२ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रुपन्देहीका पाँच वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नं. १ को देवदह शितलनगरमा, २ को बुटवल देवीनगरस्थित वडा कार्यालय भवनमा, क्षेत्र नं ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालय सिद्धार्थनगर नगरपालिकामा, क्षेत्र नं ४ को कोटहीमाईमा र क्षेत्र नं. ५ को गैडहवामा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
बुटवलमा क्षेत्र नं २ को कार्यालय उद्घाटन गर्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन राजनीति दलहरूको पर्व भएको भन्दै यसलाई सफल बनाउने मुख्य दायित्व दलहरूकै हुने बताए ।
निर्वाचनलाई स्वच्छ, निश्पक्ष र शान्तिपूर्ण गराउने मुख्य दायित्व दलहरूकै भएको उनले स्पष्ट पारे ।
राजनीतिक दलहरूबाट आचारसंहिता पालना गरेमा निर्वाचन शान्तिपूर्ण र ७५ प्रतिशत सफलता प्राप्त हुने उनको दाबी छ ।
राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन पर्वका रूपमा लिँदै यसलाई भड्किलो र खर्चिलो नबनाई शालिन र भद्र बनाउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4