११ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् ।
विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलन अघिदेखि पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफूले काम गरेको बताए ।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’को अभियानमा लागेको बताए । कोइरालाले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याइँ गरिनँ ।’
जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।’
युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससंगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’
प्रतिक्रिया 4