News Summary
Generated by OK AI. Editorially reviewed.- महिलातर्फ छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० ले पराजित गरेको छ।
- पुलिसले ४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने एपीएफ उपाधि दौडबाट बाहिरिएको छ।
- महिलातर्फको फाइनल माघ १६ गते र पुरुषतर्फको फाइनल माघ १७ गते हुनेछ।
१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै रहेको छ । पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । पुलिसकी मिना सुनार प्लेयर अफ द म्याच बनिन् ।
४ खेलबाट ७ अंक जोड्दै पुलिस दोस्रो स्थानमा उग्लिएको छ । पराजित भएको एपीएफ उपाधि दौडबाट बाहिरिएको छ । एपीएफले ४ खेलबाट ५ अंक जोड्यो ।
३ खेलबाट ९ अंक जोड्दै न्यु डायमन्ड स्पोर्ट्स क्लबले फाइनलमा स्थान बनाइसकेको छ । थाइल्यान्ड क्वीन्स ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब ४ खेलबाट जितविहीन रहँदै बाहिरिसकेको छ ।
अब समूह चरणको अन्तिम खेलमा न्यू डायमन्ड र थाइल्यान्ड क्वीन्सबीचको खेल हुनेछ । यो खेलमा जित निकाल्न सके थाइल्यान्ड फाइनलमा पुग्नेछ । थाइल्यान्ड सोझो सेटमा पराजित भए पुलिस फाइनलमा पुग्नेछ । थाइल्यान्ड पाँचौं सेटमा पुगेर पराजित भए सेटका आधारमा कुन टोली फाइनलमा पुग्ने टुंगो लाग्नेछ ।
पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।
प्रतिक्रिया 4