News Summary
Generated by OK AI. Editorially reviewed.- गायक प्रमोद खरेल र उनको ब्याण्डले देशका विभिन्न ठाउँमा मेला महोत्सवमा प्रस्तुति दिइरहेका छन्।
- शुक्रबार स्याङ्जाको चापाकोटमा १५ हजार दर्शक सहभागी कन्सर्टमा ब्याण्डले भब्य प्रस्तुति दियो।
- प्रमोद खरेल अहिले टेलिभिजनको 'भ्वाइस अफ नेपाल' रियालिटी शोका जज भएर समय दिन व्यस्त छन्।
काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ लाई यतिबेला सांगीतिक चटारो छ । देशका विभिन्न थलोमा आयोजना भैरहेका मेला महोत्सवमा प्रस्तुति दिन ब्याण्डलाई भ्याइनभ्याइ छ ।
शुक्रबार ब्याण्डले १५ हजार दर्शक सहभागी स्याङ्जाको चापाकोट कन्सर्टमा भब्य प्रस्तुति दियो । चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको कन्सर्टमा १० वर्षपछि खरेल गुञ्जिएका हुन् ।
दर्शकको उत्साहजनक भीडले प्रमोदसँगै उनका हिट गीत गाएर साथ दिए । चिसोको पर्वाह नगरि दर्शक अबेरसम्म बसेर उनको प्रस्तुतिमा झुमे । ‘दर्शक अन्तिमसम्म उत्तिकै रहनुभयो । १० वर्षपछि त्यहाँ गाउँदा खुसी भयौं’ प्रमोदले भने ।
शनिबार उद्योग व्यापार संघ रुपन्देहीले देवदहमा आयोजना गरेको कन्सर्टमा ब्याण्ड गुञ्जियो । त्यहाँ पनि दर्शकको उत्तिकै उत्साहजनक उपस्थिती र सांगीतिक माहोल बन्यो ।

आइतबार ब्याण्डले चितवनको गाञ्जीपुरमा ल्होसार कन्सर्टमा प्रस्तुति दियो । सोमबार पनि ब्याण्ड चितवनमै गुञ्जिने कार्यक्रम छ । १४ माघमा आफ्नै जन्मथलो झापाको भद्रपुरमा ब्याण्ड गुञ्जिनेछ ।
‘जन्मथलोमा प्रस्तुति दिन लाग्दा उत्साहित छु’ प्रमोद सुनिए, ‘हामी हरेक ठाउँमा नयाँ रुपमा प्रस्तुत भैरहेका छौ । हरेक ठाउँमा दर्शकले उत्तिकै इन्जोयको साथ मनपराउनुभएको छ । खुसी लागेको छ ।’
१८ माघमा सिन्धुलीमाढीमा कन्सर्ट हुनेछ । २५ माघमै स्याङ्जाको वालिङमा प्रस्तुतिको तयारी छ । ६ फागुनमा उदयपुरको गाइघाटमा ब्याण्ड गुञ्जिनेछ ।
नेपालगञ्ज, महेन्द्रनगर, भोजपुर लगायतका ठाउँमा पनि कन्सर्टको कुरा भैरहेको प्रमोदले बताए । तर, यतिबेला टेलिभिजनको सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मा समय दिनुपरेपछि प्रमोदलाई चटारो छ ।
सप्ताहन्तमा प्रसारण हुने यो टिभी कार्यक्रम अहिले लाइभ शो राउन्डमा प्रवेश गरेको छ । प्रमोद शोका जज हुन् । ‘हरेक ठाउँबाट कल आएको छ । तर, यो महिना भ्वाइसले गर्दा समय दिन सकेका छैनौं’ प्रमोदले भने ।


प्रतिक्रिया 4