News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं-९ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल पहिलोपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।
- कांग्रेसले महिला उम्मेदवार नानु बाँस्तोलालाई काठमाडौं-९ बाट संघीय संसदको लागि अघि सारेको छ।
- एमालेले लगातार दुईपटक निर्वाचित कृष्णगोपाल श्रेष्ठको सट्टा डा. अजयक्रान्ति शाक्यलाई टिकट दिएको छ।
१९ माघ, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–९ क्षेत्र चर्चामा छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल पनि नयाँ उम्मेदवारको रुपमा आएका छन् ।
१८ जना दलीय र ६ स्वतन्त्र गरी २४ जना उम्मेदवार रहेको यस क्षेत्रमा जन्मथलो धादिङ छोडेर रास्वपा उपसभापति अर्याल यस क्षेत्रलाई रोजेका छन् ।
२०७९ सालमा समानुपातिक सांसद बनेका अर्याल पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले काठमाडौ–९ मा रास्वपाका उम्मेदवार पराजित भएको क्षेत्रमा उपसभापति अर्याल चुनावी मैदानमा छन् ।
२०७४ सालमा फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई हराएका एमालेका कृष्णगोपाल श्रेष्ठसँग गत निर्वाचनमा रास्वपाका उम्मदेवार टेकबहादुर पोखरेल मात्रै ९९५ मतान्तरले पराजित भएका थिए ।
गत निर्वाचनमाा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ निर्वाचित हुँदा रास्वपाका पोखरेलले १० हजार ९६१ मत पाएका थिए । २०७४ को सालमा पनि कृष्णगोपालले जितेका थिए । त्यसबेला उनले प्रतिस्पर्धीलाई धेरै मतान्तरले पछि पारेका थिए ।
कृष्णगोपालले २२ हजार ८५२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित थिए । गत निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर न्यून हुनु र समानुपातिकतर्फको मतमा रास्वपा पहिलो हुनुको आधारमा मत विश्लेषण गर्दा रास्वपाका लागि अनुकूल क्षेत्र बन्न पुगेको छ ।
२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ रास्वपाको पक्षमा सबैभन्दा बढी मत खसेको थियो । समानुपातिकमा रास्वपाले ११ हजार ५०२, एमालेलाई ९ हजार ४०७, कांग्रेसको पक्षमा ८ हजार ५ मत खसेको थियो ।
सभापति रवि लामिछाने हिरासत र जेलमा हुँदा कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका उपसभापति अर्याल पहिलोपटक चुनावी घरदैलोमा निस्केका छन् ।
५१ वर्षीय अर्यालले चुनावी नारा ‘तपाईं मत बदल्नुस् । हामी देश बदल्नेछौं’ बनाएका छन् । मतदातासँग साक्षात्कर गर्दै हिंडिरहेका अर्यालले आफूलाई ‘रवि लामिछानेको पार्टीको दोस्रो मान्छे हजुर’ भनेर चिनाइरहेका छन् । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पक्षसँग एकता गरेपछि दोस्रो व्यक्ति भने हाल उपसभापति अर्याल छैनन् । पार्टीमा दोस्रो वरीयतासहित वरिष्ठ नेतामा बालेन शाह छन् ।
संविधानसभाका दुवै निर्वाचन जितेको कांग्रेसले त्यसपछि यो क्षेत्रमा जित्न सकेको छैन । २०६४ र २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितले जितेका थिए । २०७४ मा उनै उम्मेदवार ध्यानगोविन्द पराजित भए भने २०७९ सालको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएन । यसपटक कांग्रेसले महिला अनुहारलाई अघि सारेको छ ।
विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य नानु बाँस्तोलालाई पहिलोपटक कांग्रेसले संघीय संसदको लागि उम्मेदवार बनाएको छ । अघिल्लो केन्द्रीय समितिमा समेत रहेकी बाँस्तोलाले गत निर्वाचनमा प्रदेश सभामा प्रतिस्पर्धा गरेकी थिइन् । काठमाडौं– ९ (क) बाट उम्मेदवार बनेकी बाँस्तोला त्यसबेला निर्वाचित हुन भने सकिनन् ।
नेपाल विद्यार्थी संघमा हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी बाँस्तोलाले काठमाडौं–९ को माटोले आफूलाई चिनेको बताउँछिन् । ‘परिवर्तित कांग्रेससहित निर्वाचनमा छौं । नेता र नेतृत्व परिवर्तन गरेका छौं । हामी सामाजिक सञ्जालले निर्माण गरेका नेता होइनौं,’ बाँस्तोलाले अनलाइनखबरसँग भनिन्,‘वडाअनुसार क्षेत्रमा फरक फरक समस्या छन् । ती समस्यालाई नीतिगत तहबाट समाधान गर्ने मेरो चुनावी एजेण्डा हो ।’
पार्टीले केही दिनमा सार्वजनिक गर्ने १० भिजनसहित मतदाताको घरघरमा पुग्ने उनले बताइन् । कांग्रेस १० भिजनसहितको संकल्प-पत्र ल्याउँदैछ । ‘संविधानको रक्षा र अग्रगमनको यात्रा सिङ्गो काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ को विकास र समृद्धिका लागि’ चुनावी नारासहित उनी मतदाताकहाँ पुगिरहेकी छन् ।
गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामको आधारमा यस क्षेत्रमा पर्ने वडाहरुको मत विश्लेषण गर्दा कांग्रेस पहिलो शक्ति हो । काठमाडौं महानगरका चार, नागार्जुन नगरपालिकाका पाँच र चन्द्रागिरि नगरपालिकाका पाँच गरी १४ वडा यस क्षेत्रमा पर्दछन् । ती मध्ये बहुमत (८ वटा) वडामा कांग्रेसले जितेका वडाध्यक्ष छन् । काठमाडौँ–९ मा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा पर्दछन् ।
महानगरको वडा नम्बर १२, १४ मा कांग्रेस, वडा नम्बर २१ र २२ मा एमालेले जितेको छ । यस क्षेत्रमा परेका चन्द्रागिरि नगरपालिकाका पाँच वडामध्ये कांग्रेसले वडा नम्बर १, १३ र १५ जितेको छ भने एमालेले वडा नम्बर १२ र १४ जितेको छ । नागार्जुन नगरपालिकाको ६, ९ र १० कांग्रेसले जितेको छ भने एमालेले ७ र ८ वडामा जितेको छ ।
लगातार दुईपटक निर्वाचत भएका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । उनको स्थानमा डा. अजयक्रान्ति शाक्यलाई अघि सारिएको छ । ५७ वर्षीय शाक्यले भू–गर्भ, भौतिक, अर्थशास्त्र, सामाजिक र संगीतमा स्नातक गरेका छन् । बौद्ध दर्शनमा विद्यावारिधि गरेका शाक्य संगीतकर्मी समेत हुन् । उसु र मार्सलआर्टको खेलाडीसमेत रहेका शाक्यले ‘इन्द्रजात्रा, बुद्धका मौलिक दर्शन, द शाक्यज्’, ‘म मैन झैँ पग्लिरहेँ’ लगायतका पुस्तक लेखेका छन् ।
२०७४ सालमा यसै क्षेत्रको ९ (क) बाट प्रदेश सभामा निर्वाचित शाक्य संघीय संसदका लागि उम्मेदवार बनेका छन् । बागमती प्रदेश सदस्य रहँदा शाक्यले छोटो समय आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालयको मन्त्री बनेका थिए । एमाले अध्यक्ष ओली २०७२ सालमा प्रधानमन्त्री हुँदा शाक्य उनको विज्ञान–प्रविधि, सामाजिक, साँस्कृतिक र विकास सल्लाहकार भएर समेत काम गरेका थिए । क्षेत्रका विकास, संस्कृति/ सम्पदाको संरक्षण, संर्वद्धनलाई उनले शाक्यले चुनावी एजेण्डा बनाएका छन् ।
गत निर्वाचनमा कांग्रेसको साथ पाएर तेस्रो शक्ति बनेको तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) ले नेकपा राधाकृष्ण महर्जनलाई उम्मदेवार बनाएको छ । ५४ वर्षीय महर्जनले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि नेकपालाई मतदान गर्न आग्रह गर्दै चुनावी प्रचार गरिरहेका छन् ।
कांग्रेससँग चुनावी गठबन्धन गरेर गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट एकीकृत समाजवादीका पूर्व नेतालाई यस क्षेत्रमा उम्मेदवार बनाएको छ । एमाले हुँदै एकीकृत समाजवादी हाल उज्यालो नेपालमा रहेका रामेश्वर श्रेष्ठ प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको उपमेयरको प्रत्यासी भई पराजित भएका थिए ।
यस क्षेत्रमा मतदाताको संख्या ७८ हजार ४९५ जना छन् । महिला मतदाताको संख्या पुरुषको तुलनामा बढी छ । महिला मतदाता ४० हजार २७८ हुँदा पुरुष मतदाताको संख्या ३८ हजार २१७ जना छन् ।
प्रतिक्रिया 4