+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

अनामनगरको त्यो घर : विशेष महाधिवेशन तिलकलाई पनि फलिफाप

गगन थापालाई कांग्रेसको सभापति बनाउने योजना अनुसार अनामनगरका करिब सात महिना अघि नै एउटा कार्यालय खोलिएको थियो । त्यो कार्यालयमा बसेर बनाएका रणनीतिहरू सफल हुँदै थापा विशेष महाधिवेशनबाट सभापति नै बने । यो महाधिवेशनको फलिफाप उक्त कार्यालय रहेका घरबेटी तिलक रानाभाटलाई पनि भयो । उनी कांग्रेसको केन्द्रीय सदस्य मात्रे होइन, कास्की-१ को टिकट नै पाए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ १० गते १६:२०

१० माघ, पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापति बनेको ९ दिनपछि गगनकुमार थापा केन्द्रीय कार्यालय सानेपा पुगेर शुक्रबार पदभार ग्रहण गरे ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले उठाएको सुशासन, पार्टी रुपान्तरण, नेतृत्व हस्तान्तरणको एजेण्डालाई बोकेर पुराना पार्टीहरुमा ‘विद्रोह’को बिम्व गगन विशेष महाधिवेशनमार्फत आफू सभापतिमात्रै बनेनन्, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट यथास्थितिमै उभिएका सिंगो पंक्तिलाई असान्दर्भिक सावित गराइदिए ।

नेतृत्व हस्तान्तरण र रुपान्तरणका लागि विशेष महाधिवेशनको माग गरेका ५४ प्रतिशत प्रतिनिधिको जगमा त्योभन्दा धेरै समर्थन जुटाएर गगन नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

पुस २७ गतेदेखि सुरु भएको महाधिवेशन निस्तेज पार्न, रोक्नका लागि भएका सबै प्रयासहरुलाई समेत असफल पार्दै गगन नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको थियो ।

सभापति शेरबहादुर नेतृत्वका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले कांग्रेसलाई नै नयाँ जीवन दिएको जसमात्रै पाएनन्, निर्वाचन आयोगबाट वैधानिकतासमेत पाए । त्यतिमात्रै होइन, संस्थापन पक्षबाट विरोधमा उत्रिएकाहरुलाई पनि टिकट दिएर सहमतिमा ल्याएका छन् भने कांग्रेस एकतावद्ध भएको सन्देशसमेत दिएका छन् । यद्यपि संस्थापनले विशेष महाधिवेशनलाई अस्वीरकार गर्दै सर्वोच्चमा हालेको रिट विचाराधीन नै छ ।

गगन नेतृत्वले भने ६ गते भएको मनोनयनमा देउवा समूहलाईसमेत समेटेर टिकट बाँडेका छन् र आफू काठमाडौं–४ छाडेर सर्लाही क्षेत्र नम्बर ४ बाट उठ्न मनोनयन दर्ता गरिसकेका थिए ।

विशेष महाधिवेशनबाटै गगनलाई नै अबको प्रधानमन्त्रीका लागि अगाडि सार्ने सन्देश दिएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यालयमा गगनसहित पदाधिकारीको पदभार ग्रहण गरेसँगै स्पष्टसँग त्यही कुरा भनेको छ । गगनसहितले पदभार ग्रहण गर्दै विषेश महाधिवेशनबाट आएको नयाँ कार्यमितिको पहिलो बैठक केन्द्रीय कार्यालयमा भएको छ ।

विशेष महाधिवेशनलाई नै अस्वीकार गरेको संस्थापन पक्षलाई समेत मिलाएर गगन नेतृत्वको नयाँ कार्यसमितिले शुक्रबारबाट भने केन्द्रीय कार्यालयबाट बल्ल गतिविधि अगाडि बढाउन थालेको छ ।

योभन्दा अगाडि विशेष महाधिवेशन पक्षधरले कहाँबाट गतिविधि गरिरहेको थियो, कहाँ कार्यालय राखेको थियो र रणनीति बुनेको थियो त ? धेरैलाई चासोको विषयसमेत हुन सक्छ । विशेष महाधिवेशन पक्षधरले सम्पर्क कार्यालय बनाएको थियो, अनामनगरको एक आठ तले घरलाई ।

नेपाली कांग्रेसको विषेश महाधिवेशनको तयारी, भेटघाट तथा छलफल, कागजपत्र राख्ने र रणनीति बुन्ने थलोका रुपमा कार्यालय तिलक रानाभाटको घरको आठौं तलामा बनाइएको थियो ।

जहाँ पुगेर विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर गरेका थिए । त्यही कार्यालय नै सातै प्रदेशबाट जाने विषेश महाधिवेशन पक्षधरहरु भेट्ने र छलफल गर्ने थलोसमेत बनाइएको थियो ।

जुन घरमा कार्यालय राखेर गगनलाई सभापति बनाउने रणनीति बनाउन थालिएको थियो, त्यो घर कास्कीका कांग्रेसी नेता तिलकको हो । काठमाडौंमा व्यवसाय गरिरहेका तिलकको घरको आठौं तलामा गगनलाई सभापति बनाउन रणनीतिक रुपमा कार्यालय खोलिएको थियो ।

विषेश महाधिवेशन पक्षघरहरु जोडिने सोही घरबाट सुरु भएको अभियानले गगनलाई कांग्रेस सभापतिमात्रै बनाएन भने भावी प्रधानमन्त्रीको रुपमासमेत उभ्याएको छ । अर्को संयोग पनि कस्तो छ भने कार्यालय नै खडा गरेर जुन घरबाट अभियान सुरु भयो, गगन समूह त्यसमा सफलमात्रै भएन, घरधनी तिलकका निम्ति पनि फलिफाप हुन पुगेको छ ।

विषय महाधिवेशनबाट काठमाडौंमा व्यापार व्यवसाय गर्दै कांग्रेसको राजनीति गरेका कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ तारकाङका तिलकले पनि छलाङ मार्ने अवसर पाएका छन् । तिलक महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय सदस्य नै बने भने नेताहरुको तीव्र आकांक्षा मिलाउँदा मध्यमार्गी धारबाट तिलकले कास्की–१ को टिकट नै हात पारेर मनोनयन दर्ता गराएका छन् ।

गगनलाई सभापति बनाउन ७ महिना अगाडि नै खोलिएको थियो कार्यालय

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति नजिकिएसँगै सभापति को बन्ला भन्ने चर्चा र कसरत एक वर्षअगाडि सुरु भइसकेको थियो ।

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइराला र महामन्त्री जितेका गगन थापाले एउटै समूहबाट दाबी गरिरहेका थिए । त्यही क्रममा करिब ८ महिना अगाडि नै नेता गुरुराज घिमिरे, देवराज चालिसेहरुले अनामनगरमा कार्यालय नै खोलेर शेखरलाई सभापति बनाउने रणनीति बुन्न थालेका थिए ।

सम्पर्क कार्यालयकै रुपमा खडा गरेर शेखरलाई सभापति बनाउने अभियान चलिसकेको जानकारी पाएपछि गगनलाई सभापति बनाउने रणनीति स्वरुप कार्यालयको खोजि भएको थियो । मनोजमणि आचार्यको नेतृत्वमा डिल्लीराम सुवेदीसहित २५ जनाको समूहले कार्यालय खोजेर तयारी थालेको हो ।

खोज्दै जाँदा तिलकको घरमा ठाउँ पाइएपछि कार्यालय बनाएर छलफल, बहस र तयारीको रणनीति बुन्न थालिएको नेता डिल्लीरामको भनाइ छ । महामन्त्री थापाको सम्पर्क कार्यालय भने ज्ञानेश्वरमा थियो ।

गगनलाई सभापति बनाउने रणनीतिसहित तथ्यांक लिने, नीति, योजना तयार गर्ने र भेटघाट, विभिन्न छलफल कार्यक्रम, पुस्तक विमर्श सोही कार्यालयबाट भइरहेका थिए । भदौ २३ र २४ गते देशमा जेनजी आन्दोलन भयो ।

भ्रष्टाचार र नातावाद, कृपावादकाविरुद्ध छेडिएको आन्दोलनले जबर्जस्त रुपमा पुराना दलका नेताहरुमाथि धाबामात्रै बोलेन, पार्टीमा नेतृत्व हस्तान्तरण र रुपान्तरणको एजेण्डालाई पनि मूल माग बनायो ।

२३ र २४ गतेको घटनापछि महामन्त्री गगनले नै सबैभन्दा पहिला आफूहरुबाट पनि गल्ती भएको, सुधार्न नसकेको स्वीकार्दै नेतृत्व हस्तान्तरण र पार्टी रुपान्तरणको एजेण्डालाई कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत गरे । निवास ध्वस्त बनाउनुका साथै सभापति देउवामाथि भएको आक्रमणको निन्दासमेत गरे ।

सभापति देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै असोज २८ गते उपचारका लागि सिंगापुर उड्दा विषेश महाधिवेशनको पक्षमा धमाधम हस्ताक्षर सुरु भइसकेको थियो ।

त्यतिबेलादेखि नै गगनलाई सभापति बनाउन रणनीतिक रुपमा सबैभन्दा बढी यही कार्यालय प्रयोग गरिएको थियो ।

शेखरलाई सभापति बनाउने योजनासहित कार्यालय खोल्ने नेतृत्व लिएका नेता गुरु घिमिरे, देवराज चालिसेलगायत पनि विशेष महाधिवेशनकै पक्षमा उभिए । त्यसपछि विषेश होस् वा नियमित महाधिवेशन निर्वाचनभन्दा अगाडि नै हुनुपर्ने मागसहित यही सम्पर्क कार्यालयबाट तयारी गरिएको थियो ।

विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन ? चुनाव अघि गर्ने कि चुनाव पछि भन्ने विवाद, बहस र एकअर्कालाई कमजोर पार्ने खेललाई जित्दै अन्तत: गगन थापा विशेष महाधिवेशनमार्फत सभापति बन्न सफल भएका हुन् । अनामनगरको त्यही कार्यालयलाई नै प्रयोग गर्दै आएको गगन नेतृत्वको समितिले अब भने केन्द्रीय कार्यालय सानेपाबाटै गतिविधि थालेको हो ।

‘७/८ महिना अगाडि नै हाम्रा व्यावसायिक अफिसहरुसमेत रहेको अनामनगरको घरको आठौं तलामा गगन थापालाई सभापति बनाउने योजनासहित नै कार्यालय खुलेको हो । ७७ जिल्लाका प्रतिनिधिहरू भेटघाट हुने, छलफल र तयारी त्यहीँ हुन्थ्यो,’ घरधनीसमेत रहेका कांग्रेस नेता तिलकले भने, ‘पछि विषेश महाधिवेशनका लागि सम्पर्क कार्यालय नै त्यहीँ बनाइयो । म सानै उमेरदेखि कांग्रेसी अभियानमा जोडिएको हुँ । लगातार महाधिवेशन प्रतिनिधि छु । संयोग नै मान्नुपर्छ, यसपटक केन्द्रीय सदस्य र कास्की १ को उम्मेदवार बन्ने अवसर पनि मिल्यो ।’

डेढ सय जना जति अट्ने सभा हल र अन्य २ वटा कोठाहरु कार्यालयका रुपमा दिइएको उनले बताए ।

तिलकलाई टिकट

कास्कीका तिलक रानाभाटले क्षेत्र नम्बर १ मा टिकट ल्याउलान् भन्ने कमैले मात्र अनुमान गरेका थिए । यो विशेष महाधिवेशन उनका निम्ति यस्तो फलिफाप बन्यो, एकै पटक केन्द्रीय सदस्य र कास्की क्षेत्र नम्बर १ को टिकट पाउन सफल भए ।

कास्की–१ मा टिकटका आकांक्षीहरूमध्ये टिकट दिँदा एकले अर्कालाई असहयोग गर्ने भन्दै टिकट तिलकको पोल्टमा आइपुग्यो । नेतृत्वले मध्यमार्गी बाटो रोजेर तिलकलाई टिकट दिएको नेताहरुले बताइरहेका छन् ।

कतिपय जसको घरमा विशेष महाधिवेशन पक्षधरको कार्यालय थियो, त्यही घरधनीलाई टिकट दिएको भन्दै आलोचनासमेत गरिरहेका छन् । तर, त्यो संयोगमात्रै भएको र वस्तवमा अन्तिमम रस्साकस्सीका बीचको मान्छे रोज्दा तिलकले टिकट पाएको नेताहरूको भनाइ छ ।

कास्कीबाट केन्द्रीय सदस्य हुँदै क्षेत्र नम्बर १ को टिकट ल्याएर मनोनयन दर्तासमेत गरेर चुनावी अभियानमा निस्किएका तिलक को हुन् त ? धेरैले चासो राखिरहेका छन् ।

कास्की मादी गाउँपालिका तारकाङका तिलक २०५० सालतिर पोखरामा वकालत पेशा गर्दा गर्दै थप अध्ययनका लागि भन्दै काठमाडौं छिरेका हुन् ।

पोखरा पृथ्वीनारायण क्याम्पसबाट बीएल गरेका तिलकले पोखरामा केही समय वकालतसमेत गरेका थिए भने काठमाडौं पुगेर पुनरावेदन अदालत पाटनमा अस्थायी जागिरसमेत खाएका थिए ।

जागिर छाडेर व्यवसाय र कांग्रेसको राजनीति पनि सँगै गर्न थालेका तिलक २०४८ सालमा तारानाथ रानाभाटलाई जिताउने अभियान चलाएका थिए । काठमाडौं गएपछि कांग्रेसका विषेश कार्यक्रम र चुनावमा आउने तिलक अहिले विभिन्न पेशा व्यवसायमा छन् ।

उनी मेनपावर व्यवसायी हुन् । होटल, गार्मेन्ट, इन्भेस्टमेन्ट कम्पनी, शेयर कारोबार हुँदै वित्तीय क्षेत्रमा पनि लगानी गरेका छन् । नुर अपरच्युनिटी मेनपावरका मालिक तिलक नेप्को गार्मेन्ट प्रालिका सञ्चालकसमेत हुन् ।

नेट म्याक्सको पूर्व सञ्चालक थिए भने कोहीनुर इन्भेस्मेन्ट कम्पनीमार्फत पनि उनले लगानी गरिरहेका छन् । अहिले उनी क्यापिटल मर्चेन्ट फाइनान्सको अध्यक्ष छन् । कांग्रेसनिकट वैदेसिक रोजगार व्यवसायी एसोसिएसनको संस्थापक अध्यक्षसमेत रहेका तिलक २०७० सालमा समानुपातिक तर्फको बन्दसूचीमा परेका थिए । २०७४ सालमा प्रदेशतर्फ आकांक्षा राखे पनि उनले जीवन परियारलाई समर्थन गरेको उनी बताउँछन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?