५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ ।
पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले मौका पाएका छन् ।
कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट रामसुन्दर चौधरी, क्षेत्र नं. २ बाट रामचन्द्र यादव, क्षेत्र नं. ३ बाट डा. शुभासचन्द्र यादव र क्षेत्र नं. ४ बाट चन्द्रकला देवी यादवलाई उम्मेदवार घोषणा गरेको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–१ बाट पदमनारायण चौधरी र क्षेत्र–२ बाट चित्रलेखा यादव निर्वाचित भएका थिए । त्यसैगरी, क्षेत्र–३ र क्षेत्र–४ मा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनबाट उम्मेदवार उठाइएका थिए।
यसपटक सबै क्षेत्रमा कांग्रेसको उम्मेदवारी परेको हो । नेपाली कांग्रेसको ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठक र हालै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठबन्धन नगरी चारै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो ।
सोहीअनुसार लामो समयपछि जिल्लामा कांग्रेसले चारै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको हो । उम्मेदबार बनाउन लागिएका सबै नयाँ अनुहार हुन् ।
नयाँ अनुहारलाई उम्मेदवार बनाइएकाले पार्टीभित्र केही नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन् । केहीमा चिन्ता पनि देखिएको छ । नयाँ उम्मेदवारका कारण चुनाव जित्ने चुनौती बढेको उनीहरूको भनाइ छ ।
यद्यपि, पार्टी नेतृत्वले नयाँ अनुहारमार्फत जनतामा नयाँ आशा र सन्देश जाने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया 4