+
+
Shares
सुनसरी-१ :

एमाले बिरासतमा हर्क–बालेनहरूको धावा

धरान उपमहानगर सहितको सुनसरी–१ मा एमाले पराजित भएको विरलै उदारहण छन्, र त्यो पछिल्लो चुनावहरूमै भएको छ ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८२ माघ १४ गते २०:०८

१४ माघ, सुनसरी । आसन्न प्रतिनिधि सभा चुनावका लागि नेकपा एमालेले सुनसरी–१ बाट टीका माङलेनलाई मैदानमा उतारेको छ ।

४० वर्षीय युवक माङलेन उम्मेदवार बनाएर एमाले पंक्ति जसरी खटिएका छन्, त्यसबाट यो क्षेत्रमा रहँदै आएको आफ्नो बिरासत फर्काउने उसको लक्ष्य लुक्दैन । पञ्चायत सहितका चुनावहरूको इतिहास हेर्दा एमाले नेता–कार्यकर्ताहरूमा यो तहको छटपटी स्वभाविक नै देखिन्छ ।

किनकि धरान उपमहानगर सहितको सुनसरी–१ मा एमाले पराजित भएको विरलै उदारहण छन्, र त्यो पछिल्लो चुनावहरूमै भएको छ ।

कांग्रेसले त संसदीय चुनाव एउटै पनि जित्न सकेको छैन । माओवादीले २०६४ सालमा जितेको थियो । बाँकी सबै चुनाव एमाले अथवा एमाले समर्थित उम्मेदवारले मात्रै जितेका छन् । पञ्चायतकालीन चुनावहरू एमाले समर्थित जनपक्षीयले जित्ने गर्थे ।

२०४८ सालमा मनमोहन अधिकारीले जिते, पछि उनी पहिलो कम्युनिष्ट प्रधामन्त्री भए । ०५१ सालको मध्यावधिमा धरानकै स्थानीय लिला श्रेष्ठ सुब्बा मेन्याङ्बोले एमालबाटै जितिन्, र प्रथम पहिला उपसभामुख भइन् ।

०५६ सालमा एमालेकै कुन्ता शर्माले जितिन् । एमालेबाटै ०७० मा कृष्णकुमार राई र ०७४ मा जयकुमार राईले जिते । ०७९ मा एमालेको समर्थनमा जसपाका अशोक राईले जिते ।

यस्तो नतिजाहरू आउने भएकैले यो क्षेत्रमा एमालेले ‘लट्ठी उभ्याए पनि जित्छ’ भन्ने भाष्य बन्ने गरेको थियो । तर पछिल्ला केही नतिजाहरूले एमालेलाई नराम्रोसँग झस्काएको छ ।

विशेषगरी धरान उपमहानगरको नतिजाबाट एमाले उम्मेदवार झस्किनुपर्ने अवस्था सिर्जना भएको हो । तत्कालीन मेयर डा. तारा सुब्बाको निधन भएपछि २०७६ मा सम्पन्न उपचुनावमा कांग्रेसका तिलक राईले मेयर जिते । कांग्रेसका उम्मेदवारका रुपमा जितेको यो ऐतिहासिक जित थियो ।

पहिलोपटक एमाले उम्मेदवारले धरानमा हार्नु परेको थियो । यही नियति २०७९ को चुनावमा दोहोरियो । स्वतन्त्र उम्मेदवार बनेरै हर्क साम्पाङले मेयर जिते । लगत्तै सम्पन्न प्रतिनिधि सभा चुनावमा एमालेले यो क्षेत्र जसपालाई छोड्यो ।

यसरी लगातार बिग्रिएको नतिजा सच्याउन यो चुनावलाई एमालेले अवसरका रुपमा लिएको छ । जसरी पनि जित्न आफ्नो एजेण्डाहरू समेत सार्वजनिक गरिसकेको छ ।

तर श्रम संस्कृति पार्टी खोलेर चुनावी मैदानमा उत्रिएका हर्क साम्पाङ जस्तो परिचित छैनन्, एमालेका माङ्लेन । उनलाई चिनाउन ठुलै परिश्रम गर्नुपर्ने देखिन्छ । एकथरी बुद्धिजिबी यो क्षेत्रमा एमालेको संगठन बलियो भएकाले जित निकाल्न गाह्रो नपर्ने आँकलन गर्छन् ।

राजनितिक विष्लेशक डा. राजेन्द्र शर्मा भने यस्तो तर्कमा सहमत छैनन् । उनको तर्क छ, ‘जेनजी आन्दोलन हुनु भन्दा अघि एमालेको समर्थनमा जसपाका उम्मेदवार अशोक राईले पनि जितेका थिए । त्यसबेला श्रम संस्कृति पार्टी जन्मिने नाम निशाना थिएन । बालेन प्रवेश नै नगरेकै रास्वपाका उम्मेदवार गोमा तामाङ (सरिन) ले कडा टक्कर दिएका थिए ।’

अहिले रास्वपामा बालेनको प्रवेशले सरिनको उम्मेदवारी झनै बलिएको बनेको शर्माको विश्लेषण छ । हर्कराजको श्रम संस्कति पार्टी लोकप्रिय छ । अझ शहरी क्षेत्रमा सचेत मतदाता बढी हुने भएकाले पुराना दलहरुको पुरानो हिसाब यसपटक नमिल्ने उनको बुझाइ छ ।

रास्वपा र श्रम संस्कृति पार्टीसँगै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल जस्ता दलहरुले परम्परागत शक्तिलाई यसपटक बलियो टक्कर दिने यहाँका स्थानीयहरु बताउँछन् । विशेषगरी उहाँका स्वीङ मत हर्क साम्पाङको श्रम संस्कृतिसँग जोडिन पुगेका छन् ।

हर्कलाई पनि चुनौती

संगठनात्मक पकड र ऐतिहासिक पृष्ठभूमिका हिसाबले सशक्त एमालेलाई हर्क साम्पाङले बलियो चुनौती दिएको तथ्य प्रष्ट छ । श्रमदान अभियान, रैथाने हाँसो र मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत् आम दर्शक श्रोतासम्म पुर्‍याउने शैलीप्रति सर्वसाधारणलाई उनले  आकर्षित बनाएका छन् ।

जसरी पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, शेरवहादुर देउवाको देवत्वकरणमा उनका कार्यकर्ता उभिन्थे, श्रम संस्कृति पार्टीका समर्थकहरू हर्क साम्पाङको प्रतिरक्षामा उभिने गरेका छन् ।

तर रास्वपाकी उम्मेदवार गोमा तामाङ (सरिन) ले हर्क साम्पाङलाई बलियो चुनौती दिने देखिन्छ । ०७९ सालकै चुनावमा सरिन, ४ सय ५३ मतले पराजित भएका थिए । एमाले समर्थित जसपाका अशोक राईले १७ हजार ५९ मत ल्याएर जित्दा सरिनले १६ हजार ६ सय ६ मत पाएका थिए ।

डा शर्माले भनेझै रास्वपामा बालेनको ‘इन्ट्रि’ ले सरिनलाई चुनावी प्रचारका लागि सहयोग पुगेको छ । पहिले पनि उम्मेदवारलाई राम्रोसँग नचिनी, नदेखी र रास्वपा बारेमा जानकारी नै नहुँदा पनि सुनसरी–१ का मतदताले सरिनलाई भोट दिएका थिए । कोरानाकाल पछि धरान बसेर सामाजिक क्षेत्रमा सक्रिय रहेकी सरिनले यसपटक अरु दलले जस्तै चुनावी मुद्दा अगाडि बढाएका छन् ।

पञ्चकोणीय प्रतिस्पर्धा

नयाँ संगठनात्मक स्वरूपमा आएको नेपाली कम्युनिष्ट पार्टीले सूर्यबहादुर भट्टराई (मनोज) लाई अगाडि बढाएको छ । उनले धरान १४ विजयपुरबाट घरदैलो अभियान थालिसकेका छन् । भेटघाट, राय परामर्शमा व्यस्त भट्टराईले धरान–१७, बाट दुई पटक वडाध्यक्ष जितेका थिए ।

४२ बर्षीय भट्टराईलाई पार्टीले टिकट दिएपछि वडाध्यक्षबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रेका छन् । कतिपयले हर्कसँग कार्यपालिका बैठकमा भइरहने वादविवादको इगो साध्न उम्मेदवार बनेको आरोप समेत लगाउने गरेका छन् । कार्यपालिका बैठकहरुमा हर्क साम्पाङसँग उनको बढी नै नोकझोक चल्ने गरेको थियो ।

सुकुम्बासी क्षेत्रका मतदाताहरुबीच पकड जमाएर बसेका मनोजले हर्क साम्पाङलाई चुनौती दिन सक्ने अनुमान गरिन्छ । किनकि यो क्षेत्रलाई हर्क साम्पाङको पनि प्रभाव क्षेत्र मानिन्छ ।

सुनसरी–१ मा मनोजले तीन प्रकारका एजेण्डाहरु बनाएका छन् । उनको भनाइ अनुसार धरानको सवालमा बग्लै भुगोल भएकाले खानेपानी र ल्याण्डफिल साइटको व्यबस्था गर्नु मुख्य एजेण्डा बनाएका छन् ।

यसअघि दुई पटक वडाध्यक्ष हुँदा आफ्नो वडाका टोलहरुमा व्यक्तिगत रुपमा नगद दिएर पनि साना कल्भर्ट, ढल, नल, खोला खोल्सीका तटबन्ध, सामुदायिक भवन निर्माण गरेर लोकप्रिय बनेका मनोजले सवै उम्मेदवार निकट प्रतिद्धन्दी भएको बताउने गरेका छन् ।

सुनसरी–१ को कोर एरिया धरान हो । धरानमा पञ्चायतकालदेखिनै ‘गोवर’ र ‘खरानी’ बीच द्धन्द हुने गरेको थियो । गोवर विम्ब कांग्रेसले हरियो रुखको रुपमा लिएको थियो भने खरानीको विम्ब सर्वहारा कम्युनिष्टले ।

तर यो क्षेत्रमा कहिल्यै पनि गोवर पक्षको चारतारे झण्डा फराउन सकेन संसदीय चुनावहरुमा । २०७९ कै चुनावमा पनि प्रदेशसभा तर्फ दुवै सिट एमालेले जित्यो ।

धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मात्र कांग्रेसका तिलक राईले एमाले उम्मेदवारलाई हराएर इतिहास रचे । तर संसदीय चुनावमा जितको स्वाद चाख्न नपाएको कांग्रेसले यसपाली क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई टिकट दिएका छन् । तामाङ दुइ दशक बढी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी प्रसासनमा जागिरे भएपनि राजनीतिमा सक्रिय रहेका थिए ।

आदिवासी जनजाति महासंघको आन्दोलनमा सक्रिय रहेका तामाङ सुनसरी १ मा जित निकाल्न आदिवासी जनजातिको भोट पाउने आशामा छन् । ४७ बर्षीय तामाङको एजेन्डा छ– खानेपानी, सडक, शिक्षा, स्वास्थ्यको क्षेत्रमा दीगो विकास गर्न र युवालाई रोजगारका अवसर सिर्जना गर्ने ।

मुख्य पाँच दल अर्थात् ‘पञ्चकोणीय भिडन्त’ को चुनावी मैदान बनेको यो क्षेत्रमा पहिचानवादी भनेर चिनिएका डम्बर लावती (जेन्टल) ले पनि उज्यालो नेपाल पार्टीका तर्फबाट शसक्त उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका दल मध्ये यो क्षेत्रमा १९ दलका उम्मेदवार र स्वतन्त्र ७ जना गरी २६ जना प्रतिस्पर्धामा छन् । आयोगका अनुसार धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाको वडा ६ र ७ वडा समेटिएको यो क्षेत्रमा कुल ४९ मतदान स्थल र १ सय ८१ मतदान केन्द्रमा कुल मतदाता १ लाख ५० हजार ३ सय ९३ जनाले मतदान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?