+
+
Shares

राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपालबाट प्रस्थान गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ९:३४

२१ माघ, जापान । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल स्वदेश प्रस्थान गरेका हुन् ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपालबाट प्रस्थान गरेका थिए । उनको टोली सोमबार जापान पुगेको थियो ।

नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन उनी सोमबार जापान आएका थिए ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।

यस्तै टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट पनि गरेका थिए । भ्रमणकै क्रममा जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

भ्रमणमा जापानी व्यापारिक समुदाय र यहाँ रहेका नेपालीहरूको कार्यक्रमलाई पनि राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए ।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?