+

यी हुन् टी-२० विश्वकपमा एकै टिमबाट खेल्ने दाजुभाई, नेपालबाट आरिफ र आसिफ

२०८२ माघ  २९ गते ०:२७ २०८२ माघ २९ गते ०:२७
यी हुन् टी-२० विश्वकपमा एकै टिमबाट खेल्ने दाजुभाई, नेपालबाट आरिफ र आसिफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका आरिफ शेख र आसिफ शेखले आईसीसी मेन्स टी-२० विश्वकप २०२६ मा इंग्ल्यान्डविरुद्ध एकसाथ खेल्दै नयाँ कीर्तिमान बनाएका छन्।
  • नेपाल र इटलीबीचको आगामी खेलमा तीन जोडी दाजुभाइले सँगै मैदान उत्रने सम्भावना छ, जुन विश्व क्रिकेटमा दुर्लभ घटना हुनेछ।
  • टी-२० विश्वकपमा अहिलेसम्म १२ जोडी दाजुभाइले सँगै खेलिसकेका छन्।

२९ माघ, मुम्बई । अहिले भारत र श्रीलंकामा भइरहेको आईसीसी मेन्स टी-२० विश्वकप २०२६ मा नेपालका आरिफ शेख र आसिफ शेखले इंग्ल्यान्डविरुद्ध एकसाथ मैदान उत्रँदै नेपालका लागि विश्वकप खेल्ने दाजुभाई जोडीको कीर्तिमान बनाए ।

यो जोडीले नेपालका लागि यसअघि सँगै खेलिसकेपनि टी-२० विश्वकपमा भने पहिलो पटक सँगै खेल्दै नेपालका लागि ऐतिहासिक उपलब्धि रचेका हुन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा भने सँगै खेल्ने यो दोस्रो दाजुभाई जोडी हो । यसअघि मन्जित श्रेष्ठ र युनिल श्रेष्ठले पनि नेपालका लागि एक साथ खेलिसकेका छन् ।

अहिले भइरहेको १०औं संस्करणको टी-२० विश्वकपमा पनि दाजुभाई जोडीले खेल्दै नयाँ उपलब्धि हासिल गरिरहेका छन् ।

अझ बिहीबार हुने नेपाल र इटलीबीचको खेलमा त अझ दुर्लभ कीर्तिमान बन्ने सम्भावना बलियो छ । किनभने उक्त खेलमा तीन जोडी दाजुभाई मैदानमा उत्रने सम्भावना छ । यदि नेपालका शेख दाजुभाई सँगै इटलीबाट मोस्का दाजुभाई र मानेन्ती दाजुभाई एक साथ मैदान उत्रिए यो विश्व क्रिकेटमै दुर्लभ इतिहास बन्नेछ ।

हुन त इटलीका दुई जोडी दाजुभाईले यसअघि नै एकसाथ पहिलो रोजाइमा खेल्दै कीर्तिमान बनाइसकेका छन् । यस्तै सोमबार स्कटल्यान्डविरुद्ध इटलीका दुई जोडी दाजुभाईले खेल्दै टी-२० विश्वकपमा एकै टिमबाट दुई जोडी दाजुभाईले खेल्ने कीर्तिमान पनि बनाइसकेका छन् ।

अब बिहीबारको खेलमा अझ नयाँ कीर्तिमान बन्ने सम्भावना छ । मुम्बईको वानखेडे स्टेडियमा त्यसको साक्षी बन्नका लागि तयार छ । इटलीका दुई जोडी दाजुभाई टिमका महत्वपूर्ण खेलाडीका रूपमै छन् ।

त्यसमा पनि मानेन्ती जोडीले अस्ट्रेलियाको बिग ब्यास लिग नै खेलिसकेका छन् । यस्तै नेपालका आसिफ शेख पनि नियमित विकेटकिपर र ओपनर नै हुन् । उनले पहिलो रोजाई खेल्नेमा कुनै शंका नै छ ।

आसिफ लगातार दोस्रो पटक विश्वकप खेलिरहँदा उनका दाई आरिफले भने पहिलो पटक टी-२० विश्वकप खेल्ने टिममा पर्दै इंग्ल्यान्ड विरुद्ध डेब्यू गरेका हुन् ।

यस विश्वकपमा तीन नयाँ दाजुभाई जोडीले एकै साथ प्लेइङ एघारमा खेल्दै इतिहास बनाइसकेका छन् । यो राष्ट्रिय टिमका लागि मात्र नभई व्यक्तिगत रुपमै पनि ठूलो उपलब्धि हो ।

किनभने एउटै परिवारमा एकै खेल खेल्ने बिरलै हुन्छन् र त्यसमा पनि एउटै टिममा सँगै खेल्नु चानचुने विषय होइन । अझ एक साथ राष्ट्रिय टिममै परेर विश्वकप खेल्ने अर्को रोचक कहानी हुनेछ ।

अहिलेसम्म क्रिकेट विश्वकपमा भने धेरै दाजुभाई जोडीले सँगै खेलिसकेका छन् । यस विश्वकपमा ४ जोडी सहित अहिलेसम्म कूल १३ जोडीले सँगै विश्वकप खेलेका छन् ।

युसुफ पठान र इरफान पठान (भारत)

सन् २००७ देखि सुरु भएको क्रिकेटको छोटो फर्म्याट आईसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको थियो । त्यसबेला भारतीय च्याम्पियन टिममा पठान दाजुभाइ (युसुफ र इरफान) थिए ।

उनीहरूले टी-२० विश्वकपको पहिलो संस्करण नै सँगै खेल्दै एक साथ उपाधि उचाल्ने मौका पाए । यस्तो मौका बिरलैले पाउँछन् । पठान दाजुभाईले भारतीय क्रिकेटमा ठूलो पहिचान समेत बनाएका छन् ।

युसुफ पठानले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए र गौतम गम्भिरसँगै ओपनिङ गर्दै ब्याटिङ ८ बलमा १५ रन बनाएका थिए ।

उनका भाइ इरफानले भने फाइनलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै खेल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इरफानले फाइनलमा ४ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिँदै ‘प्लेअर अफ द म्याच’ बने र भारतलाई पहिलो टी-२० विश्वकप उपाधि दिलाउन महत्वपूर्ण योगदान दिए ।

यस्तै यो दाजुभाइ सन् २००९ को टी-२० विश्वकपमा पनि सँगै टिममा थिए । सन् २००९ को विश्वकपमा पठान दाजुभाईले बंगलादेश र वेष्ट इन्डिज विरुद्ध एकसाथ ब्याटिङ पनि गरेका थिए ।
यसबाहेक युसुफ सन् २०१० मा पनि भारतको टी-२० विश्वकप टोलीमा थिए भने इरफान सन् २०१२ को टी-२० विश्वकप टोलीमा थिए ।

ब्रेण्डन म्याकुलम र नाथन म्याकुलम (न्युजिल्यान्ड)

न्युजिल्यान्डका ब्रेण्डन म्याकुलम र नाथन म्याकुलमले राष्ट्रिय टिमका लागि धेरै खेल सँगै खेले ।

ब्रेन्डन म्याकुलम आक्रामक विकेटकिपर–ब्याटर तथा कप्तानका रूपमा न्युजिल्यान्डका लागि सबै फर्म्याटमा प्रभावशाली बनेका थिए । यस्तै नाथनले अफ-स्पिन बलिङ गर्थे ।

डुनेडिनमा जन्मिएका यी दाजुभाइले सन् २००७, २००९, २०१०, २०१२ र २०१४ गरी पाँचवटा टी-२० विश्वकप एक साथ खेले ।

सन् २००७ देखि २०१५ सम्म यो जोडीले सबै फर्म्याटमा १०० भन्दा बढी खेल एक साथ खेलेका थिए ।

ड्वेन ब्राभो र डारेन ब्राभो (वेस्ट इन्डिज)

ड्वेन ब्राभो एक उत्कृष्ट अलराउन्डरका रूपमा विश्वक क्रिकेटमा चिनिन्छन् । डारेन ब्राभो कम चर्चा भएपनि यी दुईले वेस्ट इन्डिज टिमबाट सँगै खेले ।

सन् २०१२ को टी-२० विश्वकपमा ब्राभो जोडीले सँगै खेलेका थिए । यो जोडीले सन् २०१२ को टी-२० विश्वकपसहित ६१ अन्तर्राष्ट्रिय खेल सँगै खेले ।

सन् २०१२ मा वेस्ट इन्डिजले उपाधि जित्दा दुवैको योगदान महत्वपूर्ण रह्यो । ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् र फ्रेन्चाइज क्रिकेटहरूमा प्रशिक्षक/मेन्टरको रुपमा सक्रिय हुन थालेका छन् ।

उनी वेस्ट इन्डिजका लिजेन्डका रूपमा स्थापित भइसकेका छन् । यस्तै डारेन उत्कृष्ट ब्याटरका रूपमा सक्रिय रहे ।

एल्बी मोर्केल र मोर्ने मोर्केल (दक्षिण अफ्रिका)

एल्बी र मोर्ने मोर्केल दक्षिण अफ्रिकाको लागि उत्कृष्ट दाजुभाई जोडीको रुपमा चिनिन्छन् । एल्बी मोर्केल ह्वाइट बल क्रिकेटमा उत्कृष्ट अलराउण्डर खेलाडीका रुपमा थिए भने मोर्ने मोर्केल पेस बलिङ गर्न सक्ने खेलाडीको रूपमा थिए ।

यो दाजुभाइले दक्षिण अफ्रिकाका लागि ४८ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेल उक साथ खेलेका थिए । यस्तै यो जोडीले दक्षिण अफ्रिकाबाट सुरुवाती पाँच टी-२० विश्वकप एकसाथ खेलेका थिए ।

टिममा फरक खेलशैली हुँदा पनि उनीहरूले दक्षिण अफ्रिकाको लागि सँगै खेल्दै टिमका लागि योगदान गरेका थिए ।

माइकल हसी र डेभिड हसी (अस्ट्रेलिया)

अस्ट्रेलियाका माइकल हसी र डेभिड हसी लागि आफ्नो समयका चर्चित खेलाडी हुन् ।

माइकल हसी ‘मिस्टर क्रिकेट’ उपनामले परिचित थिए । उनी शान्त स्वभावका थिए भने डेभिड सिमित ओभरको क्रिकेटका लागि खतरनाक ब्याटर थिए ।

हसी दाजुभाईले अष्ट्रेलियाका लागि एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय गरी ६७ खेल सँगै खेले ।

हसी दाजुभाइले सन् २००९, २०१० र २०१२ काटी-२० विश्वकप सँगै खेले । सन् २००९ मा वेष्ट इन्डिज र श्रीलंका तथा २०१० को फाइनलमा इंग्ल्यान्ड विरुद्ध एकसाथ ब्याटिङ पनि गरेका थिए ।

अस्ट्रेलियन क्रिकेटमा दुवैको करियर सफल खेलाडीको रुपमा रह्यो । साथै यी दुवैले एकसाथ खेल्दै अस्ट्रेलियालाई धेरै सफलता पनि दिलाए र अस्ट्रेलिया क्रिकेटको भविष्य निर्माणमा पनि महत्वपूर्ण भूमिका खेले ।

कोलिन्स ओबुया र डेभिड ओबुया (केन्या)

सन् २००७ को पहिलो टी-२० विश्वकपमा केन्याका ओबुया दाजुभाईले एकसाथ खेलेका थिए ।

कोलिन्स ओबुया र डेभिड ओबुयाले केन्याका लागि टी-२० विश्वकपमा एकै साथ खेल्दै इतिहास रचेका थिए ।

यो जोडीले श्रीलंका विरुद्ध सँगै ब्याटिङ पनि गरेका थिए ।

केभिन ओ’ब्रायन र निल ओ’ब्रायन (आयरल्याण्ड)

आयरल्यान्डका अलराउन्डर केभिन ओ’ब्रायन र निल ओब्रायन दाजुभाईले आयरल्याण्डका लागि धेरै पटक सँगै खेलेका छन् ।

यो दाजुभाई जोडीले सन् २००९ र २०१२ को टी-२० विश्वकप एक साथ खेलेका थिए ।

यो जोडीले सन् २००९ मा पहिलो पटक टी-२० विश्वकपमा श्रीलंका विरुद्ध एकसाथ ब्याटिङ गरेका थिए । यस्तै २०१० मा अस्ट्रेलिया र वेस्ट इन्डिजविरुद्ध एक साथ ब्याटिङ गरेका थिए ।

कमरान अकमल र उमर अकमल (पाकिस्तान)

अकमल दाजुभाई (कमरान र उमर) पाकिस्तानका लागि खतरानाक ब्याटरको रुपमा चिनिन्थे । यी दुईले धेरै पटक पाकिस्तानका लागि एक साथ खेले ।

टी-२० विश्वकपमा भने अकमल दाजुभाईले सन् २०१० र २०१४ को संस्करणमा पाकिस्तान टिमबाट सँगै खेलेका थिए ।

यो जोडीले दुवै संस्करणमा एक-एक खेल खेलेका थिए ।

बेन कुपर र टम कुपर (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सका बेन कुपर र टम कुपर दाजुभाईले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप एकसाथ खेलेका थिए ।

सन् २०१४ को एकै विश्वकपमा कुपर दाजुभाईले एक साथ नेदरल्याण्ड्सका लागि ब्याटिङ गरेका थिए ।

जिम्बाव्वे विरुद्ध यो जोडीले अर्धशतकीय साझेदारी गरेका थिए ।

टी-२० विश्वकप दाजुभाईको जोडी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय