२२ माघ, सिरहा । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिरहा-३ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुवै दलले यस क्षेत्रलाई प्रतिष्ठाको विषय बनाउँदै चुनावी गतिविधि गरिरहेका छन् ।
एमालेले यस क्षेत्रमा निवर्तमान सांसद लीलानाथ श्रेष्ठलाई नै उम्मेदवार बनाएको छ । प्रचारप्रसारमा रहेका एमाले नेताकार्यकर्ताले श्रेष्ठलाई अनुभवी, लोकप्रिय र विकासमुखी नेताका रूपमा प्रस्तुत गरिरहेको छ । श्रेष्ठले पछिल्लो कार्यकालमा शिक्षा, सडक तथा स्थानीय विकासका विभिन्न योजनामा काम गरेको एमाले नेताकार्यकर्ताहरूको दाबी छ ।
‘लीलानाथ श्रेष्ठ पार्टीभित्र मात्र होइन, जनतामाझ पनि लोकप्रिय नेता हो,’ एमाले जिल्ला लकमिटी सदस्य श्यामकुमार श्रेष्ठले भने, ‘उहाँको नेतृत्वमा एमालेले सहजै चुनाव जित्छ ।’ एमाले नेताकार्यकर्ताले यसो भने पनि श्रेष्ठ पटक–पटक सांसद बन्दापनि अपेक्षित काम गर्न नसकेको मतदाताको गुनासो पनि उस्तै छ ।
कांग्रेसले पूर्व केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अहिले घरदैलो अभियान, संगठन विस्तार र जनसम्पर्क कार्यक्रमलाई तीव्र पारेको छ ।
लगातार एमालेकै श्रेष्ठले जित्दै आएको क्षेत्रमा कांग्रेसले यसपटक ‘परिवर्तनको आवश्यकता’को नारा लगाउँदै आफ्नो पक्षमा माहाैल बनाउन कोसिस गरिरहेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. शम्भु साह उम्मेदवार छन् । वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) सक्रिय भएपछि बढेको आकर्षणबाट मतदाताको हौसला बढेको रास्वपाको दाबी छ । हालसम्म बालेनप्रति मतदाताको चासो बढेपनि माहाैल नै खुलिसकेको भने देखिएको छैन । रास्वपा नेताकार्यकर्ता बालेन सिरहा आउँदा माहाैल खुल्ने आशामा उनलाई पर्खेर बसेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट विश्वनाथ साह उम्मेदवार छन् । पूर्व मन्त्रीसमेत रहेका साहले मिटरब्याज पीडित आन्दोलनमा अगुवाइ गरेका थिए । जसले सुदखोर(साहु-महाजन)हरूको पहुँचमा रहेका मतदाता प्रभावित भएर उनलाई ठुलै क्षति हुनसक्ने आँकलन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)बाट असेश्वर यादव उम्मेदवार बनेका छन् । २०७४ को प्रतिनिधिसभामा यही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार रहेका यादव त्यो बेला दोस्रो भएका थिए ।
यस्तै जनमत पार्टीले रोहित महतोलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा कुल ३९ जना उम्मेदवार प्रतिस्पर्धा छन् ।
विगतको अंकगणित
यो क्षेत्रमा अहिले पनि उम्मेदवार रहेका एमालेका उम्मेदवार श्रेष्ठले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लगातार जित निकालेका थिए । ०७४ मा उनले २३ हजार २२७ मत र ०७९ मा २८ हजार ६४ मतसहित जित निकालेका थिए । उनको यी जितमा पहिलोमा बाम गठबन्धन र दोस्रोमा जसपाको समेत साथ थियो ।
स्थानीय तहको नतिजा हेर्दा पनि यहाँ एमाले सांगठानिक रूपमा सुदृढ देखिन्छ । २०७९ स्थानीय तह निर्वाचमा यहाँका ४१ वडामध्ये १५ वडामा एमालेका वडाध्यक्ष छन् । सिरहा र गोलबजार नगरपालिका, नरहा र विष्णुपुर गाउँपालिकामा एमालेकै नेतृत्व छ ।
हाल नेकपाबाट उम्मेदवार विश्वनाथ साह ०७९ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेर २६ हजार ८८२ मत प्राप्त गरी दोस्रो भएका थिए । त्यो बेला उनलाई कांग्रेस र तत्कालीन लोसपासमेतको साथ थियो । अहिले कांग्रेसको आफ्नै उम्मेदवार रहँदा लोसपाको जसपासँग एकता भइसकेको छ ।
२०७४ मा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा रहेको कांग्रेसका उम्मेदवार अमर रेग्मी त्यो बेला तेस्रो भएका थिए । उनले ११ हजार ७७८ मत पाएका थिए । त्यो बेला संघीय समाजवादी फोरमका असेश्वर यादव २१ हजार २२० मतसहित दोस्रो भएका थिए । उनी हाल जसपाबाट उम्मेदवार छन् । २०७९ मा रास्वपाका दीपककुमार साहले ४६३ मत मात्रै पाएका थिए ।
यो क्षेत्रमा २०७९ मा समानुपातिकतर्फ भने १६ हजार १४३ मतसहित कांग्रेस पहिलो भएको थियो । यस्तै ५ हजार ५९८ मतसहित एमाले दोस्रो हुँदा १० हजार १७७ मतसहित जनमत पार्टी तेस्रो भएको थियो ।
तत्कालीन नेकपा माओवादी केन्द्रले ८ हजार ४८५, जसपाले ७ हजार ९६०, तत्कालीन नेकपा एसले ६ हजार ८१८ मत पाएका थिए ।
प्रतिक्रिया 4