+
+
Shares

भूपेन्द्र बडुवाल हत्या प्रकरण : १३ जनालाई जन्मकैदको फैसला

जनक विष्ट जनक विष्ट
२०८२ पुष २९ गते १७:१६

२९ पुस, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने फैसला गरेको छ ।

अदालतका सूचना अधिकारी पंकज उपाध्यायले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म (आजीवन) जन्मकैद सजाय हुने ठहर गरेको जानकारी दिए ।

उनकाअनुसार प्रतिवादी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ भने  अदालतले लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई समेत अभियोग दाबी बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको छ ।

प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ हुने अदालतले जनाएको छ ।

यो मुद्दामा सुरूदेखि फरार प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।

क्षतिपूर्ति र राहत कोष

कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा र१५ लाख पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश पनि भएको छ ।

उनीहरूबाट कानुन बमोजिम जनही दुई हजार आठ सयका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ ।

बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।

२६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?