११ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले साविक राप्ती अञ्चलका जिल्लाहरूमा एमालेलाई समर्थन गर्ने भएको छ । प्रलोपालाई भने एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा सघाउने छ ।
यो तालमेल सम्बन्धी सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोवले हस्ताक्षर गरेका छन् ।
प्रलोपाबाट रुकुम पश्चिममा जनार्दन शर्मा प्रभाकर र रुकुम पूर्वमा सन्दीप पुन उम्मेदवार छन् ।
उनीहरूलाई एमालेले साथ दिएबापत् प्रलोपाले साविक राप्ती अञ्चलका जिल्लाहरू दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान लगायतका जिल्लाहरूमा एमाले उम्मेदवारलाई साथ दिने छ ।
दाङ क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार छन् ।
प्युठानमा एमाले उम्मेदवार सूर्य थापा, रोल्पामा गोकुल घर्ती र सल्यानमा एमाले उम्मेदवार गुलाबजंग शाह छन् ।
रुकुम पूर्वमा एमाले उम्मेदवार लिलामणि गौतम भए पनि उनले अब प्रलोपाका उम्मेदवार सन्दिप पुनलाई सघाउने छन् ।
रुकुम पश्चिममा नन्दराम देवकोटा एमाले उम्मेदवार थिए । केन्द्रमा भएको सहमति अनुसार उनले अब प्रलोपाका नेता शर्मालाई सघाउने छन् ।
सल्यानमा प्रलोपाबाट उम्मेदवारी दिएका सन्तोषकुमार राईले एमाले उम्मेदवार शाहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
प्रतिक्रिया 4