News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५ सय १९ गुणा बढी सम्पत्ति रहेको तथ्यांक सार्वजनिक भएको छ।
- सन् २०१९ देखि २०२३ सम्म नेपालमा गम्भीर खाद्य असुरक्षामा रहेका मानिस ४० प्रतिशतले बढेका छन् र हाल करिब ३६.६ प्रतिशत नेपाली खाद्य असुरक्षाको सामना गरिरहेका छन्।
- अक्सफाम इन्टरनेसनलले विश्वका अर्बपतिहरूको सम्पत्ति १६ प्रतिशतले बढेर १८३ खर्ब अमेरिकी डलर पुगेको र असमानताले लोकतन्त्र कमजोर बनाएको चेतावनी दिएको छ।
६ माघ, काठमाडौं । नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग सबैभन्दा गरिब ५० प्रतिशत मानिसको भन्दा ५ सय १९ गुणा धेरै सम्पत्ति रहेको तथ्यांक सार्वजनिक भएको छ ।
अक्सफाम इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा धनी र गरिबबीच गम्भीर असमानता छ । नेपालमा गरिब जनसंख्याको हिस्सामा ४.७ प्रतिशतमात्र सम्पत्ति छ भने धनी १ प्रतिशतसँग २४.५ प्रतिशत छ ।
नेपालमा सन् २०१९ देखि २०२३ सम्म गम्भीर खाद्य असुरक्षामा रहेका मानिस ४० प्रतिशतले बढेका छन् र हाल करिब ३६.६ प्रतिशत नेपाली खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
‘धनी र बाँकी मानिसहरूबीच बढ्दै गएको खाडलले अत्यन्तै खतरनाक र अस्थिर राजनीतिक वातावरण सिर्जना गरिरहेको छ,’ अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहारले भने ।
उनले सरकारहरूलाई अतिधनीहरूको शक्ति घटाउन प्रभावकारी कर प्रणाली लागु गर्न, राजनीति र सम्पत्तिबीच बलियो पर्खाल निर्माण गर्न तथा असमानता न्यूनीकरण योजना बनाउन आह्वान गरेका छन् ।
विश्व अर्बपतिहरूको सम्पत्ति पुग्यो १८३ खर्ब डलर, बढ्यो १६ प्रतिशत
सन् २०२५ मा विश्वका अर्बपतिहरूको सम्पत्ति ठूलो परिमाणले बढेको छ । अक्सफामको नयाँ प्रतिवेदन अनुसार अर्बपतिहरूको कुल सम्पत्ति १६ प्रतिशतभन्दा धेरैले बढेर १ सय ८३ खर्ब अमेरिकी डलर बराबर पुगेको छ । यो इतिहासकै उच्च हो। यो वृद्धि विगत पाँच वर्षको औसतभन्दा तीन गुणा बढी हो ।
सन् २०२० यता अर्बपतिहरूको सम्पत्ति ८१ प्रतिशतले बढेको छ भने गत वर्ष मात्रै २५ खर्ब डलर थपिएको छ, जुन विश्वको ९४ प्रतिशत मानिससँग भएको कुल सम्पत्तिसँग लगभग बराबर छ।
पहिलो पटक अर्बपतिहरूको संख्या ३ हजार नाघेको छ र इलन मस्क ५ खर्ब डलरभन्दा बढी सम्पत्तिसाथ इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
यो तीव्र वृद्धिले विश्वमा खतरनाक आर्थिक तथा राजनीतिक असमानता निम्त्याएको अक्सफामले चेतावनी दिएको छ।
प्रतिवेदनका अनुसार अर्बपतिहरू साधारण नागरिकको तुलनामा ४ हजार गुणा बढी राजनीतिक पदमा पुग्ने सम्भावना राख्छन् । उनीहरूले मिडिया र सामाजिक सञ्जाल कम्पनीहरूमा बढ्दो नियन्त्रण जमाउँदै राजनीतिक शक्ति प्रयोग गरेर अर्थतन्त्रका नियमहरू आफ्नो पक्षमा बनाइरहेका छन् ।
यसैबीच विश्वका प्रत्येक चार जनामध्ये एक जनाले नियमित रूपमा पर्याप्त खाना पाउँदैनन् भने झन्डै आधा जनसंख्या गरिबीमा बाँचिरहेको छ । यो असमानताले लोकतन्त्र कमजोर बनाउँदै नागरिक अधिकार र स्वतन्त्रतामा आघात पुर्याइरहेको छ ।
यो प्रतिवेदन डाभोसमा विश्व आर्थिक मञ्चको सत्र सुरु भएसँगै सार्वजनिक गरिएको हो, जसले विश्वव्यापी असमानताको गम्भीर चुनौतीलाई उजागर गरेको छ।
प्रतिक्रिया 4