६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई विगतमा भन्दा यसपटक काठमाडौं–४ को निर्वाचन सहज हुने विश्लेषण भइरहेको थियो ।
जेनजी आन्दोलनले दलहरुमा खोजेको रुपान्तरण र पुर्नगठनको मुद्दाले उनका लागि थप चुनौति थपिएको थियो । विशेष महाधिवेशनको माध्यमबाट कांग्रेसको पुर्नगठन गराउन उनी सफल भएका थिए ।
विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसको बागडोर थापाले सम्हाल्ने भएसँगै काठमाडौं–४ अनुकूल भएको चर्चा भइरहँदा उनले सलाही–४ लाई रोजे ।
नवनिर्वाचित समितिले भावी प्रधानमन्त्री भनेर औपचारिक घोषणा गर्ने तयारी गरिरहँदा उनले सुरक्षित क्षेत्र छोडेर किन सर्लाही–४ रोजे ?
अघिल्लोपटक सर्लाही–४ जान इच्छुक भएपनि काठमाडौं–४ मा प्रतिस्पर्धी बनेका उनी यसपटक भने मधेस झरे । मधेस ओर्लनुमा रणनीतिक रहेको विश्लेषण सुरु भएको छ । राजनीतिक विश्लेषक चन्द्रकिशोरका अनुसार राष्ट्रिय नेता एउटै क्षेत्रमा खुम्चिएर हुनै नसक्ने टिप्पणी गर्छन् ।
कांग्रेस सभापति थापा जोखिम उठाउनसक्ने व्यक्ति भएको विश्लेषण सहित उनी भन्छन्,‘एउटै क्षेत्र, समुदाय, जातको बलमा राष्ट्रिय नेता बन्न सकिन्न । गगन जोखिम उठाउन सक्ने नेता हो । जोखिम उठाउन मधेस आउनुभयो ।’
कांग्रेसलाई ‘मधेसमा पुर्नजागृत गर्न’
परम्परागत रुपमा मधेश कांग्रेसको जगका रुपमा चिनिन्छ । कांग्रेसको आधारभूमिका रुपमा पनि व्याख्या हुँदै आएको छ । खासगरी २०६४ सालको निर्वाचनअघि तराई मधेशमा कांग्रेस नै सबैभन्दा बलियो पार्टी हुनेगर्थ्यो । कांग्रेसका पुराना धेरै स्थापित नेताहरुले मधेशलाई प्रतिनिधित्व गर्छन्, दिवंगत महेन्द्रनारायण निधि रामहरि जोशीदेखि कांग्रेस छोडेका महन्थ ठाकुर, पूर्वराष्ट्रपति डा. रामवरण यादव एवं प्रदीप गिरिसम्मले ।
तर, त्यसपछि मधेशी दलहरुको प्रभाव बढेसँगै मधेशमा कांग्रेसको उपस्थिति कमजोर बन्न पुगेको थियो । यसपटक मधेशमा कांग्रेसको विरासत फर्काउने रणनीतिसहित थापा सर्लाही झरेको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् ।
उनी भन्छन्,‘२००७ सालदेखि नै मधेस कांग्रेसका लागि उर्वरभूमि हो । मधेससँग पार्टीलाई रि कनेक्ट गर्न गगनले खोजेको रुपमा बुझ्नुपर्दछ ।’ राष्ट्रिय नेता हुनका लागि एउटा क्षेत्रमा मात्रै खुम्चिएर बस्न नहुने चन्द्रकिशोर बताउँछन्
२०७९ सालको निर्वाचनमा काठमाडौं–४ स्वर्णिम वाग्लेका लागि छोडेर सभापति थापा सर्लाही जान चाहेका थिए । तत्कालीन सभापति शेरबहादुर देउवाले स्वर्णिमलाई उम्मेदवार बनाउन नसकिने बताएसँगै उनी थापाले पुरानै क्षेत्रमा प्रतिस्पर्धा गरेर जित निकालेका थिए ।

यसपटक सभापति थापा इच्छा र सर्लाही जिल्ला समितिको बलको आधारमा प्रतिस्पर्धा गर्न क्षेत्र परिवर्तन गरेका छन् । सर्लाहीका कांग्रेस उपसभापति डा. सरोज यादव पनि सभापति थापालाई मधेशले बोलाएर यस क्षेत्रमा ल्याएको बताउँछन् ।
‘सभापतिमा अघिल्लो चुनावमा ल्याउन खोजेका थियौं, सकेनौं । मधेसले उहाँलाई खोजेरै बोलाएको हो,’ उनले भने । सर्लाही–४ बाट सभापति थापाले प्रतिस्पर्धा गर्दा त्यसले मधेससँगै देशभर उभार कांग्रेसको पक्षमा उभार आउने जिल्ला उपसभापति यादवको दाबी छ ।
‘उहाँ प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ, उहाँ यहाँ आउँदा कांग्रेसको पक्षमा जनसागर आउँछ,’ उनी भन्छन् ।
सिट बढाउन र देशव्यापी अभियान गर्नका लागि समय बचतको ध्येय
३२ क्षेत्र रहेको मधेसमा गत निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले ७ क्षेत्रमा मात्रै जितेको थियो ।
सप्तरी–३ र ४, धनुषा २, महोत्तरी–४, रौतहट ४, पर्सा २ र ४ मा कांग्रेसका उम्मेदवारले जितेका थिए । मधेसी दलसँग गठबन्धन गरेपनि अन्यले जित निकाल्न सकेनन् ।
सभापति थापा स्वयं मधेसको उम्मदेवार हुँदा र भावी प्रधानमन्त्रीको नाराले वरपरका जिल्लामा प्रत्यक्ष र समानुपातिकमा मत बढ्ने आकलन कांग्रेसभित्र भएको छ ।
८ जिल्ला रहेको मधेसमा कूल मतदाता २९ लाख १० हजार २३ जना छन् । जनसंख्याको ठूलो हिस्सा रहेको मधेसमा समानुपातिकतर्फ मत तान्ने पहलका लागि पनि सभापति झरेका हुन् ।
यो जिल्लाभरमा कांग्रेसले समानुपातिकतर्फ ४१ हजार १८७ मत पाएको थियो ।
सर्लाही, रौतहट, धनुषा र पर्सामा अघिल्लो चुनावमा समानुपातिक मततर्फ कांग्रेस पहिलो स्थानमा रहेको थियो । समानुपातिक मततर्फ बारामा दोस्रो, सिरहामा तेस्रो र महोत्तरीमा चौथो स्थानको मत कांग्रेसले प्राप्त गरेको थियो ।
जिल्ला उपसभापति डा. सरोज यादवका अनुसार सर्लाहीको यो क्षेत्रमा पार्टीभित्र गुटगत समस्या छैन ।
आन्तरिक पार्टी जीवन बलियो रहेको र अन्तर्घातको नहुने यादव दाबी गर्छन् । पार्टी संरचना उनका लागि पूर्ण रुपमा परिचालन हुने हुँदा सभापति थापा चुनावी प्रचारमा देशभर पुग्नसक्ने नेताहरुको बुझाइ छ ।
निर्वाचन क्षेत्रमा चुनाव प्रचारका लागि धेरै समय खर्च गर्न नपर्ने तथा बाँकी समय देशव्यापी अभियान चलाउन सभापति थापालाई क्षेत्रका नेताले प्रतिबद्धता पनि जाहेर गरेका छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्,‘‘चुनावअघि क्षेत्रमा चारवटा सभा आयोजना गर्ने, ती सभामा सभापति थापाले सम्बोधन गरिदिने तथा चुनाव आउने केही दिनअघि मात्रै क्षेत्रमा समय दिए पुग्ने सन्देश स्थानीय नेताले दिएका छन् ।
यस्तो अवस्थामा अन्यत्रको चुनाव अभियानमा समय दिन पाउने भएकाले पनि थापाले यो क्षेत्र रोजेका हुन् ।’
०४८ देखि नै कांग्रेसको लागि सर्लाही– ४ अनुकूल
सर्लाही क्षेत्र नम्बर– ४ मा ०४८ देखि अहिलेसम्म दुईपटक मात्रै कांग्रेस इतर उम्मेदवारले जितेको इतिहास छ ।
०४८ देखि ०५६ सम्म सो क्षेत्रबाट कांग्रेसका पुराना नेता तथा हाल जसपा नेपालका संरक्षक महन्थ ठाकुरले जितेका थिए ।
०६४ सालको चुनावमा मधेशी जनअधिकार फोरमका शिवपुजन यादवले चुनाव जिते भने त्यसयताका चुनामा डा. अमरेशकुमार सिंहले चुनाव जितेका छन् ।
डा. सिंहले ०७० तथा ०७४ मा नेपाली कांग्रेसकै उम्मेदवारका रुपमा तथा ०७९ मा भने स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव चिनेका थिए ।
०७९ मा डा. सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका सिंह २० हजार १७ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए ।
उनलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थियो ।
निर्वाचनमा सर्लाही–४ का अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाएर तेस्रो भएकी थिइन् ।
चौथो भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका राजेशकुमार मिश्र ५ हजार ८१३ पाएका थिए ।
त्यसबेला जिल्लाका कांग्रेस मतदाताले समेत कार्यकर्ताले अमरेशलाई अन्याय भएको अनुभव गरी अमरेशलाई भोट हालेको जिल्ला उपसभापति डा. यादव बताउँछन् ।
‘अघिल्लो चुनावमा गठबन्धनले नै हामीलाई ठूलो धोका दियो । हामै मतसमेत माछा चुनाव चिन्हमा गयो । तर, अमरेशका बारेमा अब यहाँका जनता सचेत भएका छन्,’ उनले भने ।
मधेसका कांग्रेस उपसभापति तथा सर्लाही ४ (क) का सांसद वीरेन्द्र सिंह पनि अमरेशले आफू चुनाव जितेपछि कांग्रेसमै प्रवेश गर्ने भन्दै झुक्याएर भोट पाएको आरोप लगाउँछन् ।
‘यसपटक निर्वाचन परिणाम नै पार्टी सभापति थापाको पक्षमा आउनेछ । कांग्रेसको बलियो संगठन छ, कार्यकर्तामा उत्साह छ,’ उनले भने ।
पछिल्लो समय मधेसलाई सभापति थापाले विशेष प्राथमिकतामा राखेको प्रदेशका नेता कार्यकर्ताको बुझाइ छ ।
मधेसका जनता समस्या सुन्नका लागि उनले हुलाकी राजमार्गको यात्रा नै गरेका थिए । मधेसका समस्याका बारेमा सभापति थापा मधेस आउँदा मतदाता खुसी रहेको जिल्ला उपसभापति डा.यादव बताउँछन् ।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई अघि सारेपनि मधेसमा उनले प्रभाव छोड्न नसक्ने उनी बताउँछन् ।
बालेनबारे जिल्ला उपसभापति डा.यादवको विश्लेषण छ,‘बालेन शाह मधेश आए पनि काठमाडौं ठेला गाडी गरेर जिउ पाल्नेलाई लखेट्ने काम गरे । बालेन शाह आएर यहाँ के हुन्छ ? काठमाडौंरमै कवाडीलाई उनले गरेको व्यवहार कस्तो छ ? उनलाई यहाँको जनताले बुझेको छ ।
प्रतिक्रिया 4