२१ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन २०७९ सालको निर्वाचनमा जन्डिसले थलिएर कहिले अस्पताल त कहिले घरमै आराम गरिरहेका हुन्थे ।
यो निर्वाचनमा भने पुन गृहजिल्ला रोल्पामा घरदैलो कार्यक्रममा व्यस्त छन् । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन उम्मेदवार छन् । माओवादी सशस्त्र संघर्षको उदगमथलो रोल्पाबाट उनी ०७४ र ०७९ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भए ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा तेस्रोपटक उम्मेदवार बनेका पुन ह्याट्रिक जितको खोजीमा छन् । अघिल्लो निर्वाचनको पूर्वसन्ध्यामा बिरामी भएर भोट माग्न नपाए पनि यसपटक जिल्लाका सबै वडामा पुग्ने लक्ष्य रहेको पुनले बताए ।
रोल्पा एक नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह रहेको रोल्पामा ७२ वडा छन् । ‘यसअघिको चुनावमा बिरामी थिएँ । स्वास्थ्य समस्याले सबैतिर पुग्न सम्भव भएन,’ पुनले भने, ‘योपटक सबै वडामा पुग्छु । मतदातासँग प्रत्यक्ष साक्षत्कार गर्छु र सुझावहरु लिन्छु ।’
सोमबार रुण्टीगढी गाउँपालिकाका सबै ९ वटा वडा घुमेर भ्याएका पुनले मंगलबार त्रिवेणी गाउँपालिकाका सातै वडामा दरदैलो गरे । घरदैलोका क्रममा मतदाताले सामान्यभन्दा सामान्य माग राखेको पुन बताउँछन् । विकास निर्माणसँग सम्बन्धित सुझावहरु धेरै आएको उनले बताए ।
‘मतदाताका माग स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी र सञ्चारसँग सम्बन्धित धेरै छन्’, उनले भने । मतदाताले पहिलाको तुलनामा जिल्लामा भौतिक पूर्वाधारको विकास धेरै भए पनि पर्याप्त नभएको विषयमा ध्यानाकर्षण गराएको पुनले उल्लेख गरे ।
कतिपय मातदाताले चालु आयोजनामा निर्माण व्यवसायीबाट हुने गरेका ढिलासुस्ती, आयोजनाको गुणस्तर तथा सरकारी निकायको फितलो अनुगमनजस्ता विषयमा जनप्रतिनिधिको रुपमा थप भूमिका खेलिदिन सुझाव दिएका छन् ।
राजनीतिक रुपमा सचेत आफ्ना मतदाता सांसदको विधायकी कामबारे स्पष्ट रहे पनि जनप्रतिनिधिका रुपमा विकास निर्माणका काममा पुलको भूमिका खेल्नुपर्ने सुझाव आउने र त्यसलाई उम्मेदवारहरूले स्वीकार गर्नुपर्ने तर्क पुनको छ ।
‘सांसदले मेरो भूमिका कानून बनाउने हो, विकास निर्माण गर्ने होइन भनेर पन्छिन सक्ने वा मिल्ने अवस्था छैन्’, उनी भन्छन्, ‘एउटा सांसद् मतदाताको प्रतिनिधि हो, विकासे कार्यकर्ता पनि हो, अभिभावक पनि हो र सेवक पनि हो ।’
विकास माग्ने मतदातालाई पुनले विगतदेखि नै जिल्लाको विकासमा भूमिका खेलेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउने गरेका छन् ।
सांसद् मात्र हुँदा वा मन्त्रीको भूमिकामा रहँदा जिल्लाको समग्र विकासमा अधिकतम प्रयत्न गरेको र आगामी दिनमा पनि मतदाताको सुख-दुःखमा सँगै रहने पुनको प्रतिबद्धता छ ।
प्रतिक्रिया 4