+
+
Shares

चार्टर फ्लाइटलाई रेस्क्यु बनाएर बीमा ठगी, ३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार

विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ-ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ माघ ११ गते २०:४८
Photo Credit : आर्यन धिमाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार्टर फ्लाइटलाई रेस्क्यु देखाएर बीमाको रकम ठगी गर्ने फेक रेस्क्यु प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ।
  • तीन कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार भएको पाइएको छ र बीमा वापत १९.६९ मिलियन डलर रकम ठगी भएको छ।
  • फेक रेस्क्युमा संलग्नहरूलाई मुलुकी अपराध संहिताको विभिन्न दफामा अनुसन्धान भइरहेको र यसले नेपालको अन्तर्राष्ट्रिय छविमा असर पार्ने बताइएको छ।

११ माघ, काठमाडौं । चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा बीमाको रकम हत्याउन चार्टर फ्लाइटलाई रेस्क्यु देखाइएको प्रमाण फेला परेको हो ।

सीआईबीले लाजिम्पाटस्थित कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । सीआईबीका प्रमुख तथा निर्देशक (अतिरिक्त प्रहरी महानिरीक्षक, एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई रेस्क्यु देखाएको भेटिएको बताए ।

‘चार्टर फ्लाइटलाई समेत रेस्क्यु देखाएर बीमाको रकम लिएको देखिन्छ । यो रेस्क्यु नभएर फेक रेस्क्यु (नक्कली उद्धार) हो,’ एआईजी केसीले भने ।

यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेकोसमेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको एआईजी केसी बताउँछन् ।

कतिसम्म भने, एउटै चार्टर फ्लाइटमा आएका धेरै जना पर्यटकलाई समेत छुट्टाछुट्टै र फरकफरक समयमा रेस्क्यु गरेको भन्दै (सिंगल फ्लाइट, मल्टिपल बिलिङ) दाबी गर्ने गरेको समेत अनुसन्धानमा देखिएको एक अधिकारी बताउँछन् ।

पदयात्रा सकिएपछि सोही रुट हुँदै फर्कने पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमा काठमाडौं पुर्‍याउने गरेको भेटिएको छ ।

पछिल्लो पटक १ पुस २०८१ मा समेत पर्यटकको नक्कली उद्धारको कारबाही गरिपाउँ भन्दै सीआईबीमा उजुरी आएको थियो । यो भन्दा अघि १२ असोज २०८२ मा पनि यस्तै उजुरी आएको थियो ।

यही पुसमा पनि गृह मन्त्रालयले फेक रेस्क्युको उद्धार गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।

विदेशी पर्यटकहरूलाई लक्षित गरी केही ट्रेकिङ-ट्राभल्स कम्पनी, हेली रेस्क्यु कम्पनी, अस्पतालहरू र पर्यटक गाइडको अवैध मिलेमतोमा नक्कली उद्धार हुने गरेको सीआईबीको भनाइ छ ।

सीआईबीले सन् २०२२ देखि यता भएको फेक रेस्क्युमा संलग्नहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

६ जना पक्राउ

पछिल्लो साढे दुई महिनादेखि छुट्टै कार्यदल बनाएर सीआईबीले फेक रेस्क्युबारे अनुसन्धान गरेको थियो । बिदाको दिनसमेत अनुसन्धान गर्दै साढे दुई महिनापछि यसबारे सीआईबीले जानकारी गराएको हो ।

सीआईबीका अनुसार फेक रेस्क्यु गरेर बीमाको रकम हत्याउने कार्यमा संलग्न भएको आरोपमा अहिले ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवकेराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् ।

३ कम्पनीबाट ३१७ पर्यटकको नक्कली उद्धार

पक्राउ परेका ६ जना तीन कम्पनीमा आबद्ध व्यक्तिहरू हुन् । यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ ।

माउन्टेन रेस्क्यु कम्पनीले सन् २०२२ देखि यता २०२५ सम्म १ हजार २४८ पर्यटकको उद्धार गरेको थियो । ती उद्धारमध्ये १७१ पर्यटकको उद्धार नक्कली देखिएको सीआईबीका अनुसन्धान अधिकृत बताउँछन् ।

‘यो प्रारम्भिक अनुसन्धानको विवरण हो । थप बढ्न सक्ने सम्भावना पनि छ,’ ती अधिकृत भन्छन् । १७१ जनाको नक्कली उद्धार गरेर बीमा वापतको १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर यो कम्पनीले लगेको देखिएको छ ।

त्यसैगरी नेपाल चार्टरले ४१७ जनाको उद्धार गरेको छ । जसमध्ये ७५ जनाको उद्धार भने नक्कली देखिएको छ । त्यसवापत बीमाको ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर बुझेको देखिएको छ ।

एभरेस्टले भने ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ ।

अहिलेसम्मको अनुसन्धानबाट यी तीन कम्पनीले नक्कली उद्धारमार्फत बीमा वापतको १९.६९ मिलियन डलर बुझेको सीआईबीको दाबी छ ।

बीमा कम्पनीले रोके प्रिमियम

नक्कली उद्धार बढेपछि पर्यटकको बीमा गर्ने कम्पनीहरूले प्रिमियमसमेत रोक्न थालेको सीआईबीका अधिकारीहरूको भनाइ छ । अहिले पनि नक्कली उद्धार भएको भन्दै बीमा कम्पनीहरूले सीआईबीमा जानकारी गराएका छन् ।

जसमध्ये अहिले तीन वटा कम्पनीले बीमाको प्रिमियम नै रोकेको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् । ‘नक्कली उद्धार बढेपछि बीमा कम्पनी घाटामा हुने भए । जसका कारण अहिले तीन कम्पनीले त बीमाको प्रिमियम नै रोकेका छन्,’ ती अधिकृत भन्छन् ।

धेरै रेस्क्यु गरेको भन्दै बीमा कम्पनीमा रकम दाबी गरेको भेटिएको छ । तीमध्ये केही बीमा दाबी भने बीमा कम्पनीले फिर्ता गरेकोसमेत भेटिएको छ ।

के हुन्छ सजाय ?

सीआईबीले पहिलो चरणा नक्कली उद्धारमा प्रत्यक्ष संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ । उनीहरूमाथि संगठित अपराधदेखि किर्ते, राज्यविरुद्धको कसुरलगायतमा अनुसन्धान अघि बढाइएको सीआईबीको भनाइ छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा ५१ को राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जहाँ कसैले पनि राष्ट्र हित प्रतिकूल हुने कुनै काम गर्न नहुने उल्लेख छ । त्यसैगरी दफा २४९ अनुसारको ठगीमा पनि अनुसन्धान हुने सीआईबीको भनाइ छ ।

यसका साथै दफा २५३ को आपराधिक लाभ लिन नहुने कसुर, दफा २७६ को लिखतसम्बन्धी कसुरमा अनुसन्धान हुनेछ ।

लिखत किर्तेमा रिपोर्ट र हेलिकप्टरको बिल बनाउने, ठगीमा बीमा कम्पनीलाई नक्कली बिल पेस गर्ने, राज्यविरुद्धको कसुरमा भने पर्यटकलाई लेक लाग्ने डर देखाई नक्कली उद्धार गरी बीमा दाबी गर्दै अन्तर्राष्ट्रिय छबी नै धुमल्याएको बताइएको छ ।

संगठित कसुर पनि आकर्षित हुने भन्दै यसलाई ट्रेकिङ ऐजेन्सी, अस्पताल, हेलिकप्टर कम्पनीहरूको मिलेमतोको रूपमा लिइएको छ । पक्राउ परेकाहरूविरुद्ध सम्पत्ति सुद्धीकरणको कसुर पनि आकर्षित हुन्छ ।

कसरी हुन्छ फेक रेस्क्यु ?

नेपालका आउने पर्यटकहरूले इन्सुरेन्स (बीमा) गर्ने गर्छन् । उच्च हिमाली क्षेत्रमा जाने भएपछि उनीहरूले बीमा गर्छन् । यसरी हिमाली क्षेत्रमा जाने पर्यटकको बीमा पोलिसीबारे सुरुमा ट्राभल एजेन्सीहरूले जानकारी लिने काम गर्छन् । यसको बीमा पोलिसी यकिन भएपछि बल्ल नक्कली उद्धारको प्लट रच्न सुरु हुने बताइन्छ ।

उच्च हिमाली क्षेत्रमा पुगेपछि देखिने सामान्य लक्षणलाई समेत पर्यटन गाइडले बढाइचढाइ गरी पर्यटकलाई अत्याउने काम गर्ने र त्यसपछि हेलिकप्टर माग गर्न लगाई नक्कली उद्धार गर्ने गरेको पाइएको सीआईबीले बताएको छ ।

सामान्य उचाइबाट केही तल झर्ना साथै आफैं ठिक हुने अवस्थालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि अस्पताल पठाउने प्रवृत्ति देखिएको छ । त्यसका लागि पनि आफू अनकूलको निश्चित अस्पताल पठाउने गरिएको सीआईबीका एआईजी केसी बताउँछन् ।

त्यसपछि रेस्क्यु कम्पनी र अस्पतालले फरकफरक वा एकमुस्ट रकम इन्स्योरेन्स कम्पनीसँग माग गर्ने गरेको पाइएको छ ।

पुराना फेक रेस्क्युको प्रमाण भेट्न मुस्किल

सीआईबीले अहिले सन् २०२२ देखि यता भएका फेक रेस्क्युको अनुसन्धान गरेर ६ जनालाई पक्राउ गरेको हो । तर यसभन्दा अघि पनि फेक रेस्क्यु हुने गरेको भन्दै सीआईबीमा उजुरी परेको थियो । सन् २०१८ तिरै उजुरी परे पनि त्यतिबेलाका फेक रेस्क्युको प्रमाण भने भेट्न गाह्रो रहेको सीआईबीले बताएको छ ।

२०७४ को भदौमा ट्राभलर असिस्टले करिब ३५ प्रतिशत नक्कली उद्धार रहेको बताएको थियो । २०७४ को फागुनमै पदयात्रीको खानामा मिसावट गरी कृत्रिम बिरामी बनाउने र हेलिकप्टरमार्फत रेस्क्यु लिई कमिसन खाने गरेको विषय बाहिर आएको थियो ।

त्यसपछि २०७५ असारमा पर्यटन मन्त्रालयको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा फेक रेस्क्युबारे थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गर्ने भनिएको थियो । फेक रेस्क्यु देखिएको भन्दै ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ समेत लागु‍ भएको थियो । तर त्यतिबेलाका यी घटनाहरूको प्रमाण अहिले नहुँदा अनुसन्धानमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तो फेक रेस्क्युले नेपालको अन्तर्राष्ट्रिय स्तरमा छवी, प्रतिष्ठा र स्वाभिमानमा समेत असर पर्ने बताइएको छ । पर्यटकका लागि ‘नो गो डेस्टिनेसन’ बन्न सक्ने जोखिम देखिएको सीआईबीले औंल्याएको छ ।

फेक रेस्क्युले वास्तविक उद्धारको पखाइमा बसेका पर्यटकको ज्यानसमेत जान सक्ने देखिएको सीआईबीको भनाइ छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?