News Summary
Generated by OK AI. Editorially reviewed.- \'द स्टन्ट म्यान\' सन् १९८० मा रिलिज भएको फिल्म हो जसले निर्देशकको सनकले अरूको जीवनमा पार्ने प्रभाव देखाउँछ।
सन् १९८० मा प्रदर्शनमा आएको ‘द स्टन्ट म्यान’ हलिउड इतिहासकै एउटा भिन्न र अर्थपूर्ण फिल्म मानिन्छ । निर्देशक रिचर्ड रसले निर्देशन गरेको यो फिल्मले एउटा फिल्मभित्र अर्को फिल्म कसरी बन्छ भन्ने कुरा त देखाउँछ नै, सँगै एउटा निर्देशकको सनकले अरूको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने गहिरो मनोविज्ञानलाई समेत अर्थपूर्ण तरिकाले देखाउँछ ।
यो फिल्मको कथा ‘क्यामरुन’ नामको एक युवकबाट सुरु हुन्छ । ती पात्र भियतनाम युद्धमा सामेल पूर्वसैनिक हुन्छन् । र, फिल्मको कथा सुरु हुँदैगर्दा उनी प्रहरीबाट भागिरहेका हुन्छन् ।
संयोगवश, उनी एउटा फिल्मको सुटिङ भइरहेको ठाउँमा पुग्छन् । त्यहाँ एउटा भयानक दुर्घटना भर्खरै भएको हुन्छ । स्टन्ट म्यानले पुलबाट कारलाई नदीमा खसाल्ने क्रममा उसको मृत्यु भएको हुन्छ ।
त्यस घटनाले सो फिल्म बनाइरहेका निर्देशक एली (पिटर ओटुल)लाई आफ्नो फिल्म रोकिएला भन्ने चिन्ता हुन्छ । जब उनले प्रहरीबाट भागिरहेको क्यामरुनलाई देख्छन्, उनले चलाखीपूर्ण योजना बुन्छन् । उनले क्यामरुनलाई पुलिसबाट बचाउने सर्तमा मरेको स्टन्ट म्यानको ठाउँमा काम गर्न प्रस्ताव गर्छन् ।
यसरी एउटा भगौडा अपराधी रातारात हलिउडको स्टन्ट म्यान बन्न पुग्छ ।
पिटर ओटुलले निर्वाह गरेको ‘एली’को पात्र यो फिल्मको सबैभन्दा बलियो पक्ष हो । उनी एक यस्ता निर्देशक हुन्छन्, जो आफूलाई फिल्मको सेटमा ‘भगवान्’ सम्झिन्छन् । उनी हेलिकप्टरमा आकाशबाट झरेर कलाकारहरूलाई निर्देशन दिन्छन्, मानौं उनी स्वर्गबाट आदेश दिइरहेका छन् ।
मुख्यत: एलीको चरित्रमा दुईवटा पाटा छन्:
उनी प्रतिभाशाली र चतुर हुन्छन् । उनी सिनेमालाई कलाको रूपमा असाध्यै माया गर्छन् । तर उनी निर्दयी र स्वार्थी पनि हुन्छन् । उनी आफ्नो एउटा राम्रो ‘सट’ का लागि अरूको ज्यान जोखिममा राख्न कत्ति पनि हिचकिचाउँदैनन् ।
उनको यो विरोधाभाष व्यवहारले दर्शकलाई सधैं दुबिधामा राखिरहन्छ । एली वास्तवमै क्यामरुनलाई मार्न चाहन्छन् कि केवल एउटा राम्रो दृश्य खिच्न खोज्दैछन् ? यो प्रश्न फिल्म हेरुन्जेल, सायद सकिएपछि पनि दर्शकको मनमा खेलिरहन्छ ।
खासमा ‘द स्टन्ट म्यान’ को मुख्य थिम भनेकै ‘के साँचो हो र के भ्रम हो’ भन्ने बीचको लडाइँ हो । क्यामरुनले सेटमा काम गर्दै जाँदा उनलाई लाग्न थाल्छ– त्यहाँ जे भइरहेको छ, त्यो सबै उनकाविरुद्ध रचिएको षड्यन्त्र हो ।
फिल्ममा युद्धका दृश्यहरू खिचिरहँदा कहिलेकाहीँ दर्शकलाई पनि अलमल हुन्छ- के यो साँच्चैको लडाइँ हो कि फिल्मको सुटिङ ? निर्देशकले जानाजानी यथार्थ र काल्पनिक संसारलाई मिसाइदिएका छन् । यसले फिल्म क्षेत्रको त्यो पाटोलाई देखाउँछ, जहाँ मान्छेहरू आफ्नो वास्तविक पहिचान बिर्सिएर एउटा काल्पनिक पात्रमा बाँच्न बाध्य हुन्छन् ।
त्यसैबीच कथामा नयाँ मोड आउँछ । यहाँनेर क्यामरुन फिल्मकी मुख्य नायिका निना (बारबरा हर्श) सँग प्रेममा पर्छन् । तर समस्या के छ भने निना र निर्देशक एलीको सम्बन्ध पनि रहस्यमय हुन्छ । क्यामरुनलाई लाग्छ कि एलीले ईर्ष्याका कारण उनलाई सुटिङका क्रममा मार्ने योजना बनाइरहेका छन् । यसरी फिल्ममा त्रिकोणात्मक प्रेम आइपुग्दा कथा थप रोमाञ्चक बनेको छ ।
द स्टन्ट म्यानबाट निर्देशक रिचर्ड रसले हलिउडको ‘अहंकार’ माथि कडा प्रहार गरेका छन् । उनले फिल्म बनाउने नाममा कतिसम्म लापरवाही गरिन्छ र कसरी सानो मान्छे (प्राय: स्टन्ट म्यान) को श्रम र जोखिमलाई ठूला मान्छे (निर्देशक/निर्माता) ले प्रयोग गर्छन् भन्ने यसमा देखाएका छन् ।
त्यस समयमा खिचिएका स्टन्ट दृश्यहरू आजका डिजिटल प्रविधिको तुलनामा धेरै नै वास्तविक र डरलाग्दा छन् । भवनका छतहरूमा दौडिने र गुडिरहेका गाडीहरूमा गरिएका स्टन्टले दर्शकको ढुकढुकी बढाउँछ।
किनकि ‘द स्टन्ट म्यान’ मनोरञ्जनका लागि मात्र बनाइएको फिल्म होइन । यसमा शक्ति, पागलपन र मान्छेको बाध्यताको कथा देखाइएको छ । निर्देशक, कलाकार र कथावस्तुका कारण आज पनि यो फिल्म जोकोहीका लागि निकै महत्त्वपूर्ण बनेको छ ।
तर फिल्म कहिल्यै पनि प्रश्न गर्न छाड्दैन, के कलाका लागि कसैको जीवन जोखिममा राख्नु जायज छ ?
अब करिब ४५ वर्ष पुरानो यो क्लासिक फिल्म फेरि हलमा लाग्दैछ । यसपछक फिल्मलाई फोरके अल्ट्रा एचडीमा रिस्टोर गरिएको छ । बताइए अनुसार यो फिल्म पहिलेभन्दा धेरै सफा र उच्च गुणस्तरको छ । साथै केही दृश्यहरू समेत नयाँ हुने जनाइएको छ ।
प्रतिक्रिया 4