+

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा भुवनलाई फराकिलो अग्रता

२०८२ माघ  १४ गते १८:०५ २०८२ माघ १४ गते १८:०५
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा भुवनलाई फराकिलो अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगितामा भुवन नगरकोटीले दोस्रो दिन ७-अन्डर १३७ स्कोरसहित फराकिलो अग्रता बनाएका छन्।
  • टंक बहादुर कार्की र भुवन कुमार रोक्काले १-अन्डर १४३ स्कोर बनाएर संयुक्त दोस्रो स्थानमा रहेका छन्।
  • प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी ३६ खेलाडी सहभागी छन् र कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।

१४ माघ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा भुवन नगरकोटी फराकिलो अग्रता सहित उपाधि जित्ने सम्भावनालाई मजबुत बनाउन सफल भएका छन्।

बुधबार पार-७२को मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले बोगी रहित २-अन्डर ७० स्कोर गर्दै ३६ होल सकिँदा समग्रमा ७-अन्डर १३७ को स्कोर बनाएका छन्।

उनले दोस्रो स्थानमा संयुक्त रूपमा रहेका टंक बहादुर कार्की र भुवन कुमार रोक्कालाई ६ स्ट्रोकले पछि पारे। टंक र भुवनले समग्रमा १-अन्डर १४३ स्कोर बनाए। दोस्रो राउन्डमा टंकले १-अन्डर ७१ खेले भने भुवन रोक्काले २-ओभर ७४ स्कोर गरे।

सुमन परियार २-अन्डर ७० सहित इभन-पार १४४ स्कोरका साथ चौथो स्थानमा छन्। कुल १-ओभर १४५ सहित नेपालका नम्बर एक प्रो निरज तामाङ (७२), सुमन राई (७४) र धनबहादुर थापा (७४) संयुक्त पाँचौं स्थानमा छन्। सञ्जय लामा १-अन्डर ७१ खेल्दै कुल २-ओभर १४६ सहित आठौं स्थानमा उक्लिएका छन्।

जयराम श्रेष्ठ र दिनेश प्रजापतिले ३-ओभर १४७ सहित संयुक्त रूपमा नवौं स्थान बाँडे। जयरामले दिनकै उत्कृष्ट ३-अन्डर ६९ कार्ड बनाए भने दिनेशले २-ओभर ७४ खेले।

८-ओभर १५२ को स्कोरमा कट लागु भयो। जसमा १८ प्रो र दुई एमेच्योर अन्तिम राउन्डमा प्रवेश गरेका छन्। प्रोतर्फ कुमार कामी, रवि खड्का, रमेश अधिकारी, प्रदीप कुमार लामा, सूर्य प्रसाद शर्मा, बलभद्र राई, सबिन सापकोटा र दीपक मगरले कट पार गरे।

एमेच्योर तर्फ प्रकृत तामाङ ३-ओभर १४७ सहित शीर्ष स्थानमा छन्। उनी समग्रमा संयुक्त नवौं स्थानमा छन्। प्रकृत ५-ओभर १४९ स्कोरका साथ दोस्रो स्थानमा रहेका सुन्दर राई भन्दा दुई स्ट्रोकको अगाडी छन्। सुन्दरले दोस्रो राउन्डमा २-ओभर ७४ खेले।

शीर्षस्थानमा रहेका भुवनले चौथो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। त्यसपछि ब्याक नाइनका सबै नौ होलमा पार सेभ गर्दै इभन-पार ३६ खेले। मंगलबार भुवनले मिथिला नगरी आर्मी गल्फ क्लबमा आयोजित सूर्य नेपाल गल्फ टुर अन्तर्गतको पहिलो प्रतियोगितामा ५-अन्डर ६७ स्कोर गर्दै कोर्स रेकर्ड बनाएका थिए।

टंकले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन इभन-पार ३६ खेलेर संयुक्त दोस्रो स्थानमा उक्लिए। उनले पहिलो र नवौं होलमा बर्डी र छैटौं होलमा बोगी खेले। ब्याक नाइनमा भने १५औं र १६औं होलमा बोगी खेपेका टंकले ११औं र १८औं होलमा एक-एक स्ट्रोक बचाए।

भुवनकुमार रोक्काले दोस्रो र सातौं होलमा बोगी खेलेपछि आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। यसपछि उनले १५औं र १७औं होलमा स्ट्रोक गुमाउँदा १६औं होलमा बर्डी खेले। ब्याक नाइनमा पनि उनले १-ओभर ३७ खेले।

सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको यस प्रतियोगितामा ३० प्रो र ६ एमेच्योर गरी कुल ३६ गल्फर सहभागी छन्।

प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

शीर्ष १८ स्थानमा रहने खेलाडीले नगद पुरस्कार पाउनेछन्।

भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय