+
+
Shares

प्रतिनिधि सभा निर्वाचन : सिरहाको एकै क्षेत्रबाट ५ पूर्वमन्त्री प्रतिस्पर्धामा

क्षेत्र नम्बर ४ बाट जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव, जनमत पार्टीका पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतो, नेकपाका अजयशंकर नायक, एमालेका धर्मनाथ साह र बहुजनशक्ति पार्टीका विश्वेन्द्र पासवान उम्मेदवार छन् ।

सुरेश राय सुरेश राय
२०८२ माघ ७ गते ७:५७

७ माघ, सिरहा । उम्मेदवारी दर्तासँगै सिरहामा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेको छ । तामझामका साथ उम्मेदवारी दर्ता गरेका नयाँ-पुराना दलहरुले विभिन्न शैलीमा प्रचार थालिसेका छन् ।

जिल्लाका ४ निर्वाचन क्षेत्रमा नयाँ पुराना अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मन्त्री बनिसकेकादेखि पहिलोपटक राजनीतिमा प्रवेश गरेका व्यक्तिहरु प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा त पाँच जना पूर्वमन्त्रीको प्रतिस्पर्धा हुँदैछ ।

फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस, एमाले, नेकपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सिरहा–१ मा नेपाली कांग्रेसले नयाँ अनुहार रामसुन्दर चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले ०७९ मा यही क्षेत्रबाट विजयी रामशंकर यादवलाई पुनः दोहोर्‍याएको छ । त्यसबेला यादवले कांग्रेसका पदम नारायण चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए ।

नेपाली कम्युनिस्ट पार्टीबाट रामचन्द्र यादव उम्मेदवार बनेका छन्, जो एमाले विभाजनपछि एकीकृत समाजवादी हुँदै पुनः राजनीतिक यात्रामा सक्रिय भएका हुन् ।

जसपाबाट सत्यनारायण यादव मैदानमा छन् । उनले विभिन्न दल बदल्दै पुनः जसपा नेपाल फर्केर उम्मेदवारी दिएका हुन् ।

जनमत पार्टीले अन्तिम समयमा कांग्रेसका रामस्वरुप चौधरीलाई भित्र्याएर उम्मेदवार बनाएको छ भने रास्वपाले खेलकुदमन्त्रीबाट राजीनामा दिएका बब्लु गुप्तालाई उम्मेदवार बनाएको  छ । श्रम संस्कृति पार्टीका जीवछ ठाकुर पनि मैदानमा छन् ।

सिरहा–२ मा कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव उम्मेदवार बनेका छन् । उनी संविधानसभा सदस्य भइसकेका हुन् । विगतका निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका यादव यसपटक पुनः उम्मेदवार बनेका हुन् ।

एमालेले नवीन यादवलाई नयाँ अनुहारका रूपमा अघि सारेको छ । जनमत पार्टीबाट विनोदकुमार यादव उम्मेदवार बनेका छन्, जो ०७९ मा तेस्रो स्थानमा थिए ।

रास्वपाबाट शिव शंकर यादव (शिव) उम्मेदवार बनेका छन् । उनी जेनजी आन्दोलनमा सक्रिय थिए । नेकपाबाट मुक्ति सिंह र श्रम संस्कृति पार्टीबाट गंगाराम ठाकुर मैदानमा छन् ।

सिरहा–३ मा एमालेका पूर्वमन्त्री लिलानाथ श्रेष्ठ पुनः उम्मेदवार बनेका छन् । उनले ०७९ मा यही क्षेत्रबाट जित हासिल गरेका थिए । नेकपाबाट विश्वनाथ साह उम्मेदवार छन्, जो अघिल्लो निर्वाचनमा पराजित भएका थिए ।

कांग्रेसले नयाँ अनुहारका रूपमा डा. सुभाष चन्द्र यादवलाई अघि सारेको छ । जसपाबाट अशेश्वर यादव उम्मेदवार बनेका छन् । जनमत पार्टीबाट रोहित महतो, रास्वपाबाट डा. शम्भु यादव, उज्यालो नेपाल पार्टीबाट श्रवण पासमान र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुजन सिंह उम्मेदवार छन् ।

सिरहा–४ यसपटक जिल्लामै सबैभन्दा चर्चित क्षेत्र बनेको छ । यहाँ पाँचजना पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव, जनमत पार्टीका पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतो, नेकपाका अजयशंकर नायक, एमालेका धर्मनाथ साह र बहुजनशक्ति पार्टीका विश्वेन्द्र पासवान उम्मेदवार छन् ।

कांग्रेसबाट चन्द्रकला देवी यादव र रास्वपाबाट तपेश्वर यादव उम्मेदवार बनेका छन्। दुवै नयाँ अनुहार हुन्।

चारै क्षेत्रमा अनुभवी नेता, दल फेरेका पुराना पात्र र नयाँ पुस्ताका प्रतिनिधिबीचको प्रतिस्पर्धाले सिरहाको चुनावलाई यसपटक झनै रोचक बनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?