४ माघ, गुल्मी । गुल्मीमा निर्वाचन प्रहरीमा मागेको भन्दा निवेदन कम परेको छ । आगामी दुई दिनसम्म म्याद थप्दासमेत आवश्यक जनशक्ति पूरा नभएको हो ।
प्रारम्भिक रूपमा निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद माघ १ गतेसम्म तोकिएको थियो । तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले म्याद दुई दिन थप गरी शनिबारसम्म कायम गरेका थिए ।
म्याद थपपछि पनि मागअनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार नेपाल प्रहरी अन्तर्गत निर्वाचन सुरक्षाका लागि १६९५ जना जनशक्ति माग गरिएकोमा हालसम्म १४१८ जनाको मात्र आवेदन परेको छ ।
यस्तै सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना माग गरिएकोमा १५५ जनाले मात्रै आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले म्याद थप्दा पनि माग अनुसार जनशक्ति जुट्न नसकेको बताए । अब थप विकल्प र व्यवस्थापनका विषयमा माथिल्लो निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।
हाल जिल्लामा निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुँदैछ ।
प्रतिक्रिया 4