News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत रोल्ड ओट्सको नयाँ गुणस्तर मापदण्ड तोकेको छ।
- नयाँ मापदण्ड अनुसार रोल्ड ओट्समा ओसको मात्रा बढीमा १२ प्रतिशत र प्रोटिन कम्तीमा १० प्रतिशत हुनुपर्ने छ।
- गुणस्तर मापदण्ड पालना नगर्ने उत्पादक वा विक्रेतालाई कानुन बमोजिम कारबाही गरिने छ।
८ माघ, काठमाडौं । सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ ले दिएको अधिकार प्रयोग गर्दै ‘रोल्ड ओट्स’ को नयाँ गुणस्तर मापदण्ड तोकेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै अबदेखि बजारमा उपलब्ध हुने रोल्ड ओट्स, चाँडो पाक्ने ओट्स र तयारी ओट्सका लागि विशेष मापदण्ड तोकेको हो ।
यो नयाँ व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएको मितिले ९१औं दिनदेखि देशभरि अनिवार्य लागु हुने कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार रोल्ड ओट्स भन्नाले स्वच्छ र सफा जैलाई दलेर, भुस हटाइ, बफ्याएर, रोलर वा अन्य उपयुक्त विधिबाट चेप्टो पारी वा भुटेर तयार पारिएको खाद्य पदार्थलाई बुझाउँछ ।
यसरी तयार पारिएको ओट्स मानव उपभोगका लागि पूर्णरूपमा सुरक्षित र निर्धारित प्राविधिक मापदण्ड भित्र हुनुपर्ने छ । नयाँ मापदण्ड अनुसार रोल्ड ओट्समा ओसको मात्रा बढीमा १२ प्रतिशत र प्रोटिनको मात्रा सुक्खा तौलका आधारमा कम्तीमा १० प्रतिशत हुनुपर्ने छ ।
त्यसैगरी क्रुड फाइबर मात्रा बढीमा २ प्रतिशत, कुल भष्म बढीमा २ प्रतिशत र स्वास्थ्यका लागि हानिकारक मानिने एफ्लाटक्सिन मात्रा प्रतिकिलो १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने सीमा तोकिएको छ ।
गुणस्तर मापदण्डले ओट्सको शुद्धतामा कडाइ गर्दै हानिकारक तत्त्वहरूको अधिकतम सीमा पनि निर्धारण गरेको छ । जसअनुसार अबदेखि रोल्ड ओट्समा ‘अल्कोहोलिक अम्लता’ ९० प्रतिशत अल्कोहलमा सल्फ्युरिक एसिडका आधारमा गणना गर्दा बढीमा ०.१८ प्रतिशतमात्र हुनुपर्ने छ ।
स्वास्थ्यका लागि हानिकारक मानिने ‘युरिक एसिड’ प्रतिकिलो १ सय मिलिग्राम र माइकोटक्सिन (कुल अफ्लाटक्सिन) १५ माइक्रोग्राम प्रतिकिलो भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ ।
गुणस्तर मापदण्डले ओट्सको स्वच्छतामा समेत विशेष कडाइ गरेको छ । अबदेखि ओट्समा कुनै पनि प्रकारको वाह्य रङ प्रयोग गर्न पाइने छैन र यसको स्वाद एवं बास्ना स्वाभाविक हुनुपर्ने छ ।
त्यस्तै उत्पादनमा ढुंगा, बालुवा, काँच, प्लास्टिक वा धातुका टुक्राजस्ता अजैविक पदार्थ र कपाल, भुस, चोकर, किरा वा मुसाको अंश जस्ता जैविक फोहोर पूर्णरूपमा निषेध गरिएको छ ।
मन्त्रालयले ओट्स उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ र भण्डारण गर्दा उच्चस्तरको स्वच्छता कायम गर्नुपर्ने निर्देशन समेत दिएको छ ।
प्याकेजिङ र लेबलिङका हकमा रोल्ड ओट्सलाई अनिवार्य सफा र सुक्खा ‘फुड ग्रेड’ सामग्रीमा सिलबन्द गर्नुपर्ने छ ।
प्याकेटको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले तोकेका सबै विवरण स्पष्ट खुलाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रद्वारा जारी सूचना अनुसार तोकिएको गुणस्तर र मापदण्ड पालना नगर्ने उत्पादक वा विक्रेतालाई प्रचलित कानुन बमोजिम कारबाही गरिने छ ।
प्रतिक्रिया 4