+
+
Shares

भोट माग्दै राजेन्द्र महतो भन्छन्- मधेशका सवालमा सधैँ लड्छु

सर्लाही-२ मा महेन्द्र राय यादव र राजेन्द्र महतोबीच कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ । यसअघि भएका निर्वाचनमा पटक–पटक आमनेसामने भएका यी दुई नेताको प्रतिस्पर्धा यसपटक पनि स्थानीय चासोको विषय बनेको छ ।

अमलेश शर्मा अमलेश शर्मा
२०८२ माघ २२ गते ९:५६

२२ माघ, सर्लाही । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको मुद्दाबाट आफू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ मा उम्मेदवार रहेका अध्यक्ष महतोले कौडेना गाउँपालिकामा आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै मधेशी समुदायसहित उत्पीडित वर्गको अधिकारका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्थानीय कार्यकर्ता र सर्वसाधारणसँगको भेटघाटका क्रममा महतोले मधेशी, थारु, मुस्लिम, जनजातिलगायत पहिचान र अधिकारबाट वञ्चित समुदायको आवाज संसद्सम्म पुर्‍याउने बताए । ‘राजनीति पद र सत्ताका लागि मात्र होइन, जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान गर्ने माध्यम हुनुपर्छ,’ महतोले भने ।

उम्मेदवारी दर्तापछि महतो सर्लाहीका गाउँ–बस्तीमा सक्रिय देखिएका छन् । मलंगवा ब्रह्मपुरी, हरिपुर्वा, विष्णु गाउँपालिका, कविलासी नगरपालिका र कौडेना गाउँपालिकाका विभिन्न वडामा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन् । भेटघाटका क्रममा स्थानीयले सडक, सिँचाइ, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषय उठाउने गरेका छन् ।

स्थानीयसँगको अन्तरक्रियामा महतोले जनताको समस्या सुन्नु नै आफ्नो प्राथमिकता रहेको बताए । आगामी दिनमा पनि घरदैलो र सामूहिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

महतो-यादव प्रतिस्पर्धा

यसैबीच सर्लाही–२ मा फेरि एकपटक पुरानै राजनीतिक प्रतिस्पर्धा दोहोरिने देखिएको छ । यस क्षेत्रबाट महेन्द्र राय यादव र राजेन्द्र महतोबीच कडा चुनावी भिडन्त हुने संकेत देखिएको छ । यसअघि भएका निर्वाचनमा पटक–पटक आमनेसामने भएका यी दुई नेताको प्रतिस्पर्धा यसपटक पनि स्थानीय चासोको विषय बनेको छ ।

२०७९ सालको निर्वाचनमा महतो दोस्रो स्थानमा सीमित भएका थिए । त्यसअघि २०७० सालको निर्वाचनमा पनि यादवसँगको प्रतिस्पर्धामा उनी पराजित भएका थिए । तर २०७४ सालको निर्वाचनमा धनुषा–३ बाट चुनाव जितेर महतोले आफ्नो राजनीतिक प्रभाव देखाइसकेका छन् ।

यसपटकको चुनावमा नयाँ उम्मेदवार मैदानमा उत्रिए पनि स्थानीय तहमा मुख्य प्रतिस्पर्धा यादव र महतोबीच नै हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । चुनाव नजिकिँदै जाँदा सर्लाही–२ का गाउँबस्तीमा चुनावी चहलपहल बढ्न थालेको छ । फागुन २१ को मतदानले यस क्षेत्रको राजनीतिक दिशा कता जान्छ भन्ने चासो बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?