+
+
Shares

देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो : सांसद भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १५:५६

१३ माघ, काठमाडौं । नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको संगठित अपराध र सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले हाल नेपाल ‘ग्रे लिस्ट’ मा रहेको अवस्थामा यस्ता संवेदनशील मुद्दा कमजोर पार्ने कार्यले देशलाई ‘ब्ल्याक लिस्ट’तर्फ लैजाने खतरा बढेको बताए ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा राज्य संयन्त्र नै लागेर अपराधलाई प्रोत्साहन गर्ने हो भने अब देश ब्ल्याक लिस्टमा जानबाट कसले रोक्नसक्छ ? भन्ने उनको प्रश्न थियो ।

‘अहिले देश ग्रे लिस्टमा छ । संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दालाई कमजोर बनाउन राज्य संयन्त्र नै लागेर अपराधहरूलाई प्रोत्साहन गर्ने हो भने अब ब्ल्याक लिस्टमा जान कसैले रोक्नसक्छ ? अब त देश ब्ल्याक लिस्टतिर जाने खतरा बढ्यो,’ उनले भने ।

नेपालले सम्पत्ति शुद्धीकरण नियन्त्रणसम्बन्धी कानुन निर्माण र कार्यान्वयनका लागि विभिन्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको उनले उल्लेख गरे ।

‘कानुन निर्माण गरेर सम्पत्ति शुद्धीकरण गर भन्ने अन्तर्राष्ट्रिय समुदायको आग्रहमा हामीले हस्ताक्षर गरेका छौँ । यसले के देखाउँछ भने अझै देशलाई खाल्टोतिर लैजाने, विदेशी शक्तिहरूले चलखेल गर्ने सम्भावना बढ्दै गएको छ,’ उनले शंका गरे m।

महान्यायाधिवक्ताको कार्यालयले विभिन्न सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका रास्वपा सभापति लामिछानेमाथि लगाइएका ‘संगठित अपराध’ र ‘सम्पती शुद्धीकरण’ सम्बन्धी मुद्दा परिमार्जन गरी फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?