९ माघ, हेटौंडा । जनताबाट प्रत्यक्ष अनुमोदनको सपना पूरा गर्न नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई विगतका चार वटा निर्वाचन सफल रहेनन् ।
कम्युनिस्ट गढ मानिने मकवानपुरमा डिनाले २०४८ को आमनिर्वाचन र २०५१ को मध्यावधि हारिन् । त्यसपछि २०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा प्रवेश गरेकी उनी २०७४ र २०७९ मा जनताबाट प्रत्यक्ष निर्वाचित हुन चाहन्थिन् । उनका लागि पछिल्ला दुई निर्वाचन पनि सुखद रहेनन् ।
डिनाले २०४८, २०५१ र २०७४ को निर्वाचनमा मकवानपुर-२ बाट नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । २०७९ मा निर्वाचन क्षेत्र फेरेर १ नम्बर पुगेकी उनी नेकपा माओवादीसँगको गठबन्धन हुँदा पनि राप्रपाका दीपक सिंहसँग हार बेहोरिन् ।
त्यसअघि संघीय वा स्थानीय तहको निर्वाचन नजितेका सिंहसँग पनि पराजित भएकी थिइन् डिना । उनलाई २ हजार ३८२ मतान्तरले हराउँदै सिंहले प्रतिनिधिसभा चुनाव जितेका थिए ।
सिंहले २७ हजार ८१६ मत पाउँदा डिनाले २५ हजार ४३४ मतमा चित्त बुझाइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत पाएका थिए । अघिल्लो निर्वाचनमा बलिया उम्मेदवारसँग त्रीपक्षीय भिडेकी डिनाले अबको निर्वाचनमा चौपक्षीय प्रतिस्पर्धा गर्नुपर्नेछ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा डिनासँग उनै सिंह प्रतिस्पर्धामा छन् । एमालेबाट रामेश्वर राना र नेकपाबाट विजय गौतम पनि मैदानमा छन् । मकवानपरबाटै ७ वटा निर्वाचन लड्दा ६ पटक (२०५१ बाहेक) पराजित कमल थापाले भने यस पटक मकवानपुर छोडे । थापा काठमाडौं-५ मा राप्रपाबाट उम्मेदवार छन् ।
डिनाले २०७९ को निर्वाचनमा मनोनयन दर्ता गराउँदा पत्रकारहरूसँग भनेकी थिइन्, ‘म समानुपातिक त्यागेर प्रत्यक्ष चुनाव लड्न आएको हुँ । जनताबाट प्रत्यक्ष जितेर जान चाहन्छु ।’ उनले आफ्नो पुरानै भनाइलाई आगामी २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदा पनि दोहोर्याइन् ।
‘म दुई पटक नेपालको संविधान निर्माणको लागि संविधानसभा सदस्य भएँ । संविधान लेख्ने प्रक्रियामा सामेल भएर संविधान, कानुन बनाइसकेँ, अब जनताको सेवा गर्छु भनेर म विगतमा आएको थिएँ । त्यतिबेला पराजित भएँ, फेरि जनताबाटै चुनिन आएको छु,’ उनले भनिन्, ‘सधैं जनताकै लागि काम गर्छु भन्ने एउटा चाहना थियो । त्यो चाहना पूरा गर्न आएकी छु ।’
आफू चुनाव नलड्ने भनिसकेको अवस्थामा पनि पार्टीको नेतृत्वले चुनाव लड्नुपर्छ जितेर आउनुहुन्छ भनेर ढाडस दिएपछि उम्मेदवारी दिएको डिनाले बताइन् । विगतमा गठबन्धन भएकाले यति धेरै भोटले जितिहाल्छु भन्ने ‘ओभर कन्फिडेन्स’ले पराजित हुनु परेको उनले बताइन् । आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावमा रहेको र सबैको घरसम्म पुग्ने मिहिनेतले आफू जित्नेमा उनी विश्वस्त देखिइन् ।
डिना २०६४ को संविधानसभा निर्वाचनमा सामानुपातिक कोटाबाट पहिलो पटक संसद् प्रवेश गरेकी हुन् । समानुपातिक सांसद भएकै बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी जलस्रोत राज्यमन्त्रीसमेत भइन् ।
२०२१ सालमा चितवनमा जन्मिएकी डिनाको परिवार नै राजनीतिक थियो । उनी जन्मिँदा हजुरबुवा उदयनाथ अधिकारी देशद्रोहको मुद्दामा चितवनको जेलमा थिए । प्रजातन्त्र पुनर्स्थापनाको संघर्षमा लाग्दा पटकपटक गरी १२ वर्ष जेल बसेका अधिकारी नेपाली कांग्रेसको चितवन जिल्ला सभापति पनि थिए ।
२०३९ मा काठमाडौं, बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भएपछि डिना खुलेरै नेविसंघको राजनीतिमा लागिन् । २०४२ को सत्याग्रह आन्दोलनका क्रममा शैलजा आचार्यसँगै ७ महिना जेल परिन् । २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी डिना त्यसपछि २०४७ देखि २०५७ सालसम्म नेपाल महिला संघ, मकवानपुर सभापति रहिन् ।
२०५९ सालमा पार्टी विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य भइन् । एकीकृत कांग्रेस पार्टीको चौधौं महाधिवेशनबाट डिना सहमहामन्त्रीमा विजयी भएकी थिइन् ।
प्रतिक्रिया 4