+
+
Shares

मधेशमा बालेन क्रेज, चिर्नुपर्ने पाँच चुनौती

बालेनलाई पार्टी सभापति रवि लामिछानेमाथि लागेका आरोपहरूले घेराबन्दी गर्ने सम्भावना छ । दोहोरो नागरिकता, राहदानीदेखि सहकारी प्रकरणमा रवि जोडिएका छन् । जसको सामना बालेनले गर्नुपर्नेछ ।

बीपी साह बीपी साह
२०८२ माघ २८ गते ९:४४

काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह प्रधानमन्त्रीका उम्मेदवार घोषणा हुनुले नै मधेशमा खुशीको सञ्चार गर्‍यो । मेयर हुँदासम्म उनले आफूलाई मधेशी भनेर चिनाएनन् । तर पहिलो चुनावी सभा जनकपुरबाट शुरु गरेर मधेशी भाषामा सम्बोधन गरे । जसकारण, मधेशको शहरी क्षेत्रमा (जोसँग, इन्टरनेटको पहुँच छ र परिवारका सदस्य वैदेशिक रोजगारीमा छन्) बालेनको क्रेज बढेको छ ।

‘मधेशीया छौरा प्रधानमन्त्री’ भन्ने भाष्यले मधेशी समुदायमा आत्मसम्मान जगाइदिएको छ भने युवाहरूमा जोश जगाएको छ । २०६४ को उपेन्द्र यादव र २०७९ को सिके राउत भन्दा बढी क्रेज बालेनप्रति देखिएको छ ।

अवसरवादीहरूलाई अवसर

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन भने समानुपातिकतर्फ आठौं स्थानमा थियो । चार प्रदेशमा रास्वपा तेस्रो र दुई प्रदेशमा पाँचौं हुँदा मधेश सबभन्दा कमजोर बन्यो । मधेशमा रास्वपाले ७२ हजार ८३५ मत पाएको थियो ।

यसपटक बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले रास्वपातर्फ आकर्षण बढेको छ । सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार छन् ।

मिडिया र सोसल मिडियामा परिचित डा. अमरेशकुमार सिंह रास्वपाबाटै उम्मेदवार छन् । यो पार्टीबाट उम्मेदवार बन्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सदस्य परित्याग गर्नेहरू छन् । पूर्वमन्त्रीदेखि व्यक्तिहत्याका दोषीलाई पनि उम्मेदवार बनाइएको छ । चुनावैपिच्छे पार्टी फेरेर उम्मेदवार बन्ने पल्टुरामहरू नहुने कुरै भएन ।

जबकि जेनजी आन्दोलनका प्रमुख एजेण्डा थिए– भ्रष्टाचार नियन्त्रण र नेपो बेबी । तर पूर्वराज्य मन्त्री चन्द्रकान्त चौधरीका छोरा डा. अमरकान्तलाई रास्वपाले सप्तरी–३ बाट उम्मेदवार बनाएको छ । चन्द्रकान्त प्रधानपञ्चदेखि राज्यमन्त्रीसम्म बनेका थिए । सप्तरी–४ का उम्मेदवार नेपाली कांग्रेसबाट स्थानीय र प्रदेश सभा चुनावमा पराजित व्यक्ति हुन् ।

राजविराज नगरपालिकाका पूर्वमेयरका ज्वाइँ र महोत्तरीको गौशाला नगरका पूर्वमेयरका भतिज सप्तरी–२ मा छन् । धनुषा–२ मा उम्मेदवार रहेका रामविनोद यादव ज्यान हत्या आरोपमा तीन वर्ष जेल सजाय खेपेका व्यक्ति हुन् ।

रास्वपाले मधेशका सदाबहार उम्मेदवारहरूलाई पनि टिकट दिएको छ । किशोरी साह सुडी त्यसको एक उदाहरण हुन् । पार्टी फेर्दै उम्मेदवार बनिरहने सुडीलाई यसपटक रास्वपाले उम्मेदवार बनाएको छ ।

सर्लाही–३ बाट उम्मेदवार नरेन्द्र साह कलवार यसअघि समानुपातिक सांसद थिए । उनी २०७४ मा महिन्द्र राय यादव नेतृत्वको पार्टीबाट सांसद भएका थिए । २०७९ को निर्वाचनमा भने उनी पराजित भए ।

सर्लाही–४ बाट उम्मेदवार बनेका डा. अमरेशकुमार सिंह लामो समय कांग्रेसको राजनीतिमा थिए । अघिल्लो चुनावमा टिकट नपाएपछि स्वतन्त्र उठेर जितेका उनी यसपटक रास्वपाबाट उम्मेदवार छन् ।

महोत्तरी–३ बाट रास्वपाको उम्मेदवार बनेका उज्ज्वल झा पनि कांग्रेस पृष्ठभूमिकै नेता हुन् । तर उनी पनि २०७९ को प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । त्यसपछि जसपा प्रवेश गरेका उनी अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् ।

रौतहट–१ का उम्मेदवार राजेशकुमार चौधरी पनि गत चुनावमा स्वतन्त्र उम्मेदवार थिए । रौतहट–३ का उम्मेदवार धीरज पटेल, बारा–२ का उम्मेदवार चन्दन सिंह, बारा–४ का उम्मेदवार रहबर अन्सारी, पर्सा–२ का उम्मेदवार सुशील कुमार कानु, धनुषा–४ का उम्मेदवार राजकिशोर महतो लगायत विभिन्न पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका नेता हुन् ।

मधेश प्रदेशको ३२ मध्ये २१ क्षेत्रमा रास्वपाले दल फेर्दै हिंड्नेहरूलाई टिकट दिएको छ । यस्ता अवसरवादी पल्टुरामहरूलाई नै उम्मेदवार बनाउनुपर्ने औचित्यबारे रास्वपाले भरपर्दो जवाफ दिन जरूरी छ ।

जोगाउनुपर्ने स्वीङ भोटर

संगठन नभएका नयाँ उम्मेदवारप्रति लहर ल्याउन स्वीङ भोटरको भूमिका मुख्य हुन्छ । नेपालमा स्वीङ भोटरको संख्या मापन गर्ने बलियो आधार छैन । तर शहरी क्षेत्रमा २० देखि ३० प्रतिशत र ग्रामीण क्षेत्रमा करिब १० प्रतिशत मत स्वीङ हुने अनुमान गरिन्छ । शहरिया क्षेत्रमा यसअघि रास्वपा, मधेशमा जनमत र थरुहट क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीप्रति आकर्षण देखिएको थियो ।

मतदान नजिकिंदै जाँदा स्वीङ भोटर जोगाउनु बालेनका निम्ति चुनौती हो । किनभने अहिले अन्य पार्टीहरू खुलेर चुनावी मैदानमा उत्रिएका छैनन् । ती पार्टीहरूले सभा गरेर शक्ति प्रदर्शन गर्न पाएका छैनन् ।

आज बालेनप्रति मधेशमा जस्तो क्रेज देखिएको छ, प्रतिवादमा ती दलहरूले फाल्न सक्ने कार्डले मतदाताको मनोविज्ञान परिवर्तन हुन सक्छ ।

संगठन निर्माण र बुथ व्यवस्थापन

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमालेले ९ सिट जितेर मधेश प्रदेशमा पहिलो दल बनेको थियो भने समानुपातिकतर्फ कांग्रेस ठूलो दल बनेको थियो ।

प्रत्यक्षतर्फ कांग्रेसले ७ सिट, जसपाले ६ सिट, लोसपाले ३ सिट, स्वतन्त्रहरू ३ सिट, एकीकृत समाजवादी २ सिट, जनमत र माओवादीले १/१ सिट जितेका थिए । अर्थात् सांगठनिक हिसाबले कांग्रेस र एमाले नै मधेश प्रदेशमा ठूलो दल हुन् भने तेस्रोमा जसपा छ ।

रास्वपाको मधेश प्रदेशमा सांगठनिक संरचना नगन्य बराबर छ । अघिल्लो निर्वाचनको परिणामका आधारमा रास्वपा समानुपातिकतर्फ आठौं स्थानमा र प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेको थिएन ।

त्यसकारण यस पटकको निर्वाचनमा बालेनलाई मधेश प्रदेशमा संगठन निर्माण ठूलो चुनौती हो । मतदान गर्ने बेलाका लागि मधेशमा बुथ समिति वा बुथमा काम गर्ने कार्यकर्ताहरूले महत्व राख्छ । तर मधेश प्रदेशमा रास्वपा वा बालेनको बुथ स्तरमा समर्पित कार्यकर्ताको अभाव हुन सक्छ ।

मतदाता भए पनि बुथसम्म लगेर मतदान गर्ने बेलासम्म कन्भिन्स गर्ने र मतदाता संरक्षण गर्ने जनशक्तिको अभाव बालेनलाई मधेश प्रदेशमा हुनेछ ।

असन्तुष्ट मनाउनुपर्ने दबाब

बालेनलाई पार्टी सभापति रवि लामिछानेमाथि लागेका आरोपहरूले घेराबन्दी गर्ने सम्भावना छ । दोहोरो नागरिकता, राहदानीदेखि सहकारी प्रकरणमा रवि जोडिएका छन् । जसको सामना बालेनले गर्नुपर्नेछ ।

बालेन प्रधानमन्त्रीका उम्मेदवार बनाइए पनि रवि सभापति रहेकाले यो प्रश्नबाट भाग्न सजिलो पर्ने छैन । बालेनका लागि रास्वपाभित्रकै आन्तरिक द्वन्द्व व्यवस्थापन चुनौती हो । रास्वपाले २०७९ को निर्वाचनमा मधेश प्रदेशको ३२ सिटमध्ये २५ सिटमा उम्मेदवार खडा गरेको थियो । जसमा एक हजार बढी मत ल्याउने ११ जना उम्मेदवार थिए ।

पछिल्लो निर्वाचनमा उम्मेदवार बनेका २५ जना मध्ये मात्र १ जनालाई रास्वपाले यसपटक उम्मेदवार बनाएको छ । बारा–१ मा ३ हजार ३१९ मत ल्याएर तेस्रो स्थानमा रहेका गणेश धिमाललाई रास्वपाले दोहोर्‍याएको हो ।

स्थापनाकालमै चुनावमा उठेर पार्टीलाई सहयोग गरेकाहरू अहिले पाखा लगाउँदा उनीहरूमा उत्साह घट्ने लगभग पक्का छ । त्यसकारण ती २४ पूर्व प्रत्यासी र उनीहरूसँग जोडिएका व्यक्तिको व्यवस्थापन रास्वपाले गर्न सकेन भने त्यसको असर पनि मधेशमा पर्नेछ ।

यही निर्वाचनका निम्ति भनेर रास्वपाले अनलाइन फारम भराएर २५ हजारको दरले संकलन गरेको थियो । कतिपय क्षेत्रबाट दर्जन भन्दा बढीले फारम भरेका थिए । बालेन समूहबाट पनि कतिपय उम्मेदवारले इच्छा गरेका थिए । तिनीहरूसँग समन्वय नगरी टिकट वितरण गरिएको असन्तुष्टि सामाजिक सञ्जालहरूमा देखिएको छ ।

मधेशको मुद्दा र जातीय समीकरण

मधेश बलिदानी दिवसको अवसर पारेर (५ माघमा) बालेनले जनकपुरधाममा सभा गरे । जनकपुरबाट मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सालिकमा माल्यार्पण गर्न लाहान पुगेका थिए । यसले मधेश आन्दोलनलाई बालेनले ग्रहण गर्न खोजेको अनुमान लगाउन सकिन्छ ।

तर मधेश आन्दोलनका मागहरू (मुख्यगरी पहिचान, संघीयता, समावेशिता) बारे स्पष्ट धारणा आइसकेको छैन । यद्यपि प्रदेश संरचनाबारे सकारात्मक सन्देश दिएका छन् ।

मधेशका स्थानीय कृषि, वैदेशिक रोजगारी र शिक्षित बेरोजगारहरू बारे बालेनको नीति सार्वजनिक हुन बाँकी छ । जसले बालेनको धारणा बुझेर कतिपय मतदाता स्पष्ट हुनेछन् ।

मधेशमा मतलाई असर गर्ने महत्वपूर्ण आधार जातीय ध्रुवीकरण हो । रास्वपाले मधेशको ३२ सिटमा उम्मेदवार बनाउँदा जातीय समीकरण पनि मिलाउन खोजेको देखिन्छ । तर सबभन्दा ठूलो हिस्सा रहेको (१८ प्रतिशत हाराहारी) मधेशी दलित समेट्न सकेको छैन ।

दलित पछि दोस्रो स्थानमा रहेको (लगभग १६ प्रतिशत) वैश्य समुदायबाट ९ जना उम्मेदवार छन् । १५ प्रतिशतको हाराहारीमा रहेको यादव जातिबाट ६ जना उम्मेदवार छन् भने झण्डै १३ प्रतिशतको जनसंख्या रहेको मुस्लिम समुदायबाट जम्मा २ जना उम्मेदवार छन् ।

११ प्रतिशतको हाराहारीमा रहेका पहाडी समुदायबाट ५ जना र ५ प्रतिशतको हाराहारीमा रहेका मधेशी कथित उच्च जातीय समूहबाट ४ जना उम्मेदवार छन् ।

उम्मेदवारहरूको जातीय समीकरणमा मधेशी दलित, मुस्लिम र मधेशी जनजातिले अपनत्व महसुस गर्न सक्ने ठाउँ कमै देखिन्छ । त्यसैगरी मतदानको समयमा मधेशवादी कित्तामा रहेका दलहरूले मधेशका एजेण्डालाई चर्को रूप दिएर ध्रुवीकरण बढाउन सक्छन् । त्यसलाई रोक्नु पनि बालेनको लागि चुनौतीपूर्ण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?