+

आईसीसी टी-२० विश्वकप २०२६ : सहभागी टिम, खेलतालिका र फर्म्याटबारे सम्पूर्ण जानकारी

२०८२ माघ  १४ गते ११:३९ २०८२ माघ १४ गते ११:३९

सन् २००७ मा भारतबाट सुरु भएको टी-२० विश्वकपको यो १०औं संस्करण हो र टी-२० विश्वकप फेरि एक पटक दक्षिण एसियामा हुँदैछ ।

आईसीसी टी-२० विश्वकप २०२६ : सहभागी टिम, खेलतालिका र फर्म्याटबारे सम्पूर्ण जानकारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु हुँदैछ।
  • नेपालले लगातार दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदै समूह सी मा भारतमै सबै खेल खेल्नेछ।
  • बंगलादेशले भारतमा खेल्न नचाहेपछि आईसीसीले स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराएको छ।

१३ माघ, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदैछ । सन् २००७ मा भारतबाट सुरु भएको टी-२० विश्वकपको यो १०औं संस्करण हो र टी-२० विश्वकप फेरि एक पटक दक्षिण एसियामा हुँदैछ ।

क्रिकेटको छोटो स्वरुप र रोमाञ्चक फर्म्याट टी-२० विश्वकपमा उत्कृष्ट राष्ट्रहरू खेल्दैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा २० टिमको सहभागिता रहनेछ ।

नेपालमा निर्वाचनको माहोल तात्दैछ । तर भारत र श्रीलंका टी-२० विश्वकप आयोजनाका लागि तयार छ । नेपालको पनि लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा सहभागिता हुँदैछ ।

श्रीलंकामा पहिलो चरणको तयारी गरेर नेपाली टिम हाल भारतको मुम्बई पुगिसकेको छ । दोस्रो चरणको तयारीपछि नेपालले चेन्नईमा अफिसियल वार्म अप खेलहरू खेल्नेछ । त्यसपछि विश्वकपको समूह चरणको खेलहरू खेल्न फेरी मुम्बईमै फर्कनेछ ।

भारत साविक विजेता समेत हो । यस पटक घरेलु मैदानमै टी-२० विश्वकपको उपाधि रक्षा गर्ने योजनामा भारत छ ।

टी-२० विश्वकप २०२४ को उपाधिका साथ भारत

यस्तै एक मात्र नयाँ टोलीले टी-२० विश्वकप खेल्दैछ । युरोपियन राष्ट्र इटली पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको हो र स्कटल्यान्ड विरुद्ध पहिलो खेल खेल्दै टी-२० विश्वकपमा डेब्यु गर्दैछ ।

आईसीसी टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड्सबीच एसएससी कोलोम्बोमा हुनेछ । सोही दिन वेस्ट इन्डिज र स्कटल्यान्डबीच कोलकतामा खेल हुनेछ भने आयोजक भारतले अमेरिकासँग मुम्बईमा खेल्नेछ ।

फाइनल खेल मार्च ८ मा अहमदाबाद/कोलोम्बोमा हुनेछ ।

विश्वकपको समूह चरणमा कूल ४० खेल हुनेछ । यस्तै सुपर एट चरणमा १२ खेल हुनेछ भने सेमिफाइनल २ अनि फाइनल १ गरी कूल ५५ खेल हुनेछ ।

यी हुन् सहभागी २० टोली

आईसीसी टी-२० विश्वकप २०२६ का लागि एसियाबाट सर्वाधिक ७ टोलीले खेल्दैछन् । जसमा आयोजकद्वय भारत र श्रीलंकासँगै अफगानिस्तान, पाकिस्तान, नेपाल, ओमान, युएई छन् ।

यस्तै युरोपबाट ५ (इंग्ल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, इटली र स्कटल्यान्ड), अफ्रिकाबाट ३ (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट २ (अमेरिका, क्यानडा), क्यारेबियनबाट १ (वेस्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट २ (अस्ट्रेलिया, न्युजिल्यान्ड) टिमले विश्वकप खेल्नेछन् ।

सुरुमा एसियाकै बंगलादेशले पनि खेल्ने भनिएकोमा पछि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने र श्रीलंकामा आफ्नो खेल सार्न आग्रह गरेको थियो ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तिम समयमा खेल सार्न सम्भव नभएको र पूर्व निर्धारित तालिका अनुसार नै बंगलादेशले भारतमै खेल्ने र अन्यता बंगलादेशलाई हटाएर अर्को टिम सहभागी गराउने जनाएको थियो ।

बंगलादेशले भारत नखेल्ने अडान कायम राख्यो । त्यसपछि आईसीसीले बंगलादेशलाई हटाएर उच्च वरियताको टिम स्कटल्यान्डलाई सहभागी गराएको हो ।

आयोजक (२) : भारत, श्रीलंका

२०२४ को विश्वकप प्रदर्शनका आधारमा (६): अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेष्ट इन्डिज

उच्च वरियताको आधारमा : आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड* (*बंगलादेशलाई हटाएपछि स्कटल्यान्ड उच्च वरियताका आधारमा छानिएको)

क्षेत्रीय छनोटबाट (८) : नेपाल, ओमान र युएई (एसिया-इएपी), इटली र नेदरल्यान्ड्स (युरोप), नामिबिया र जिम्बाबे (अफ्रिका), क्यानडा (अमेरिका)

समूह विभाजन :

समूह ए: भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अमेरिका

समूह बी: अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बाबे

समूह सी: इंग्ल्याण्ड, इटली, नेपाल, स्कटल्यान्ड*, वेष्ट इन्डिज,

समूह डी: अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युएई

कसरी छनोट भए टिम ?

भारत र श्रीलंका आयोजकको रुपमा स्वत: १०औं संस्करणको टी-२० विश्वकपका लागि छानिएका हुन् । भारत साविक विजेता समेत हो ।

यस्तै २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले पनि स्वत: विश्वकपमा स्थान बनाएका हुन् । तर अन्तिम समयमा बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने र अडान राखेपछि आईसीसीले बंगलादेशलाई हटाएर श्रीलंकालाई टी-२० विश्वकपमा सहभागी गराएको हो ।

बंगलादेश बाहिरिएपछि आईसीसीले वरियतामा माथि रहेको आधारमा स्कटल्यान्डमा विश्वकप खेल्ने अवसर दिएको हो ।

आईसीसीको वरीयतामा रहेको शीर्ष टिममध्येबाट आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाए । बाँकी ८ टिमले भने विभिन्न महादेशको छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले, अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटली तथा अफ्रिकाबाट जिम्बाबे र नामिबिया टी-२० विश्वकपमा छनोट भएका हुन् ।

स्कटल्याण्डलाई हराएर पहिलोपटक विश्वकपमा छनोट भएको इटली

यस्तो छ प्रतियोगिताको फर्म्याट

पछिल्लो पटक २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा जस्तै यस पटक पनि उही फर्म्याटमा टी-२० विश्वकप खेलाइनेछ ।

नवौं संस्करणबाट टी-२० विश्वकपमा २० टिम सहभागी हुन थालेपछि टिमलाई विभिन्न चार समूहमा विभाजन गरेर खेलाइएको थियो ।

यस पटक पनि त्यसैगरी सहभागी २० टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलहरू पछि हरेक समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सुपर एटमा प्रवेश गर्नेछन् ।

सुपर एटमा ८ टिमलाई २ समूहमा विभाजन गरिनेछ । सुपर एटमा दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् र सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कहाँ-कहाँ हुन्छ खेलहरू ?

यस पटक भारत र श्रीलंका दुई देशमा टी-२० विश्वकपका खेलहरू हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, चेन्नईको एमए चिदाबरम स्टेडियम, दिल्लीको अरुण जेट्ली स्टेडियम, कोलकताको इडेन गार्डेन्स र मुम्बईको वाङ्खडे स्टेडियममा विश्वकपका खेलहरू हुनेछन् ।

यस्तै श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमादासा स्टेडियममा र एसएससी क्रिकेट ग्राउण्ड तथा क्यान्डीको पल्लेकेले क्रिकेट स्टेडियममा विश्वकपका खेलहरू हुनेछ ।

आर प्रेमादासामा सेमिफाइनल र फाइनल सहित (पाकिस्तान फाइनल पुगेमा) १० खेल हुनेछ ।

यस्तै मुम्बईमा दोस्रो सेमिफाइनलसहित ८ खेल हुनेछ भने अहमदाबाद, चेन्नई, कोलकता र क्यान्डीमा समान ७ खेल हुनेछ । दिल्लीमा ६ र एसएससी क्रिकेट ग्राउन्डमा ५ खेल हुनेछ ।

नेपालका ४ खेलसहित ८ खेलहरू हुने वाङ्खडे स्टेडियम

पहिलो सेमिफाइनल कोलकता र फाइनल खेल अहमेदाबादमा हुने तालिका छ । तर यदि पाकिस्तान सेमिफाइनल र फाइनल पुगेमा दुवै खेल श्रीलंकामा हुनेछ ।

पाकिस्तान सेमिफाइनल पुगेमा पहिलो सेमिफाइनल कोलोम्बोमा हुनेछ । दोस्रो सेमिफाइनल भने मुम्बईमा हुनेछ ।

यस्तै पाकिस्तान फाइनल पुगेमा फाइनल खेल कोलोम्बोमा हुनेछ भने पाकिस्तान फाइनल नपुगे भारतको अहमदाबादमा फाइनल खेल हुनेछ ।

बंगलादेशलाई विश्वकपबाट हटाएपछि पाकिस्तानले पनि विश्वकप खेल्ने नखेल्ने शंका उत्पन्न भएको छ । विश्वकप सहभागिताबारे पाकिस्तानले अर्को फेब्रुअरी २ सम्ममा निर्णय गर्ने जनाएको छ ।

नेपाल सम्मिलित समूह सी को सबै खेल भारतमा हुनेछ । जसमा ५ खेल मुम्बई र ५ खेल कोलकतामा हुनेछ । यस्तै समूह बी का खेलहरू श्रीलंकाको कोलोम्बोस्थित दुई मैदान र क्यान्डीमा हुनेछ ।

यस्तै समूह डी को खेलहरू पनि भारतमै हुनेछ । जसमा चेन्नईमा ४ खेल हुनेछ भने अहमेदावाद र दिल्लीमा समान ३ खेल हुनेछ ।

यी हुन् अहिलेसम्म टी–२० विश्वकप जित्ने राष्ट्र

अहिलेसम्म जम्मा ६ राष्ट्रले टी-२० विश्वकपको उपाधि जितेका छन् । जसमा तीन राष्ट्र दक्षिण एसियाका छन् ।

दक्षिण एसियामा भारतले २ तथा पाकिस्तान र श्रीलंकाले समान एक पटक टी-२० विश्वकप जितेको छ ।

यस्तै इंग्ल्याण्ड र वेस्ट इन्डिजले पनि समान दुई तथा अस्ट्रेलियाले एक पटक टी-२० विश्वकप जितेको छ ।

पहिलो संस्करणको टी-२० विश्वकप जितेको भारतीय टोली

हालसम्मका उपाधि विजेता

भारत : २००७, २०२४
इंग्ल्यान्ड : २०१०, २०२२
वेष्टइण्डिज : २०१२, २०१६
पाकिस्तान : २००९
श्रीलंका : २०१४
अस्ट्रेलिया : २०२१

नेपालको खेल तालिका

८ फेब्रुअरी: नेपालविरुद्ध इंग्ल्यान्ड

१२ फेब्रुअरी: नेपालविरुद्ध इटली

१५ फेब्रुअरी: नेपालविरुद्ध वेस्ट इन्डिज

१७ फेब्रुअरी: नेपालविरुद्ध स्कटल्यान्ड

यस्तो छ पूरा खेलतालिका

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय