेका छन् ।
आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्रको कार्यतालिका तय गरिएको छ ।

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्यविधि बनाउने तालिका रहेको छ । त्यसपछि ९ वटा समूह निर्माण गरेर चार वटा विषयमाथि नीतिबारे छलफल हुनेछ ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ ।
प्रतिक्रिया 4