राजनीतिक दलको आन्तरिक लोकतन्त्र र भुईं तहका महाधिवेशन प्रतिनिधिहरूमा विधानले दिएको बल कति सर्वशक्तिमान हुनेरहेछ भन्ने कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनले प्रमाणित गरेको छ। यसले नेपालको राजनीतिक रूपान्तरणको नवआयामिक चरणको सुरुवात मात्र गरेको छैन, नेपालको राजनीतिक विलखबन्दलाई लयमा ल्याउने सार्थक हस्तक्षेप पनि गरेको छ। जसको नायक बनेका छन्, गगनकुमार थापा र विश्वप्रकाश शर्मा।
नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासका हरेक मोडहरूको निर्णायक शक्ति हो। मुलुकमा नागरिक अधिकार, राजनीतिक चेतनाको विद्रोहदेखि लोकतान्त्रिक बहुदलीय व्यवस्था, जनआन्दोलन, शान्तिसम्झौता र संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले गरेको हो। गत २३ र २४ भदौको जेनजी विद्रोह स्वाभाविक तर अकल्पनीय थियो। विद्रोहको बीजारोपण हुनुका विभिन्न कारणमध्ये एक कांग्रेस पनि हो। युवा विद्रोहको यो उभारले कांग्रेसमा विधिवत् रूपान्तरणको ठूलै कम्पन सिर्जना गरिदियो। यो कम्पनको ध्वनि मुलुक रूपान्तरणका लागि कति कामयावी होला ? यसले दिएका सन्देश के–कस्ता छन् ? र, अबको राजनीति कता जाने संकेत देखिएको छ ? विश्लेषण गरौं।
१. विधिवत् विद्रोहबाट पार्टी रूपान्तरण
नेपाली कांग्रेसको विशेष महाधिवेशन केवल एक संगठनात्मक, लोकतान्त्रिक र बहसको प्रक्रिया मात्र रहेन। यो पार्टीभित्र लामो समयदेखि सुषुप्त अवस्थामा रहेको वैचारिक द्वन्द्व, पुस्तागत असन्तोष र संस्थागत जडता विरुद्ध उठेको विधिवत् विद्रोहको औपचारिक, सशक्त र विशेष मञ्च बन्यो। यही सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक भावना, दर्विलो सहकार्य र अदम्य साहसले कांग्रेसभित्रको विद्रोहलाई अराजक नभई संवैधानिक, सांगठनिक र वैचारिक अनुशासनभित्रको रूपान्तरणकारी महाअभियानको रूपमा स्थापित गर्यो।
यसपटक गगन–विश्वको विद्रोह सडकको नाराबाट होइन; पार्टीको विधान, लोकतान्त्रिक अभ्यास र आन्तरिक प्रतिस्पर्धाबाट जन्मिएको हो। भुईंतहका आममानिसले परिवर्तनको चाहना अनुसार पार्टीका महाधिवेशन प्रतिनिधिहरूले दरिलो साथ दिए। संयुक्त रूपमा पार्टी नेतृत्वमाथि प्रश्न उठाए, तर पार्टीमाथि आक्रमण गरेनन्। यही नै यो विद्रोहको मौलिकता हो। जहाँ असन्तोष छ तर, विघटनको ध्येय छैन। जहाँ असहमति र आलोचना छन् तर, विकल्प सहितको समाधान छन्। जसले पार्टीभित्रको शक्तिशाली समूहलाई महाधिवेशन प्रतिनिधिहरूको विधिवत् बलबाट सम्मानपूर्वक विश्राम लगाएको छ।
विशेष महाधिवेशनमा गगन थापाले उठाएको मुख्य प्रश्न नेतृत्वको उत्तरदायित्व, कार्यसम्पादन र समयानुकूल निर्णय क्षमतासँग जोडिएको थियो। उनले सत्ता साझेदारी, सरकार सञ्चालन र नीति प्राथमिकतामा देखिएको अस्पष्टतालाई केवल कमजोरी नभई राजनीतिक संकटको संकेतका रूपमा चित्रित गरे। विश्वप्रकाश शर्माले त्यसलाई संगठनात्मक धरातलमा जोड्दै कांग्रेसको कार्यशैली, जनतासँगको संवाद र नैतिक राजनीतिमा आएको क्षयमाथि स्पष्ट प्रश्न उठाए।
कांग्रेसको इतिहासमा विशेष महाधिवेशन दोस्रोपटक भयो। सधैं नेतृत्वलाई विस्थापित गर्न मात्र होइन, बरु संकटको बेला संगठनलाई नयाँ ऊर्जा दिन पनि विशेष महाधिवेशन प्रयोग भएको पुन:पुष्टि यसपटक भएको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहितको परिणाम नीति र नेतृत्व परिवर्तनमा परिणत भएको छ। पार्टी रूपान्तरण र देशको संकटमोचन गर्ने आँट, अडान र आशा देखिएको छ। विशेष महाधिवेशन लगत्तै कांग्रेस नेतृत्व निर्वाचनका लागि उम्मेदवार चयनमा होमिनुपर्ने भयो। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गराउने समय ६ माघमा थियो। ४ माघमा निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै गगन नेतृत्वको कांग्रेस उम्मेदवार चयनमा होमियो। निकै छोटो समयमा गगन नेतृत्वको कांग्रेसले स्वच्छ, स्वस्थ र पारदर्शी रूपमा १६५ क्षेत्रमा नै टिकट वितरण गर्यो।
पाका पुस्तादेखि युवा, विज्ञदेखि पार्टीमा लामो योगदान गरेका महिला, मधेशी, मुस्लिम र जनजाति जस्ता समावेशी उम्मेदवारहरूले खास कांग्रेसको रूपान्तरण भएको देखे। कार्यकर्ताको तहमा कहीं कतै पनि असन्तोष देखिएन। बरु, त्यसयता अनलाइनखबरसँगकै भिडियो अन्तर्वार्तामा गगन थापामा समयको चापका कारण उम्मेदवार चयनलाई अझै बढी लोकतान्त्रिक र पारदर्शी बनाउने प्रयास सार्थक बन्न नसकेको स्वीकारोक्ति देखियो।
यस अर्थमा, गगन–विश्वको विद्रोह कांग्रेसभित्रको आत्मसुधारको आह्वान बनेको छ। यो विद्रोहले पार्टीलाई कमजोर बनाउँदैन। यदि सही रूपमा ग्रहण गरियो भने यसले कांग्रेसलाई पुन: जनमुखी, विचारमुखी र नैतिक राजनीतिको धुरीमा फर्काउन सक्छ। विशेष महाधिवेशनले देखाएको संकेत स्पष्ट छ; यो विद्रोह कुनै व्यक्तिगत पद–प्रतिस्पर्धाको परिणाम मात्र होइन। यो पुस्तान्तरणको अपरिहार्य आवाज हो। पार्टीभित्र दशकौंदेखि एउटै वृत्तमा सीमित नेतृत्व संरचना, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनआकांक्षासँग असमञ्जस देखिंदै आएको थियो। गगन–विश्वले यही असन्तुलनलाई संस्थागत ढंगले चुनौती दिए। विशेष महाधिवेशनको मञ्च प्रयोग गरेर, प्रतिनिधिहरूको विवेकमा विश्वास गरी परिवर्तन गरे।
अन्तत:, गगन–विश्वको विद्रोहको सन्देश चेतावनी र सम्भावना दुवै हो। यदि नेतृत्व समयअनुसार बदलिन सकेन भने पार्टी जनताबाट टाढा हुनेछ भन्ने चेतावनी हो। यदि यो विधिवत् विद्रोहलाई सुन्ने, आत्मसात् गर्ने र संस्थागत सुधारमा रूपान्तरण गर्ने साहस गरियो भने नेपाली कांग्रेस फेरि पनि लोकतान्त्रिक परिवर्तनको अग्रपङ्क्तिमा उभिन सक्छ भन्ने सम्भावना हो। यो विद्रोह बन्दुकको होइन, विचारको हो। यो तोडफोडको होइन, पुनर्निर्माण र विधिको हो। र, यही कारणले गगन–विश्वको विद्रोह केवल व्यक्तिको कथा होइन, नेपाली कांग्रेसको भविष्यसँग जोडिएको रूपान्तरणको सन्देश हो।
२. राजनीतिक निकास
विगतदेखि नै कांग्रेसले विभिन्न राजनीतिक आरोह–अवरोहहरू सामना गर्दै आएको इतिहास छ। मुलुकको राजनीतिक निकासका लागि आममानिस, भुईंतहका कांग्रेसका सच्चा कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, कानुनविद्, राजनीतिक विश्लेषक, विद्वतवर्ग, पत्रकार र शुभेच्छुक नागरिक समाजद्वारा कांग्रेसले महाधिवेशन गरेर चुनावमा नयाँ नेतृत्व र नीति लिएर जनतासमक्ष जानुपर्छ भन्ने चाहना र सुझावले कांग्रेसको रूपान्तरणका लागि ठूलो बल पुगेको छ।
पछिल्लो तीन दशक पार्टी र सरकारको नेतृत्वमा उस्तै अनुहारको रजगज रहेको थियो। एकातिर समायानुकूल जनअपेक्षाको सम्बोधन भएको थिएन। अर्कातर्फ, जनतामा निकै ठूलो निराशा पैदा भएको थियो। मुलुकको राजनीति सीमित पार्टीका सीमित नेतामा जाम भएर बसेको थियो। जेनजी विद्रोहको धक्काले त्यसलाई भत्काइदियो। भलै धनजनको अकल्पनीय क्षति भयो। तर, शीर्ष नेतृत्वले आत्मसमीक्षा गरेर राजीनामा समेत दिन चाहेनन्। नेकपा एमालेले कर्मकाण्डी महाधिवेशन गर्यो। तर, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा जस्ता अन्य पार्टीले आफूहरूलाई रूपान्तरण गर्न चाहेनन्। नेतृत्वमाथि अनेक प्रश्नहरू उठ्दा पनि मौन रहे।
विशेष महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व र नीति मार्फत मुलुकको राजनीतिक निकासको स्पष्ट सन्देश दिएको छ। कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कांग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन्। उनले लेखेका छन्– ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’। यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी। हाम्रो केवल एक ध्येय छ देशको समुन्नति। यसले बदलिएको कांग्रेसको सन्देश प्रवाह गरेको छ।
कांग्रेसको पछिल्लो परिर्वतनले अन्य पार्टीहरूमा पनि रूपान्तरणको आवाज उठाएको छ। नजिकिंदो चुनावी माहोललाई नयाँ ऊर्जा थपिदिएको छ। पार्टी, नेतृत्व, नीति, उम्मेदवार र एजेण्डाहरूमा बहस शुरु भएका छन्। दलहरू आन्तरिक लोकतन्त्रबाट परिष्कृत हुनुपर्दछ। चुनावमा आफ्नै नीति, सिद्धान्त र बलमा जनताबाट अनुमोदन हुनुपर्दछ। कुनै गठबन्धन, साँठगाँठ र सम्झौताबाट जनतालाई प्रभावित र प्रलोभन पारेर राजनीतिक संस्कारलाई नै संकटमा पार्नुहुँदैन भन्ने सशक्त सन्देश देखिएको छ।
देशको परिस्थिति भुलेर पपुलिज्मको धङधङीबाट शासकीय व्यवस्था सुदृढ रूपमा चल्न सक्दैन भन्ने विद्वतवर्ग निष्कर्ष सहित चिन्तनमा छ। कांग्रेसको पछिल्लो रूपान्तरणले समाजका सबै शिरामा नयाँ ढंगको बहस सिर्जना भएको छ। लोकतन्त्र लयमा ल्याउने विश्वास देखिएको छ। राजनीतिक विश्लेषक तथा नेता राम कार्की भन्छन्– ‘कांग्रेस आफ्नो चरित्रमा फर्किंदा कम्युनिष्ट पार्टी र पपुलिज्म धारका वैकल्पिक शक्तिलाई पनि राजनीतिक लयमा ल्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ।’
यसर्थ; देशको लोकतन्त्र, संविधान र व्यवस्था बचाउने अन्तिम आशा भनेकै नयाँ नेतृत्व, समयानुकूल नीति र जनताको मत हो। राजनीतिक निकास र स्थायित्वका लागि जनताले अब विवेक प्रयोग गर्नुपर्ने समय आएको छ। नेपाली कांग्रेसको नेतृत्व अब मुलुकको राजनीतिक रूपान्तरण योगदानमा मात्र होइन कि कार्यसम्पादनमा पनि उत्तिकै उच्चतम योग्यताका साथ अब्बल, अग्रणी र परिपक्व ढंगले उभिनुपर्ने आवश्यकता छ।
३. नयाँ पुस्तामा आशा
कांग्रेसको रूपान्तरणले जेनजी सहितका नयाँ पुस्तामा पनि आशा, ऊर्जा र भरोसा थपिदिएको छ। विधिवत् लोकतान्त्रिक हस्तक्षेपले युवा पुस्तालाई थप हौसला दिएको छ। सुशासनमा प्रतिबद्धता र भ्रष्टाचार निरुत्साहनको बाचाले केही अघिसम्मको डिफेन्सिव कांग्रेसलाई परिष्कृत र अग्रगामी बनाएको छ। कांग्रेसभित्रको लोकतान्त्रिक विधि, राजनीतिक संस्कार, अन्तरपुस्ताको बहस, अग्रजको सम्मान, राजनीतिक योगदान र योग्यता, पार्टीको मूल्यमान्यता, सिद्धान्त, इतिहास वर्तमानको भरोसा र भविष्यको आशाले नयाँ पुस्तालाई पनि आकर्षण गरेको छ। जुन कुरा उनीहरूले समुदाय, सडक र सञ्जाल मार्फत व्यक्त गरेका छन्।
जेनजी अभियन्ताहरू भन्छन्– ‘गगनको शैली आलोचनात्मक मात्र होइन, आत्मालोचनात्मक पनि छ। उनले कांग्रेस सरकारमा हुँदा भएका कमजोरीहरू स्वीकार्ने साहस देखाएका छन्। स्वास्थ्य, शिक्षा, सुशासन जस्ता विषयमा उनी स्पष्ट दृष्टिकोण सहित बोलेका छन्। यो नै आजको राजनीतिमा दुर्लभ गुण हो। सत्तामा हुँदा पनि प्रश्न गर्न सक्ने क्षमता राख्नु असल नेताको छवि हो।’
नेपाली कांग्रेस कुनै साधारण राजनीतिक दल होइन। यो दल नेपालको लोकतान्त्रिक यात्राको इतिहास हो, संघर्षको स्मृति हो र सत्ताको अभ्यास पनि हो। गगन–विश्व कांग्रेसभित्रको असन्तोषको आकस्मिक अभिव्यक्ति होइनन्। लामो समयदेखि कांग्रेसभित्र संस्थागत सुधार, नेतृत्वको उत्तरदायित्व र विचारको पुनर्जागरणको पक्षमा उभिंदै आएका पात्र हुन्। विद्यार्थी राजनीतिबाट हुर्किएको नेतृत्वले सडक, संसद् र संगठन तीनै क्षेत्रमा आफ्नो राजनीतिक चेतना प्रमाणित गरेका छन्। दुवै कांग्रेसका लागि चुनौती सामना गर्ने र सम्भावना पनि देखाउने नेता हुन्।
गगन–विश्व कांग्रेसलाई ‘इतिहासमा सीमित पार्टी’ होइन, ‘गर्विलो इतिहास सहितको भविष्यमुखी पार्टी’ बनाउन चाहन्छन्। नेतृत्व उत्तराधिकारी होइन, उत्तरदायी हुनुपर्छ। कांग्रेसको ऐतिहासिक दायित्व केवल सत्ता प्राप्ति होइन, लोकतन्त्रको रक्षा र समाजको रूपान्तरण हो। आज देश बेरोजगारी, भ्रष्टाचार, निराशा र वैदेशिक पलायनको संकटमा छ। यस्तो बेला कांग्रेसभित्र नयाँ ऊर्जा, नयाँ दृष्टिकोण र नवीन कार्य आवश्यक छ। गगन–विश्वले ढकढकाएको ढोका वास्तवमा एउटा व्यक्तिको ढोका होइन। यो कांग्रेस र मुलुकको भविष्यतर्फ खुल्ने ढोका हो।
४. शासकीय सुधारको आशा
विशेष महाधिवेशन मार्फत केही महत्वपूर्ण शासकीय सुधारका विषयहरू उठान भएका छन्। निर्वाचनपूर्व गठबन्धनको अन्त्य, दुई पटक प्रधानमन्त्रीको कार्यकाल, समयानुकूल संविधान संशोधन, कानून निर्माणलाई तीव्रता, कार्यान्वयनमा प्रभावकारिता रहेका छन्। कांग्रेसमा आएको रूपान्तरणले बुद्धिजीवी, कर्मचारी र प्रबुद्ध व्यक्तिहरूमा पनि नयाँ आशाको सञ्चार भएको छ। कांग्रेसको आन्तरिक लोकतन्त्र र मुलुकको राजनीतिक रूपान्तरणलाई नजिकबाट नियाल्दै आएको विद्वतवर्गले मुलुकको शासकीय सुधारमा अपेक्षा गरेका छन्।
निर्वाचन र सत्ता सुधारका लागि गठबन्धनको अन्त्य, सांसद्, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको कार्यकाल संविधानमा नै तोक्ने, प्राइमरी निर्वाचन, नो भोटको व्यवस्था, विदेशमा रहेका नागरिकलाई मतदान व्यवस्था गर्ने नयाँ प्रस्ताव रहेका छन्। सुशासनका लागि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने। कुनै पनि सार्वजनिक पदको शपथ लिनुअगाडि सम्पत्ति विवरण सार्वजनिक अनिवार्य गर्नुपर्ने। भ्रष्टाचारको आरोप लाग्नासाथ नेता वा सदस्य स्वत: निलम्बन हुने पार्टीले कसैलाई पनि संरक्षण नगर्ने शून्य सहनशीलता अपनाउने। आन्तरिक सुशासन आयोग गठन गर्ने।
सार्वजनिक सेवा सुधारमा सहजका लागि क्षतिपूर्ति सहितको सेवा सञ्चालन गर्ने। नागरिकता, कर जस्ता सेवा एकद्वार प्रणालीबाट डिजिटल प्रणालीमा लागू गर्ने। संवैधानिक निकाय र विश्वविद्यालयमा दलीय भागबण्डा हुने छैन। नियुक्ति योग्यताका आधारमा गरिनेछ। पार्टीका सदस्य तथा पूर्वकर्मचारी अवकाशको दुई वर्षसम्म संवैधानिक नियुक्ति नपाउने।
एक व्यक्ति जीवनमा एक पटक मात्र समानुपातिक सांसद् बन्न पाउनेछन्। विभिन्न क्षेत्रका विज्ञलाई पार्टीमा सिधै ल्याउन ‘ल्याटरल इन्ट्री’को व्यवस्था गरिनेछ। समावेशिताका लागि सिंगल रोटेशन निर्वाचन अवधारणा अघि बढाउने, आर्थिक नीतितर्फ आत्मनिर्भर अर्थतन्त्र रेमिटेन्सको निर्भरतालाई हटाउँदै, उत्पादन, ऊर्जा र पर्यटनमा जोड दिने भनिएको छ। विकासमा ढिलासुस्ती रोक्न सार्वजनिक खरिद कानून फेरिने र प्रक्रियालाई पारदर्शी बनाउने विषयले शासकीय सुधारलाई संकेत गरेका छन्।
यसबीच, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ। उनकै सारथी उपसभापति विश्वप्रकाशले प्रधानमन्त्रीको घोषणाका लागि पाँच आधार तय गरेका छन्। व्यक्तिगत पृष्ठभूमि, राजनीतिक संस्कार, राजनीतिक योगदान, योग्यता र भिजन जस्ता मापदण्डका आधारमा कांग्रेसले गगनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको छ। विगतदेखि नै गगन थापाले समुन्नत नेपाल, सम्मानित नेपाली भन्ने नारामा आधारित रहेर विभिन्न विज्ञहरू सहित प्रोजेक्ट गभर्न्यान्सको बहस र तयारी गरिरहेका छन्।
नि:सन्देह आमजनता र कांग्रेसजनमा गगन–विश्वप्रति विश्वास र अपेक्षा बढ्दो छ। यथास्थितिवाद र परम्परावादको आलोचना खेपिरहेको दललाई नवआधुनिक र चलायमान संगठन बनाउनेतर्फ पछिल्लो केन्द्रीय समितिका बैठक, महासमितिमा प्रस्तुत प्रतिवेदन, पार्टीका कार्यक्रमहरू, सरकारको कार्यसम्पादनमा सहयोग र खबरदारीका साथै यसअघि संसद्मा दरिलो उपस्थितिहरूको इतिहासले दर्बिलो संकेत पनि गरेका छन्।
पार्टीको नेतृत्व पुस्तान्तरण भएको छ। अब सरकारको नेतृत्व नयाँ पुस्ताले सम्हालेको देख्ने चाहना कांग्रेसजन मात्र होइन आममानिसको पनि हो। पछिल्लो समय कांग्रेस कतिपय समयानुकूल नीतिहरूमा स्पष्ट हुनुपर्ने आवश्यकता देखिएको छ। पार्टीको आन्तरिक लोकतन्त्रदेखि मुलुकको लोकतान्त्रिक दिशा निर्धारण गर्नु साथै सरकार सञ्चालनमा नयाँपन र नतिजा चाहिएको छ।
जेनजी विद्रोहपछि नेपालमा नयाँ राजनीतिक शक्तिहरूको उदय भएको छ । पुराना दलमाथि विभिन्न कोणबाट रूपान्तरणको चुनौती थपिएको छ। गगन–विश्वका पछिल्ला कार्यहरू समयानुकूल, संयमित र प्रभावकारी देखिन्छन्। अब नतिजा र डेलिभरीमा देखिनु जरूरी छ।
एकातिर, पपुलिस्ट राजनीतिको उदय र अर्कातर्फ बलियो संगठन सहित एमालेसँगको पार्टी प्रतिस्पर्धा गर्न पनि कांग्रेसमा कुशल, भिजनरी र परिपक्व नेतृत्व चाहिन्छ। यस्तो अवस्थामा परम्परावादी सोच, यथास्थितिवादी कार्य र भ्रष्टाचारको आरोपलाई चिर्न आवश्यक छ। लोकतान्त्रिक पार्टीको पहिचान सहित आवश्यक समयमा मुलुकको नेतृत्व गरेको कांग्रेसले अब मुलुकको सुशासन र समुन्नतिको मार्गलाई डोर्याउने नेतृत्वको खाँचो छ। त्यसका लागि गगन पुस्ता पार्टीको नेतृत्वमा पुगेको छ अब सरकारको नेतृत्वको लागि पनि अब्बल देखिनु अनिवार्य भइसकेको छ।
विगतदेखि वर्तमानसम्म हेर्दा संसद्, सडक, सरकार र सामाजिक सञ्जालमा विभिन्न कोणबाट नेताहरूको विवेचनात्मक मूल्याङ्कन, आलोचना र समर्थन गर्ने क्रम तीव्र छ। पछिल्लो पटक संसद्मा समाजका मुद्दाहरू सभापति गगन थापाले निकै परिपक्व र दरिलो ढंगबाट उठाएका उदाहरण छन्। पार्टीभित्रैको प्रतिस्पर्धादेखि अन्तरपार्टी बीचको प्रतिस्पर्धाले उनलाई नेताको निरन्तर उचाइमा अगाडि बढाइरहेको नि:सन्देह छ।
संसद्मा सत्ता पक्षमा हुँदा होस् कि प्रतिपक्ष जुनसुकै जिम्मेवारीमा रहँदा पनि समाजमा उठेका मुद्दाहरूमा सत्य बोल्न र विधिको शासन कायम गराउन उनी डगमगाएका छैनन्। उनको अनुभव, अध्ययन र अडानले पनि आशा थपिएको छ। जेनजी विद्रोहपछिका परिपक्व वक्तव्यहरूले झन् उनको उचाइ बढेको छ। जुन कुराले सरकारको नेतृत्वको बलियो सम्भावना पनि देखाएको छ।
आमनागरिकले संविधानको समयानुकूल संशोधन र कार्यान्वयन, कानून निर्माणलाई तीव्रता, संघीयताको सुदृढ अभ्यास, सुशासन र समुन्नतिका लागि संस्थागत विकास साथै भूराजनीतिक सन्तुलनका लागि कांग्रेसमा भिजन सहितको कुशल नेतृत्व गर्ने क्षमतामा गगन थापा उभिएका छन्। आधुनिक समयानुकूल मुलुकको वास्तविक अवस्थालाई बुझेको र भावी दिनमा वैचारिक रूपमा स्पष्ट दृष्टिकोण, सामाजिक–आर्थिक रूपान्तरण, लोकतन्त्र र सामाजिक न्याय, कूटनीतिक परिपक्वता, राष्ट्रिय हित, भ्रष्टाचार विरुद्ध रही सुशासनको पक्ष र समुन्नतिको मार्गलाई नेतृत्व गरी आम मानिसमा आशाको सञ्चार गराउन सक्ने कांग्रेसको कुशल नेतृत्व तयार रहेको संकेत देखिन्छ।
अन्त्यमा, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई कुशलतापूर्वक नेतृत्व गर्ने मियो बन्न कांग्रेस तयार हुनुपर्छ। जेनजी विद्रोहपछिको संवैधानिक, राजनीतिक र आर्थिक संकटमोचनका लागि कांग्रेसमा एकताको सन्देश सहित अग्रगामी नीति, योजना र कार्यक्रममा स्पष्ट खाँचो छ। मुलुकलाई युगसुहाउँदो नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वास पैदा गर्नु नै आजको मुख्य आवश्यकता हो। पार्टीमा विधिवत् विद्रोह गर्दै पार्टी रूपान्तरण गराएका गगन–विश्वले अब जनताको मन, मत र साथ आर्जन गर्दै मुलुक रूपान्तरणको अभियानलाई टुंगोमा पुर्याउनुपर्दछ। यो नै गगन–विश्वले निभाउनुपर्ने वर्तमानको अभिभारा हो।
प्रतिक्रिया 4