+
+
Shares

निफ १९ चैतदेखि, युवा लक्षित ४० देशका ८८ फिल्म देखाइने (लाइनअपसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करण चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुने भएको छ।
  • निफमा ४० देशका ८८ फिल्म प्रदर्शन हुनेछन् र फिल्मकर्मीहरूसँग संवादको अवसर पनि रहनेछ।
  • अन्तर्राष्ट्रिय फिचर विधाको विजेतालाई १५०० डलरको 'गौतम बुद्ध अवार्ड' प्रदान गरिनेछ।

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि २३ (अप्रिल २ देखि ६) सम्म आयोजना हुने भएको छ ।

आयोजक चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ आयोजना मिति घोषणा गरेको हो । नवौं संस्करणमा दर्शकले ५ दिनभित्र ४० देशका ८८ फिल्म हेर्न पाउनेछन् । फिल्मकर्मीसँग संवादको समेत अवसर पाउनेछन् ।

‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले यस संस्करणको महोत्सवको मिति घोषणा गरेको हो । यस संस्करणमा युवा पुस्ताको रुचिलाई केन्द्रमा राखेर फिल्म छनोट गरिएको निफले जनाएको छ ।

‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौं । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास छ,’ निफका अध्यक्ष केपी पाठकले भने, ‘युवा मेकरलाई प्रत्सोहन गर्न हामीले एआई चलचित्र मेकिङको कार्यशाला लगायतका सेसन पनि राखेका छौं । चलचित्रबाट युवा दर्शकलाई आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।’

यस वर्ष ८० भन्दा धेरै देशबाट ८०० बढी फिल्मले महोत्सवमा भाग लिएका छन् । ‘पहिलाका संस्करणको तुलनामा यो पटक बढी चलचित्रको सहभागिता भएको छ । सबैभन्दा बढी फिल्म प्राप्त भएको संस्करण बनेको छ,’ अध्यक्ष पाठक भन्छन्, ‘यो भनेको निफप्रति अन्तर्राष्ट्रिय फिल्म समुदाय र निर्माताको विश्वास हो ।’

लाइनअप हेर्नुहोस् :

विश्व प्रसिद्ध कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सांघाई, लोकार्नो, बुसान, गोवा लगायतका महोत्सवमा सहभागि भएका र अवार्ड जितेका कथानक, छोटा र एआईबाट बनेका फिल्म, डकुमेन्ट्री गरि ४० देशका ८८ फिल्म छनोट छन् ।

भदौ २३ र २४ मा जेनजी आन्दोलनपछि विकसित परिस्थितीको कारण महोत्सव स्थगित भएको थियो । यसपटक भने, २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन सकिएपछि महोत्सवको मिति घोषणा गरिएको छ ।

अध्यक्ष पाठक भन्छन्, ‘निर्वाचन हुँदा यातायातदेखि सुरक्षाका विषय सरोकारमा पर्छन् । यिनै सुरक्षा र जटिलतालाई मध्यनजर गरी तथा आगामी निर्वाचन विशेष महत्वको भएकोले सबैको चासो र आम जनता सहभागी हुनपर्ने अवस्थालाई समेत ख्याल गर्दै निफलाई एक महिनापछि सारिएको हो ।’

यी विधामा दिइनेछ अवार्ड

शीर्ष पुरस्कार अन्तर्राष्ट्रिय फिचर विधाको विजेतालाई १५०० डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ बाट पुरस्कृत गरिनेछ । राष्ट्रिय चलचित्र विधाको विजेतालाई १ लाख नगद, डकुमेन्ट्री विधामा उत्कृष्ट हुनेले १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड पाउनेछन् ।

दक्षिण एसियाली फिचर विधातर्फको विजेताले ५०० डलर र एआई चलचित्र विधाका विजेताले ५ सय डलरको ‘मञ्जुश्री अवार्ड’ पाउनेछन् । अन्तर्राष्ट्रिय स्टुडेन्ड सर्ट फिल्मका विजेताले ‘बेस्ट स्टुडेन्ड फिल्म अवार्ड’को ट्रफी पाउनेछन् ।

राष्ट्रिय सर्ट फिल्म विधाका विजेताले ‘सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड’ मार्फत् पचास हजार नेरु पाउनेछ । राष्ट्रिय डकुमेन्ट्री विधाका विजेताले ‘बेस्ट नेसनल डकुमेन्ट्री’ अवार्डको ट्रफीसहित पचास हजार पाउनेछ । राष्ट्रिय फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक, छायाँकार विधामा पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?