५ माघ, जनकपुरधाम । मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै छ । दिवसको अवसरमा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा रास्वपा बरिष्ठ नेता बालेन शाहले माल्यार्पण गरेका छन् ।
आज रमेश महतोको १९ औं स्मृति दिवस मनाइँदै छ । उनको सहादतको दिनलाई आज मधेश केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा मनाइरहेका छन् ।
प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो मारिएका थिए ।
तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेपछि भइरहेको आन्दोलनको क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो मारिएपछि मधेशभर आन्दोलन चर्किएको थियो । त्यसैले माघ ५ गतेलाई मधेश केन्द्रित दल र मधेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँँदै आएका छन् ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । मधेश केन्द्रित दलहरु जसपा, जनमत आज छुट्टाछुट्टै ठाउँमा भेला भएर विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाइरहेका छन् ।
प्रतिक्रिया 4