+
+
Shares

विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ माघ ७ गते १४:२३

६ माघ, विराटनगर । नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।

१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षीको धारको नेतृत्व गरे । सभापति देउवाकाे आलाेचना गर्ने उनले हरेक जिम्मेवारीमा इतर समूहको सहभागिताका लागि अडान राखे । आफ्नाे समूहबाट सहभागीता पनि गराए । जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाउँदा कोइराला बीचमा उभिएका थिए । विशेष महाधिवेशन सुरु हुँदा उनी शेरबहादुर देउवासँगै विराेधमा उभिए । तर, निर्वाचन आयोगले विशेषबाट निर्वाचित नेतृत्वलाई मान्यता दिएपछि उनी नयाँ नेतृत्व स्वीकार गरेर निर्वाचनमा हाेमिए ।

कांग्रेस नेताहरुका अनुसार मोरङको ६ वटा क्षेत्र मध्ये कोइरालाले आफ्नो भागमा ३ वटा क्षेत्र लिएका छन् । उनी क्षेत्र नम्बर ६ बाट उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर– २ मा डाक्टर मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्मा उनको समूहका सदस्य हुन् ।

क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका महामन्त्री गुरुराज घिमिरे पनि कोइराला समूहमा थिए । विशेष महाधिवेशनको बेला उनले कोइराला समूह छाडे ।

इलाम क्षेत्र नम्बर– २ का उम्मेदवार भेषराज आचार्य पनि कोइराला समूहका हुन् । झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं डाक्टर कोइराला समूहमा छिन् । झापा क्षेत्र नम्बर १ का उम्मेदवार केशवराज पाण्डे पनि कोइरालासँग नजिक छन् ।

सुनसरी क्षेत्र नम्बर -२ का उम्मेदवार राजिब कोइराला र क्षेत्र नम्बर- ३ का उम्मेदवार विजयकुमार गच्छदार पनि कोइराला समूहका हुन् । सुनसरी क्षेत्र नम्बर ३ मा गगन थापाले विजयका भतिज बेदप्रकाश गच्छदारलाई टिकट दिएका थिए । तर, आफू असुरक्षित हुने देखेपछि शेखर कोइरालाले उनको टिकट रोकेर विजयकुमार गच्छदारलाई नै टिकट दिन लगाए ।

‘क्षेत्र नम्बर ३ मा अलिक विवाद भयो, सभापतिले बेद गच्छदारलाई टिकट दिएपछि शेखरदाले प्रतिवाद गर्नुभयो, पछि पार्टीले निर्णय सच्यायो,’ कांग्रेस सुनसरी स्रोत भन्छ,‘ विजयले टिकट नपाएको भए शेखरलाई नै गाह्रो हुन्थ्यो ।’

क्षेत्र नम्बर ६ मा थारुको संख्या बाक्लो छ । कोइरालाको क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा रहेको थारु बस्तीमा गच्छदारको पकड राम्रो छ । भोजपुरका उम्मेदवार बालकृष्ण थापा कोइराला समूहका हुन् । कोइराला समूहको दाबी अनुसार उदयपुर १ का उम्मेदवार विदुर बस्नेत र २ का उम्मेदवार रामकुमार राई पनि उनकै समूहका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङ, धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका दीपिनकुमार श्रेष्ठ,पाँचथरका नरेन्द्रकुमार केरूङ,मोरङ १ मा खड्ग फागो सभापति गगन थापा समूहका हुन् । २८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशका अन्य स्थानमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहले पनि भागवण्डा गरेका छन् ।

मंगलबार उम्मेदवारी दर्ताका क्रममा डाक्टर कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन सहकार्य आवश्यक रहेको बताए । गगन थापाले बैशाखमा नियमित महाधिवेशन गर्ने बताइसकेको बताउँदै उनले सवै विषय मिलिसकेको बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?