+
+
Shares

सिरहा-४ : बारम्बार सांसद बनेकाहरू फेरि मैदानमा

सिरहा-४ मा पटक-पटक मन्त्री र सांसद भएकाहरूको चुनावी प्रतिस्पर्धाले चर्चामा छ । 

सुरेश राय सुरेश राय
२०८२ माघ ७ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ र सिरहा-४ मा पटक-पटक मन्त्री र सांसद भइसकेकाहरूबीच प्रतिस्पर्धा छ।
  • जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादवले सिरहा-४ बाट पुनः उम्मेदवारी दर्ता गराएका छन्।
  • सिरहा-४ मा ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् र नेपाली काँग्रेसले चन्द्रकला देवीलाई अघि सारेको छ।

७ माघ,  सिरहा । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । जसका लागि मंगलबार उम्मेदवारहरूले मनोनयन गरिसकेका छन् । सिरहा-४ मा पटक-पटक मन्त्री र सांसद भइसकेकाहरू बीचको चुनावी प्रतिस्पर्धाले चर्चामा छ ।

यहाँबाट तीन पटक सांसद र दुई पटक मन्त्री बनिसकेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले पुनः उम्मेदवारी दर्ता गराएका छन् । उनी २०६४ सालबाट निरन्तर चुनावी मैदानमा छन्। यसबीच सम्पन्न ४ निर्वाचनमध्ये उनले ३ पटक विजयी भएका छन् ।

यादवले पहिलो संविधानसभा २०६४ मा तत्कालीन सिरहा क्षेत्र नम्बर-६ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा २०७० को निर्वाचनमा उनी यहिँबाट पराजित भए । २०७४ को आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाटै निर्वाचित उनी २०७९ को निर्वाचनमा सिरहा २ बाट निर्वाचित भए। अहिले उनी पुनः ४ मा फर्केका छन् ।

चुनावैपिच्छे पार्टी र निर्वाचनक्षेत्र परीवर्तन गर्दै आएका उनी यो पटक क्षेत्र परीवर्तन गरेर आएका छन्। उनले पार्टीको निर्देशनअनुसार आफूले क्षेत्र परीवर्तन गरेको दाबी गरेका छन् । तर उनीमाथि चुनाव जितेपछि क्षेत्रमा नफर्कने नेताको ट्याग लागेको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट पहिलो संविधानभामा निर्वाचित उनलाई मन्त्री बन्नकै लागि पार्टी विभाजन गरेको आरोपसमेत छ ।

२०७४ मा सिरहा ४ बाटै २१ हजार १४४ मतसहित विजयी भएका यादवका निकटतम प्रतिस्पर्धी तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेवादर अजयशंकर नायकले १७ हजार ५७५ मत प्राप्त गरेका थिए।

त्यसैगरी, २०७९ को आम निर्वाच्नमा नेकपा एमालेसँगको गठबन्धनमा सिरहा २ बाट निर्वाचित हुँदा उनले २४ हजार १७८ मत प्राप्त गरेका थिए। निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नेतृ चित्रलेखा यादवले २३ हजार २८ मत प्राप्त गरेकी थिइन् ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०७० को संविधानसभामा सामानुपातीकबाट प्रवेश गरेका अजयशंकर नायक प्रचण्ड नेतृत्वको सरकारमा कानुन मन्त्री भएका थिए। त्यसपछि २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थिए। त्यस बेला उनी १७ हजार ५७५ मतसहित दोस्रो स्थानमा थिए। त्यस बेला यहाँबाट राजकिशोर यादव निर्वाचित भएका थिए। अहिले उनी पुनः चुनावी मैदानमा छन्।

सिरहा ४ कै अर्का उम्मेदवार व्यसायी डाक्टर वीरेन्द्र महतो २०६४ मै तत्कालीन मधेशी जनअधिकार फोरमको कोटाबाट सामानुपातिकबाट संविधानसभा प्रवेश गरेका थिए। त्यसपछि उनी सिरहा ४ बाट २०७९ मा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भए। त्यसबेला उनले २४ हजार १०२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार बीरेन्द्र प्रसाद साह १६ हजार २९४ मत प्राप्त गरेका थिए।

मन्त्री बन्नकै लागि पार्टी विभाजनका क्रममा अशोक राई नेतृत्वको जसपामा गएका थिए । अहिले यहाँ सो पार्टीको प्रभाव कमजोर रहेकाले उनी जनमत पार्टी प्रवेश गरेर चुनावी मैदानमा उत्रेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका नेता धर्मनाथ साह पार्टीले टिकट नदिएपछि नेकपा एमालेको टिकटबाट चुनावी मैदानमा उत्रेका छन्। लामो राजनीतिक पृष्ठभूमि भएका साह २०५६ को आम निर्वाचनमा सिरहाका तत्कालीन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका नेता प्रदिप गिरीलाई पराजीत गर्दै सांसद भएका थिए। सोही बेला उनी सामान्य प्रशासन मन्त्री भएका थिए।

त्यसपछि उनी निरन्तर चुनावी मैदानमा रहे पनि निर्वाचित भने भएका छैनन्। गत २०७९ को निर्वाचनमा सिरहा ४ बाटै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त उम्मेदवार बनेका साह तेस्रो स्थानमा थिए। त्यसबेला उनले १४ हजार ६५३ मत प्राप्त गरेका थिए। निर्वाचित भएका वीरेन्द्र महतोले भने २४ हजार १०२ मत थियो।

पूर्वविज्ञान तथा प्रविधि मन्त्री तथा बहुजन शक्ति पार्टीका अध्यक्ष वीसेन्द्र पासवान पनि यहि क्षेत्रबाट उम्मेदवारी दिएका छन्। उनी पहिलो पटक निर्वाचनमा भाग लिँदै छन्। यसअघि सामानुपातिकबाट सांसद प्रवेश गरेका पासवान बाम राजनीतिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। लहान दलित आन्दोलनबाट चर्चामा आएका उनले पछि आफ्नै नेतृत्वमा पार्टी खोलेका छन्।

पुरानै अनुहारका उम्मेदवारको बर्चश्व रहेको यस क्षेत्रबाट नेपाली काँग्रेसले चन्द्रकला देवी यादवलाई अगाडि सारेको छ ।  उनी पहिलोपटक निर्वाचनमा आएका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट तपेश्वर यादव, आम जनता पार्टीवाट वीरेन्द्र साह, उज्यालो नेपाल पार्टीबाट विनय प्रविनलगायत ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले बताएको छ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?