+

बंगलादेश र नेदरल्यान्ड्स महिला टी-२० विश्वकपमा छनोट

२०८२ माघ  १४ गते १७:५९ २०८२ माघ १४ गते १७:५९
बंगलादेश र नेदरल्यान्ड्स महिला टी-२० विश्वकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश र नेदरल्यान्ड्सले सुपर सिक्सको खेलमा जित निकाल्दै आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।
  • नेदरल्यान्ड्स पहिलोपटक महिला टी-२० विश्वकपमा छनोट भएको हो ।
  • स्कटल्यान्डले आयरल्यान्डमाथि ३९ रनले जित हासिल गरी छनोटको सम्भावना बलियो बनाएको छ ।

१४ माघ, काठमाडौं । बंगलादेश र नेदरल्यान्ड्स आईसीसी महिला टी-२० विश्वकप २०२६ का लागि छनोट भएका छन् ।

काठमाडौंमा भइरहेको ग्लोबल छनोटअन्तर्गत बुधबार सुपर सिक्सको खेलमा दुवै टोलीले जित निकाल्दै इंग्ल्यान्ड र वेल्समा हुने प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।

मुलपानी क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले थाइल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । बंगलादेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

समूह चरणबाटै ४ अंक लिएर आएको बंगलादेशले आजको जितपछि थप २ अंक जोडेर ६ अंक पुर्‍याएको छ ।

आज दिउँसो त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि डिएल पद्धतिअनुसार २१ रनको जित हासिल गर्‍यो । अमेरिकाले दिएको १३० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेट गुमाएर ९० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

उक्त समयमा डीएल पद्धतिअनुसार नेदरल्यान्ड्स २१ रनले अगाडि थियो । नेदरल्यान्ड्सले पनि समूह चरणबाटै ४ अंक जोडेर आएको थियो । आजको जितपछि ६ अंक भएको नेदरल्यान्ड्स पनि बंगलादेशसँग विश्वकपमा छनोट भएको हो । नेदरल्यान्ड्स पहिलोपटक महिला टी-२० विश्वकपका लागि छनोट भएको हो ।

आजै विहान भएको अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डमाथि ३९ रनको जित हासिल गर्दै छनोटको सम्भावना बलियो बनाएको छ । स्कटल्यान्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १९.२ ओभरमा १२१ रनमा अलआउट भयो ।

स्कटल्यान्डले पनि समूह चरणबाट २ अंक लिएर आएको थियो । आजको जितपछि ४ अंक भएको छ ।

सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा छनोट हुने प्रावधान छ । अब बाँकी चार टोलीबाट २ टोली अगाडि बढ्नेछन् ।

आयरल्यान्डले पनि समूह चरणबाट २ अंक लिएर आएको छ भने थाइल्यान्ड र अमेरिका अंकविहीन रहेका छन् ।

महिला टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय