+

‘चेस पजल सल्भिङ कन्टेस्ट’ मा २१ जनाको प्रतिस्पर्धा

२०८२ माघ  ११ गते १८:२२ २०८२ माघ ११ गते १८:२२
‘चेस पजल सल्भिङ कन्टेस्ट’ मा २१ जनाको प्रतिस्पर्धा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशमै पहिलोपल्ट काठमाडौंमा हिमालयन चेस एकेडेमीद्वारा 'चेस पजल सल्भिङ कन्टेस्ट' आयोजना गरिएको छ।
  • प्रतियोगितामा ६ महिला र १५ पुरुष गरी २१ खेलाडीले दुई क्याटगोरीमा प्रतिस्पर्धा गरेका थिए।
  • प्रतियोगिताको नतिजा डब्लुएफसीसीले जाँच गरी यही हप्ता सार्वजनिक गर्नेछ र उत्कृष्ट खेलाडीले वल्र्ड च्याम्पियनसिपमा सहभागी हुनेछन्।

११ माघ, काठमाडौं । देशमै पहिलोपल्ट आयोजित ‘चेस पजल सल्भिङ कन्टेस्ट’ आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।

एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन ।

कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घन्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सल्भ गर्न दिइएको थियो ।

क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागी भएका हुन् । क्याटगोरी २ का पजल सल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् ।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिबृद्धि हुने गर्दछ ।

डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रुपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौंमा पजल सल्भिङ कन्टेस्ट आयोजना गरेको हो ।

आईएससीको २२ औं संस्करणमा २७ देशका काठमाडौंसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन् । हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् ।

चेस पजल सल्भिङ कन्टेस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय