+

भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढ्यो

२०८२ माघ  २७ गते ०:०५ २०८२ माघ २७ गते ०:०५
भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढ्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी, पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्डबीच टी-२० विश्वकप २०२६ मा भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढेको छ।
  • बंगलादेश क्रिकेट बोर्डले पाकिस्तानलाई खेल खेल्न आग्रह गरिसकेको छ र २४ घण्टाभित्र पाकिस्तान सरकारको निर्णय आउने बताइएको छ।
  • आईसीसीले बंगलादेशलाई आर्थिक, खेलकुद वा प्रशासनिक कारबाही नलगाउने र सन् २०२८ देखि २०३१ भित्र प्रतियोगिता आयोजना गर्ने अवसर दिने सहमति गरेको छ।

२६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढेको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल खेल्न आग्रह पनि गरिसकेको छ भने समग्र अवस्थाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पीसीबी र बीसीबीबीच सकारात्मक र रचनात्मक संवाद पनि सम्पन्न भएको छ ।

यो संवादपछि भारत र पाकिस्तानबीचको विश्वकप खेल हुने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमहरूले पनि दाबी गरिरहेका छन् । यसबारेमा पाकिस्तान सरकारको निर्णय आउन बाँकी छ । २४ घण्टाभित्र निर्णय हुने बताइएको छ ।

आईसीसीले जारी गरेको प्रेस नोटअनुसार बैठकमा टी–२० विश्वकप २०२६ सहित दक्षिण एसियामा क्रिकेटको भविष्य, सहकार्य र विकासका विषयमा विस्तृत छलफल भएको थियो । टी–२० विश्वकपमा बंगलादेश टोली सहभागी हुन नसकेको विषयलाई लिएर आईसीसीले बीसीबीलाई महत्वपूर्ण पूर्ण सदस्यका रूपमा सम्मानित गर्दै भविष्यमा क्रिकेट विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

आईसीसीले बंगलादेशमाथि कुनै पनि आर्थिक, खेलकुद वा प्रशासनिक कारबाही नलगाइने स्पष्ट पारेको छ । साथै आवश्यक ठानेमा बीसीबीलाई आईसीसीको विवाद समाधान समितिमा जाने अधिकार यथावत रहने उल्लेख गरिएको छ ।

सम्झौताअनुसार बंगलादेशले सन् २०२८ देखि २०३१ भित्र आईसीसीको एउटा प्रतियोगिता आयोजना गर्ने अवसर पाउने सहमति पनि भएको छ । यसले बंगलादेशको आयोजन क्षमता र त्यहाँको क्रिकेट विकासमा आईसीसीको विश्वास झल्काउने जनाइएको छ ।

आईसीसी, पीसीबी र बीसीबीले आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत क्रिकेटको एकता, पारदर्शिता र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले बंगलादेशको अनुपस्थिति दुःखद भए पनि भविष्यमा त्यहाँको क्रिकेट विकास र अवसर विस्तारमा आईसीसीको समर्थन कायम रहने बताएका छन् ।

यसअघि सुरक्षा कारण देखाउँदै बंगलादेशले भारतमा गएर खेल्न अस्वीकार गरेको थियो। श्रीलंकामा छोटो समयमै वैकल्पिक व्यवस्था हुन नसकेपछि आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराएको थियो।

त्यही निर्णयपछि पाकिस्तानले बंगलादेशको पक्षमा उभिएर आईसीसीलाई डबल स्टयान्डर्ड देखाएको आरोप लगाउँदै भारतसँग हुने विश्वकपको खेल नखेल्ने निर्णय गरेको थियो ।

टी-२० विश्वकप २०२६ भारत पाकिस्तान क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय