१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।
शहीद दिवसका दिन काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्ने बताएकी हुन् ।
उनले शहीदहरूको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताइन् ।
उनले विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरूको बलिदानकै कारण सम्भव भएको बताइन् ।
नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको उनले बताइन्।
‘जहाँनिया राणा शासनको अन्त्य र जनताको स्वतन्त्रता, स्वाधीनताका लागि शहीदहरूले बलिदान दिनुभयो । त्यही बलिदानको जगमा टेकेर आज हामी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेका छौं । अर्थात विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था, लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं,’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘आज हामी जहाँ छौं, जुन अवस्था र व्यवस्थामा छौं, नागरिक अधिकार, समावेशिता र सँगसँगै समावेशीकरणको प्रयोग गरिरहेका छौं । यो उहाँहरूकै बलिदानबाट प्राप्त भएको हो । यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन पनि हो । यसबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्दछ । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा छ ।’
प्रतिक्रिया 4