News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले १४ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन्।
- राईले गाँजा खेती वैधानिक गर्ने, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिने बताए।
- धरान–लेउती सुरुङमार्ग निर्माण, शिक्षण अस्पताल स्थापना, नमुना सहर निर्माण र खेलग्राम विकास गर्ने प्रतिवद्धता जनाएका छन्।
१४ माघ, धनकुटा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी पूर्वमन्त्रीसमेत रहेका राईले १४ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले जिल्लाको समग्र विकासका लागि ठोस र दीर्घकालीन योजनासहित गाँजा वैधानिकसहितका प्रतिवद्धता सार्वजनिक गरे । पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै धनकुटाको आर्थिक–सामाजिक रूपान्तरण गर्ने राईको प्रतिवद्धता छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक पत्रमा राईले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाइ गर्ने उल्लेख गरेका छन् ।
यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने पनि बताएका छन् ।
चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना सहर निर्माण गर्ने, चिया, एभोकाडो, सुन्तला, किवी, कफी, ड्रागन फल व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरण गरी कृषि बजार केन्द्र सञ्चालन गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै जेनजीहरुलाई आधुनिक प्रविधिमार्फत नवप्रवर्द्धनात्मक सिकाइ र आय आर्जनमा केन्द्रित गराउने, धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक तल्लो टुडिखेललाई आधुनिक रंगशालामा परिणत गरिने उल्लेख छ ।
राईले प्रादेशिक निर्वाचन क्षेत्रमा एक-एक वटा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गर्ने, खुवालुङ–लालीगुराँस पदमार्गको रुपमा त्रिवेणीदेखि पाताल, थलथले, हिले, सिधुवाँ, पटेकडाँडा, चित्रे, हुँदै तीनजुरेसम्म विकास गरिने तथा बराहक्षेत्र मिक्लाजुङ साँस्कृतिक याक्थुङ पदमार्गको रुपमा बराहक्षेत्रदेखि चाँदीबजार, साँगुरीभन्ज्याङ, भेडेटार, ध्वजेडाँडा, राजारानी, जेफाले हुँदै मिक्लाजुङसम्म विकास गरिने बताइएको छ ।
यता धनकुटामा छिन्ताङदेवी, धर्मदेवी, मधुगंगा धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, राजारानी ताल र संसारीमाई सिमसार पाख्रीवास, नमस्ते झरना, लेगुवा झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र कृषि उत्पादनको लागि किसानलाई अनुदान र सरल व्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने राईले बताए ।
उनले नमस्ते झरनादेखि नाम्जेसम्म केबलकार निर्माण, आधुनिक कोल्डस्टोर निर्माण र आफू दुई पटक सांसद र मन्त्री बनेका बेला सुरु गरेका तर, अधुरो भएका सम्पूर्ण विकास परियोजनाहरुलाई सम्पन्न गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै राईले मुख्य-मुख्य विकास योजना र कार्यक्रमहरु मात्रै समिटिएको बताउँदै पार्टीको जिल्ला र पालिकास्तरको प्रतिवद्धता पत्रमा सबै कुरा समावेश गरिने जानकारी दिए ।
प्रतिक्रिया 4