२० माघ, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धी विज्ञहरूसँगको संवाद कार्यक्रममा उनले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताएकी हुन् ।
उपसभापति भुसालले राजनीतिक दलहरू निर्वाचनको मैदानमा गइसकेको स्पष्ट पारिन् ।
उनले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसद्ले गर्ने बताइन् ।
उनले भनिन्, ‘सबै पार्टीहरूले उम्मेदवार तय गरेर निर्वाचनमा होमिइसकेको र निर्वाचनका लागि संरचना बनाइसकेको छ । त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरू निर्वाचनमा गइसकेको छ । राजनीतिक दलहरू चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । उम्मेदवारले त्यसको अपेक्षा सरकार र निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो ।’
उपसभापति भुसालले कांग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पुर्याएको जानकारी दिइन् ।
प्रतिक्रिया 4