+
+
Shares
सफलताको कथा :

२० रुपैयाँले जगाएको सपना, बन्यो करोडको व्यवसाय

आमाले मसाला किन्न दिएको २० रुपैयाँले लक्ष्मणबहादुर बस्नेतको जीवनको दिशा मोडियो । तीन दशक अवधिमै बस्नेत दम्पती चारवटा च्याउ फर्मका मालिक बनेका छन् ।

विजय कुमार सिंह विजय कुमार सिंह
२०८२ माघ २३ गते ९:१६

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर बनरास्थित सडक छेउमै ठुलठूला टनेलभित्र च्याउका सेता थुँगा फक्रिरहेका छन् । ती च्याउसँगै फक्रिएको छ– ४६ वर्षीय लक्ष्मणबहादुर बस्नेत र उनकी ३७ वर्षीया श्रीमति शोभा बस्नेतको संघर्षपूर्ण जीवन कथा । विगतमा ठेला धकेलेर तरकारी बेचेका हात आज करोडको लगानी सम्हालिरहेका छन् ।

तर यो सफलताको यात्रामा आँसु, अभाव, ऋण र जोखिमका असंख्य पाना पल्टिएका छन् ।

२०४७ सालमा ११ वर्षका लक्ष्मणलाई उनकी आमाले मसाला किन्न भनेर २० रुपैयाँ हातमा थमाइदिएकी थिइन् । तर त्यो २० रुपैयाँले उनको जीवनको दिशा नै मोडिदियो । पैसा कमाउने लहडले उनलाई गाउँमै रोकेन । गाउँकै टेकबहादुरको सहारामा गलैँचा बुन्ने कामको सपना बोकेर लक्ष्मण काठमाडौं पुगे ।

तीन महिना पसिना बगाएपछि ३०० रुपैयाँ कमाएर घर फर्किँदा उनको हाउभाउ फेरिइसकेको थियो । एक महिनापछि दाइसँग २०० रुपैयाँ मागेर फेरि उनी काठमाडौं हानिए । यसपटक ग्रील कारखानामा १२०० रुपैयाँ तलबमा काम सुरु भयो ।

लक्ष्मणबहादुर बस्नेत र उनकी श्रीमती शोभा बस्नेत

किशोर उमेरमै उनले सहरको कठोर यथार्थ भोगिसकेका थिए । समय बित्दै गयो । २०५८ सालमा बर्दिबास नगरपालिका–२ की शोभासँग लक्ष्मणको लगनगाँठो कसियो । जीवनले अब स्थिर मोड लिन्छ कि भन्ने आशा पलाएको थियो । तर संघर्षले उनीहरूलाई अझै छाडेको थिएन ।

२०६० सालमा ६ महिनाको छोरो काखी च्यापेर १५ वर्षको उमेरमा शोभा पनि काठमाडौं पुगिन् । घरबेटीसँग दुई हजार रुपैयाँ सापटी लिएर उनले एउटा ठेला किने । त्यही ठेलामा सुरु भयो, शोभाको फलफूल र तरकारी व्यापार । ‘सुरुमा सक्दिनस् भनेर श्रीमानले रोक्नुभयो,’ शोभा भन्छिन्, ‘तर मेरो आँट देखेपछि उहाँले साथ दिन थाल्नुभयो । म ६ महिनाको छोरोलाई पिठ्युँमा बोकेर ठेला धकेल्थेँ । क्यारेटमा बाबु सुताउँथेँ ।’

२०६२ सालको १९ दिने जनआन्दोलनले काठमाडौं तातेको थियो । तर आन्दोलन, बन्दले सडकमा शोभाको ठेला रोकिएन । छोरोलाई लक्ष्मणको जिम्मा लगाएर उनी तरकारी बेच्न निस्किन्थिन् । आन्दोलनबाट सुरक्षित रहन छोराछोरी र श्रीमानलाई भने घरबाहिर ननिस्कन आग्रह गर्थिन् ।

२०६९ सालको कुरो हो, सडकमै व्यवसाय गरेको भन्दै महानगर प्रहरीले काठमाडौंको सीतापाइलाबाट उनको ठेला जफत गर्‍यो । त्यो घटनाले शोभालाई क्षणभर थला पार्‍यो, तर हिम्मत तोडेन ।

शोभाले २०६८ सालमा ठेलामै च्याउ बेच्न सुरु गरिन् । च्याउमा ग्राहकको चासो देखेर उनी उत्साहित भइन् ।

२०६९ सालको कुरो हो, सडकमै व्यवसाय गरेको भन्दै महानगर प्रहरीले काठमाडौंको सीतापाइलाबाट उनको ठेला जफत गर्‍यो । त्यो घटनाले शोभालाई क्षणभर थला पार्‍यो, तर हिम्मत तोडेन ।

च्याउ किन्न उनी आफैँ निरन्तर फर्महरूमा जान थालिन् । त्यही क्रममा ‘आफैँ उत्पादन किन नगर्ने ?’ भन्ने सोच पलाएपछि २०७३ सालमा लक्ष्मण दम्पतीले एक जनालाई साझेदार बनाएर २० लाख रुपैयाँ लगानीमा च्याउ खेती सुरु गरे । तर, लक्ष्मण दम्पतीलाई सफलता हात लागेन । पटक–पटक प्रयास गर्दा पनि उनीहरुको च्याउ खेती फापेन । ऋणको पैसा डुब्यो, पूँजी टुट्यो । तर उनीहरूको हिम्मत भने टुटेन ।

फेरि ऋण गरेरै अरु २० लाख रुपैयाँ लगानीमा यसपटक लक्ष्मण दम्पत्तीले एकल रूपमा च्याउ खेती सुरु गरे । यसपटक मिहिनेतले साथ दियो । उत्पादन बढ्दै गयो, बजार विस्तार हुँदै गयो । लक्ष्मण र शोभाको आत्मविश्वास पनि बलियो बन्दैगयो ।

आज लक्ष्मण दम्पतीको अवस्था सुरुवाती दिनसँग आकाश–पातालको फरक छ । काठमाडौंमा दुई र महोत्तरीको बर्दिबासमा दुई गरी चारवटा च्याउ फर्म सञ्चालनमा छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं २ र ६ मा १० रोपनी जग्गा वार्षिक पाँच लाख रुपैयाँमा लिज लिएर दुई फर्म चलाएका छन् । बर्दिबास–६ मा २५ कठ्ठा आफ्नै र २५ कठ्ठा लिजमा लिएर थप दुई फर्म सन्चालनमा छन् ।

यी चारवटै फर्ममा १८ जनाले रोजगारी पाएका छन् । चारवटा फर्ममा करिब एक करोड रुपैयाँ लगानी भएको लक्ष्मण बताउँछन् । ती फर्मबाट बर्सेनि २० लाख रुपैयाँ हाराहारीमा आम्दानी भइरहेको उनी बताउँछन् ।

काठमाडौंको चोभारमा साढे तीन आना जग्गामा पक्की घर, आफ्नै चारचक्के गाडी, च्याउ ढुवानीका लागि छुट्टै गाडी र शोभाको आफ्नै स्कुटर पनि थपेका छन् ।

ठेला धकेल्दा शोभाको पिठ्युँमा बाँधिएका छोरो आज २२ वर्षको भइसकेको छ । ‘तीन वर्षअघि स्नातक पढ्न छोरो अष्ट्रेलिया पुगेको छ । कान्छो काठमाडौंमै तीन कक्षामा पढ्छ,’ महोत्तरीस्थित फर्ममा भेटिएकी शोभा भन्छिन्, ‘सानो बाबुको स्याहार–सुसारका लागि ममी काठमाडौंमै बस्दै आउनुभएको छ । हामी यहाँसम्म आइपुग्नुमा मेरो ममीको ठुलो सहयोग छ ।’

कालीमाटीमा शोभाको च्याउ पसल परिचित छ । ‘बल्खुमा पनि पसल थियो, समय दिन नसकेर बन्द गर्नुपर्‍यो,’ लक्ष्मण भन्छन्, ‘महोत्तरीका दुई फर्मबाट अहिले दैनिक १७–१८ क्वीन्टल च्याउ उत्पादन हुन्छ । त्यसमध्ये १२ क्वीन्टल काठमाडौं पठाइन्छ भने ५–७ क्वीन्टल सर्लाहीदेखि जनकपुरसम्म स्थानीय बजारमा खपत हुन्छ ।’

महोत्तरीका फर्ममा भदौदेखि वैशाखसम्म मात्रै च्याउ उत्पादन हुने गरेको लक्ष्मण बताउँछन् । ‘च्याउलाई चिसो वातावरण चाहिन्छ,’ लक्ष्मण भन्छन्, ‘गर्मीमा एसी चलाएर उत्पादन गर्ने हाम्रो क्षमता छैन ।’

देशमै केही गर्ने अठोटले यहाँसम्म पुगे पनि राज्यबाट कुनै किसिमको सुविधा नपाएको लक्ष्मण बताउँछन् । ‘सेवा–सुविधा र अनुदान त परको कुरा, हौसला समेत पाएका छैनौँ,’ उनी भन्छन् ।

पानीको अभाव झेलिरहेका उनीहरू इनारको माग गर्दा पनि स्थानीय सरकारले नसुनेको गुनासो गर्छन् । ‘हाम्रो फर्मको बाटो हुँदै जनप्रतिनिधि आउजाउ गर्छन्, फर्केर हेर्न पनि आउँदैनन्,’ उनी भन्छन्, ‘कम्तीमा के भइरहेको छ भनेर बुझ्न आए पनि हामीलाई खुशी मिल्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?