+

१४औं दक्षिण एसियाली खेलकुद २०२७ मार्चमा

२०८२ माघ  १४ गते १७:०३ २०८२ माघ १४ गते १७:०३
१४औं दक्षिण एसियाली खेलकुद २०२७ मार्चमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओलम्पिक काउन्सिल अफ एसियाको बैठकले १४औं दक्षिण एसियाली खेलकुद सन् २०२७ मार्चमा आयोजना हुने निर्णय गरेको छ।
  • बैठकले आवश्यक परेमा सागको मिति एक हप्तासम्म परिवर्तन गर्न सकिने निर्णय गरेको छ।
  • पाकिस्तानले सन् २०२६ मे महिनामा १४औं साग तयारी समीक्षा गर्न सदस्य राष्ट्रहरूलाई भ्रमणका लागि निमन्त्रणा दिएको छ।

१४ माघ, काठमाडौं । बारम्बार सर्दै आएको १४औं दक्षिण एसियाली खेलकुद (साग) को फेरि नयाँ मिति तोकिएको छ । नयाँ मिति अनुसार १४औं साग अब सन् २०२७ मार्चमा आयोजना हुने निर्णय गरिएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ४६औं महासभाको अवसरमा उजबेकिस्तानको तास्कन्दमा दक्षिण एसियाली देशहरूका राष्ट्रिय ओलम्पिक कमिटीहरूको साइडलाइन बैठकबाट नयाँ मिति तय गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) प्रेस रिलिज मार्फत जानकारी दिएको छ ।

दक्षिण एसियाका लागि ओसिएको उपाध्यक्ष प्रिन्स जिग्येल उगेन वाङचुकको अध्यक्षतामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका एनओसी प्रतिनिधिहरूको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकबाट १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् २०२७ मार्च २३ देखि ३१ सम्म आयोजना गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको हो ।

बैठकले आवश्यक परेमा एक हप्तासम्मको समय परिवर्तन गर्न सकिने समेत निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यसअघि तय गरिएका खेलकुदका इभेन्टहरू भने यथावत राख्नेमा सदस्य राष्ट्रहरु सहमत भएका छन् ।

१४औं सागमा भारतको सहभागिता भने भारत सरकारको स्वीकृतिमा निर्भर रहनेपाकिस्तान ओलम्पिक काउन्सिलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्ला वर्षहरूमा भारत–पाकिस्तानबीच जारी राजनीतिक तनावका कारण भारतले पाकिस्तानमा खेलमा सहभागिता जनाएको छैन ।

सन् २०१९ मा नेपालमा १३औं साग आयोजनाको समापनको अवसरमा पाकिस्तानलले १४औं साग आयोजना गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो । सुरुमा १४औं साग सन् २०२३ मार्चमै आयोजना हुने तय थियो । तर तोकिएको समयमा आयोजना हुन नसकेपछि १४औं सागको मिति पनि सर्दै आएको छ ।

सन् २०२३ मा आयोजना हुन नसकेपछि २०२४ मार्चमा गर्ने भनिएको थियो त्यो बेला पनि १४औं साग आयोजना हुन सकेन ।

पछिल्लो पटक १४औं साग सन् २०२६ जनवरीमा आयोजना गर्ने निर्णय गरेको थियो तर हुन सकेन ।

हरेक चार-चार वर्षमा आयोजना हुने साग सन् १९८७ देखि हरेक दुई-दुई वर्षमा आयोजना भएको थियो भने पछिल्लो दुई दशक यता यो नियमित आयोजना हुन सकेको छैन ।

सन् २००६ मा दशदँ साग आयोजना भएको चार वर्षपछि सन् २०१० मा ११औं संस्करण भएको थियो । त्यसको ६ वर्षपछि सन् २०१६ मा १२औं साग आयोजना भयो भने ३ वर्षपछि सन् २०१९ मा १३औं साग भएको हो ।

दक्षिण एसियाली खेलकुदका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने र यस क्षेत्रको खेलकुदको दिगो भविष्यको मोडल निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको थियो ।

यस्तै १४औं सागको तयारीको समीक्षा तथा थप परामर्श गर्न पाकिस्तानले दक्षिण एसियाका सदस्य राष्ट्रहरूलाई सन् २०२६ को मे महिनामा भ्रमणका लागि निमन्त्रणा दिएको पनि नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

बैठकले ओसीएको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका एच.ई.शेख जोआन बिन हमद बिन खलिफा अल थानीलाई बधाई ज्ञापन गरेको छ ।

उक्त बैठकमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ सहभागी रहेका थिए ।

१४औं दक्षिण एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय