News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन्।
- उनले मन्त्रीहरूले अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको आरोप लगाउँदै निर्वाचनमा निष्पक्षता प्रति शंका व्यक्त गरेका छन्।
- श्रेष्ठले मन्त्रीहरूले पदबाट हटेर चुनाव लड्न हिँड्नुले नैतिक प्रश्न उठेको र यसको जवाफ जनताले चुनावी मैदानमा दिने बताए।
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनितिक दलहरूको चाहाना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए ।
निर्वाचनको जिम्मेवारी बोकेका मन्त्रीहरूले भने अन्तिम समयमा जिम्मेवारी छाडेर भागेको उनको आरोप थियो ।
‘अब यो निर्वाचनमा होमिँदैगर्दा म एउटा गम्भिर नैतिक प्रश्न पनि बोकेर यहाँ उभिएको छु, निर्वाचन गर्न जिम्मेवारी बोकेका मन्त्रिमण्डलका मन्त्री महोदयहरू मैदान छाडेर भाग्नुभयो । अन्तिम कालमा मैदान छाडेर भाग्नुभएको छ । विस्तारै पर्दा खोलिँदैछ, हिजोको आन्दोलनको र अबको दिनका पर्दाहरू अझ भोलि खोलिँदै जालान्,’ उनले भने, ‘मन्त्रीहरू आ–आफ्नो पार्टी र ओडार खोज्दै निर्वाचनमा हिँडिसक्नु भएको छ । यसबाट के बुझिन्छ ? हिजो मन्त्री पदमा बस्ने, शपथ खाने, निर्वाचन गर्ने अभिभारा बोक्ने, तर निर्वाचन हुनुभन्दा पहिला नै त्यहाँबाट भाग्ने ? अब कस्तो निष्पक्ष चुनाव गराउने ? हामी अनुमान गरौँ । मन्त्री पदमा बस्दा दिएका उहाँहरूका सत्ता शक्ति गाडी घोडा त्यसको दुरुपयोग गरेर आफू चुनाव लड्ने क्षेत्रमा प्रयोग भयो की भएन होला ? अनि त्यसबाट निष्पक्ष चुनाव होला ? हामीले शंका गर्ने ठाउँ रहन्छ ।’
मन्त्रीहरू नै पदबाट हटेर चुनाव लड्न हिँड्नुले निष्पक्ष चुनाव हुनेमा शंका पैदा भएको पनि उनको भनाइ थियो ।
‘राजीनामा दिएर चुनाव लड्न पाउने उहाँहरूको अधिकार हो तर नैतिक प्रश्न आज उठेको छ । यो नैतिक प्रश्नको जवाफ जनताले चुनावी मैदानमा दिने नै छन्,’ उनले भने ।
प्रतिक्रिया 4