+
+
Shares

विष्णु पौडेल : पोखरेल समूहको त्रासले पाल्पा पुगे, रुपन्देही-२ नछाड्न कार्यकर्ताको दबाब

महासचिव शंकर पोखरेल पक्षले २०७९ को निर्वाचनमै हराउन भूमिका खेलेको र यस पटक पनि त्यही नियति दोहोरिने भयले विष्णु पौडेल सुरक्षित क्षेत्र खोज्दै पाल्पा-२ पुगेको विश्लेषण गरिएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ माघ ४ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • यो निर्णयले रुपन्देही एमालेभित्र तरंग पैदा भएको र विभिन्न प्रतिक्रिया आएको छ।
  • पौडेलले पाल्पा-२ रोज्नुले पार्टी र कार्यकर्ताको भावनामाथि खेलवाड भएको भन्दै पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।

४ माघ, बुटवल । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णयले रुपन्देही एमाले भित्र तरंग पैदा भएको छ ।

एकल सिफारिस भएको र चार पटक लगातार जितेको क्षेत्रबाटै उम्मेदवार बन्ने धेरैको अपेक्षाविपरीत पौडेल पाल्पा-२ मा गएपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

पाल्पा-२ मा उम्मेदवार बन्ने भएपछि रुपन्देही-२ का पौडेल पक्षका नेता-कार्यकर्ताबाट मिश्रित प्रतिक्रिया आएको छ । एकथरीले रुपन्देही-२ नछाड्न र निर्वाचनमा हार-जित जे भए पनि सामना गर्न सुझाव दिएका छन् भने पौडेल पक्षकै अर्काथरीले पार्टी भित्रबाटै निर्वाचनमा असहयोग र रुपन्देहीमा पूर्वाधार विकासमा ठूलो योगदान गरे पनि जस नदिएकाले क्षेत्र छाडेर ठिकै गरेको तर्क गरेका छन् ।

पौडेल रुपन्देही-२ बाट एकल सिफारिस भएका थिए । पाल्पा-२ मा पौडेलसहित ४ जना सिफारिस भएका थिए ।

महासचिव पोखरेल समूहले पौडेललाई २०७९ को निर्वाचनमै पराजित गर्न भूमिका खेलेको र यसपटक पनि त्यही नियति दोहोरिने भयले पौडेल सुरक्षित क्षेत्र खोज्दै पाल्पा-२ पुगेको तर्क पौडेल पक्षका नेता-कार्यकर्ताले गरिरहेका छन् ।

पार्टी भित्रको गुटगत लडाईं र असहयोगकै कारण रुपन्देही-२ छाड्न बाध्य भएको पौडेलका शुभेच्छुकहरू बताउँछन् । पार्टी भित्र पौडेल पनि अध्यक्ष केपी ओलीकै समूहमा रहे पनि महासचिव पोखरेल र पौडेलबीच आन्तरिक लडाईं छ ।

एमाले बुटवल उपमहानगरका उपाध्यक्ष माधव खनालले पार्टी भित्रको अर्को गुटले असहयोग गर्ने गरेकाले पौडेलले रुपन्देही-२ छाड्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले पार्टी भित्र यसको हिसाबकिताब हुने चेतावनी दिएका छन् ।

एमाले रुपन्देहीका नेता बाबुराम भट्टराईले विष्णु पौडेलले पाल्पा-२ बाट उम्मेदवार हुने विषयमा पुनर्विचार गर्दा राम्रो हुने सुझाव दिएका छन् । विगतमा डा. बाबुराम भट्टराईलाई समेत पौडेलले अत्यधिक मतले पराजित गरेको स्मरण गर्दै भट्टराईले अहिले पनि पौडेललाई विजयी बनाउने उल्लेख गरेका छन् ।

‘पक्कै पनि उहाँले रूपन्देहीका कार्यकर्ता र मतदाताहरूको भावनाको कदर गर्नु हुनेछ,पुनर्विचार गर्नु हुनेछ । पार्टीले पनि निर्णय सच्याउने छ,’ भट्टराईले भने ।

२०७९ को चुनावमा पौडेलविरुद्ध उम्मेदवारी दिएर पछि उम्मेदवारी खारेज भएका एमाले नेता राजु गुरुङले पनि पौडेललाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय सच्याउने अपेक्षा गरेका छन् । उनले रुपन्देही-२ का कार्यकर्ता र मतदाताले पौडेललाई नै विजयी गराउने तर्क गर्दै पाल्पा-२ मा ठाकुर गैरेलाई नै उम्मेदवार बनाउँदा न्यायोचित हुने टिप्पणी गरेका छन् ।

प्रेस चौतारी रुपन्देहीका पूर्वअध्यक्ष दिनेश पाण्डेले पार्टीबाट सधैं अवसर लिनेहरूले नै २०७९ सालको चुनावमा कुनाकुना पसेर पौडेललाई हराउने योजना बनाएको र यसपटक पनि देखाइदिन्छौं भन्दै त्यही योजना बनाएकाले पौडेलले रुपन्देही-२ छाड्नुपरेको टिप्पणी गरे ।

नेपाल बौद्धिक परिषद् केन्द्रीय सदस्य एवं नेकपा एमाले लुम्बिनी प्रदेशका सल्लाहकार हरि ज्ञवालीले भने रूपन्देही-२ मा पार्टीबाट एकल सिफारिस भएका पौडेलले पाल्पा-२ रोज्नु पार्टी र कार्यकर्ताको भावनामाथि खेलवाड हुने टिप्पणी गरे ।

‘लामो समयदेखि आफूले चुनाव जित्दै आएको क्षेत्र छोडेर पौडेलले रुपन्देहीको पार्टी,कार्यकर्ता र मतदातालाई धोखा दिएका छन्,’ ज्ञवालीले भने, ‘विष्णु पौडेल र रूपन्देहीबीच भावनात्मक सम्बन्ध रहिआएको छ । उनलाई रुपन्देहीवासीले विकासका रोल मोडेल भनेर सम्मान गर्दै जिताउँदै पनि आएका हुन् । तर त्यो भावनात्मक र अन्योन्याश्रित सम्बन्धलाई विष्णु पौडेलले फगत उपयोगवादी प्रवत्ति र अवसरका रूपमा लिएको अहिलेको यो निर्णयले पारेको छ,’ ज्ञवालीले भने ।

तुलनात्मक रूपमा सुरक्षित मानिएको पाल्पा-२ रोजेर उनले एकातर्फ ठाकुर गैरेप्रति अन्याय गरेको ठहर्छ भने अर्कोतर्फ चुनाव जित्नकै लागि स्वार्थीपन देखाएको प्रमाणित हुने भन्दै ज्ञवालीले यो प्रवृत्ति गलत भएको र पार्टीले यसमा पुनर्विचार गरी सच्याउनुपर्ने माग गरे ।

बुटवल-१० का वडाध्यक्ष बलबहादुर पुनले पार्टीले गरेको निर्णयले साह्रै चित्त दुखेको गुनासो गरे । ‘रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेलको विकल्प छैन, निर्णय तुरुन्त सच्याएर यहींबाट लड्नुपर्छ,’ पुनले भने ।

पौडेलका स्वकीय सचिव यम पाण्डेले भने पौडेलको चाहना र तयारी रुपन्देही-२ बाटै चुनाव लड्ने रहे पनि पार्टीले पाल्पा-२ मा सिफारिस गरेपछि निर्णय मान्नुको विकल्प नभएको बताए ।

‘रुपन्देही-२ का पार्टी कार्यकर्ता, मतदाता र शुभेच्छुकको भावनाको उहाँले सम्मान गर्नुभएको छ, तर पार्टीले गरेको निर्णय विपरीत फेरि रुपन्देहीमा फर्किन नसक्ने बताउनुभएको छ,’ पाण्डेले प्रष्ट पारे, ‘पाल्पा-२ पनि रुपन्देही-२ सँग जोडिएको र सिद्धबाबा सुरुङमार्ग,रानीमहलको विकास, बेलहिया-पोखरा सडक स्तरोन्नति जस्ता योजना पहिल्यैदेखि पौडेलकै अगुवाइमा सुरु भएकाले त्यहाँका मतदाताले पनि उहाँलाई रोज्नेछन् ।’

नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेयले पौडेललाई पाल्पा-२ ले उम्मेदवार पाउने निर्णय स्वागतयोग्य रहेको बताए । ‘उहाँ अब सम्भावित प्रधानमन्त्रीकै उम्मेदवार हो, त्यसैले पाल्पाले प्रधानमन्त्री पाउने सम्भावनाका रूपमा उहाँको उम्मेदवारीलाई हेरेका छौं,’ आत्रेयले भने, ‘ठाकुर कमरेडलाई भविष्यमा न्याय हुनेगरी असन्तुष्टिलाई मिलाउँछौं ।’

गत निर्वाचनमा पाल्पा-२ मा एमालेका ठाकुरप्रसाद गैरे २७ हजार ८१७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका थिए । तीन हजार ९६६ मतान्तरले गैरे निर्वाचित भएका थिए । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन गैरेले ५ हजार १८० मत र अन्य साना दलले १ हजार ७०० बढी मत पाएका थिए ।

पौडेलको पाल्पा-२ मा गरिएको सिफारिसलाई कतिपय एमाले कार्यकर्ताले युवा नेता ठाकुर गैरेले ११औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएकाले उनलाई टिकट नदिने प्रपञ्चका रूपमा लिएका छन् ।

२०५१ सालमा पाल्पाबाट संसदीय यात्रा प्रारम्भ गरेका पौडेल २०५६ देखि रुपन्देहीबाट चुनाव लड्दै आएका छन् । २०५६ मा भने कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए । २०६४ यताका चार वटा संसदीय चुनाव पौडेलले लगातार जित्दै आएका छन् ।

पौडेलले पाँच पटक अर्थ मन्त्रालय सम्हालेका छन् । पहिलो पटक २०७२ कात्तिकमा अर्थमन्त्री भए । दोस्रो पटक २०७७ असोजमा अर्थमन्त्री बने । तेस्रो पटक २०७८ जेठ, चौथोपटक २०७९ पुस र २०८१ असारमा पाँचौँ पटक अर्थमन्त्री भएका हुन् । पौडेल पहिलो पटक २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।

२०६४ मा रुपन्देही-२ बाट चुनाव जितेसँगै २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बने । उनले जलस्रोत मन्त्रालय सम्हालेका थिए । २०६७ सालमा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । पार्टी भित्र समन्वयकारी र सन्तुलित मानिने पौडेल एमालेको १०औं र ११औं महाधिवेशनबाट उपाध्यक्ष पदमा छन् ।

विगतका चुनावमा भारी मतान्तरले जित्दै आएका पौडेल २०७९ को निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३७० मतान्तरमा चुनाव जितेका थिए । एमालेका पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा रास्वपाका पौडेलले २५ हजार ७९५ मत पाएका थिए । उक्त चुनावमा पौडेललाई हराउन महासचिव शंकर पोखरेल समूहले भूमिका खेलेको पार्टी नेता-कार्यकर्ताहरू बताउँछन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?