+
+
Shares

पर्वतारोहण पर्यटनमार्फत नेपाल–क्यानडा सम्बन्ध विस्तारमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औं वर्षको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
  • नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघले सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरेको छ ।
  • कार्यक्रममा लाक्पा दोर्जी शेर्पाले क्यानेडियन नागरिक लाउरी स्क्रेसलेटसँग सगरमाथा आरोहण गरेको क्षण आफूका लागि गर्वको विषय भएको बताए।

४ माघ, काठमाडौं । नेपाल र क्यानडाबीचका विविध आयाममाथि चर्चा गर्दै पर्वतारोहण पर्यटनमार्फत नेपाल–क्यानडा सम्बन्ध विस्तारको महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल–क्यानडा कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकारी तथा निजी तहबाट गर्नुपर्ने पहलका विषयमा वक्ताहरूले धारणा राखे।

नेपाल र क्यानडाबीच सन् १९६५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

नेपाल–क्यानडा मैत्री सांस्कृतिक संघको आयोजनामा सम्पन्न कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जी शेर्पालाई सम्मान गरिएको थियो। उनलाई संघका अध्यक्ष निरोज मास्के, प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक तथा परराष्ट्रविद एवम् क्यानडाका लागि नेपालका पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ र पूर्व राजदूत कालीप्रसाद पोखरेललगायतले सम्मान गरे।

अन्तरक्रिया कार्यक्रममा नेपाल–क्यानडा सम्बन्धका विषयमा संघका सल्लाहकार आङछिरिङ शेर्पाले कार्यपत्र प्रस्तुत गरे। उनले दुई देशबीचको सम्बन्ध तथा पर्यटन र पर्वतारोहणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका हुन्।

कार्यक्रमको विषयवस्तुबारे संघका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेलले जानकारी दिए भने संघका सदस्य देवेश ढुंगानाले दुई देशबीचको आर्थिक, सांस्कृतिक र पर्यटन सम्बन्धका विषयमा चर्चा गरे।

संघका पूर्व अध्यक्ष इन्जिनियर केशव कुँवरले निरोज मास्केको नेतृत्वमा नयाँ कार्यसमितिले सक्रिय रूपमा काम गरिरहेको बताउँदै सफलताको कामना व्यक्त गरे।

संघका अध्यक्ष मास्केले संघ स्थापना कालदेखि नै नेपाल–क्यानडा सम्बन्ध सुदृढ बनाउन सांस्कृतिक, सामाजिक, आर्थिक, शैक्षिक र खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए। उनले नेपाल र क्यानडाबीच सांस्कृतिक रूपमा केही समानता रहेको उल्लेख गर्दै दुवै देश हिमाली संस्कृति र सभ्यतामा धनी रहेको बताए। आगामी दिनमा दुई देशका जनताबीच आपसी सम्बन्ध विस्तार गर्ने योजना बनाएर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले नेपाल र क्यानडाले विश्वस्तरका सामाजिक मुद्दामा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सम्मानित लाक्पा दोर्जी शेर्पाले मैत्री संघप्रति धन्यवाद व्यक्त गर्दै क्यानेडियन नागरिकसँगै सगरमाथा आरोहण गर्न पाएको क्षण आफूका लागि गर्वको विषय भएको बताए। उनले क्यानेडियन नागरिक लाउरी स्क्रेसलेटसँगै सगरमाथा आरोहण गरेका थिए। लाउरी स्क्रेसलेट सगरमाथा आरोहण गर्ने पहिलो क्यानेडियन नागरिक हुन्।

संघले यसअघि नेपालको कीर्तिमानी अल्ट्राधावक मिरा राईलाई पनि सम्मान गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?